पूर्व पन्चहरुको महाधिवेशनमा माछामासु बन्द,शाकाहारी खानामा दंग

पूर्व पन्चहरुको महाधिवेशनमा माछामासु बन्द,शाकाहारी खानामा दंग

-राजकुमार राय,भृकुटीमण्डप

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा जारी छ । अहिले बिहान ९ बजेबाट नेतृत्व चयनको लागि मतदान प्रक्रिया थालिएको छ । अध्यक्ष पदमा बाहेक अरुमा विद्युतीय मतदान हुने बताइएको छ ।

गत साता कम्युनिष्ट पार्टी एमालेको चितवनमा भएको महाधिवेशनमा प्रतिनिधिलाई खाना खुवाउने क्रममा माछामासुको भरपुर प्रयोग गरिएको थियो । नेपाली काँग्रेसको अहिले भइरहेको अधिवेशनमा माछामासु र सितनको राम्रै उपभोग गरिएका खबर बाहिरिएका छन् । तर, पूर्वपञ्चहरुको महाधिवेशनमा ठीक विपरित शाकाहारी खानाको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

“लिंगदेन पक्षले थापा समूहले हिजो दिउँसैदेखि दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बसेका अमेरिकाबाट आएका दुई जना प्रतिनिधिले पैसा बाँडेको आरोप लगाएको छ ।”

पार्टीको धार्मिक विभागका प्रमुख पुष्पराज पुरुषले पार्टीको औपचारिक कार्यक्रममा माछामासु र मद्यपानको प्रयोग नगर्दा पार्टीलाई राम्रो हुने बताएपछि त्यसै गरिएको बताए ।

उता, अध्यक्षमा कमल थापा र राजेन्द्र लिंगदेनबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । पूर्वअध्यक्ष पशुपति समशेर राणाले थापालाई र प्रकाशचन्द्र लोहनीले लिंगदेनलाई समर्थन गरेपछि राप्रपा पुनः दुई कित्तामा बाँडिएको छ । थापाको तर्फबाट महिला महामन्त्रीमा कुन्ती शाही र राजेन्द्रको तर्फबाट रेखा थापा उठेका छन् । शाही र थापाको विगतलाई हेर्दै सहभागीहरुले राप्रपामा राजावादी र गणतन्त्रवादीबीच प्रतिस्पर्धा भएको अर्थ लगाएका छन् ।

केही समयअघि रेखाले दिएको एउटा टेलिभिजन अन्तर्वार्तामा आफूहरु गणतन्त्रवादी भएको बताएकी थिइन् । त्यसैलाई आधार मान्दै प्रतिनिधिहरुबीच ख्यालठट्टा हुने गरेको छ ।

उता लिंगदेन पक्षले थापा समूहले हिजो दिउँसैदेखि दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बसेका अमेरिकाबाट आएका दुई जना प्रतिनिधिले पैसा बाँडेको आरोप लगाएको छ । स्याङ्जाली लोक तिवारी र गोरखाका प्रेम श्रेष्ठ राप्रपाको प्रवासी संगठनको प्रमुखको हिसाबले प्रतिनिधिको रुपमा महाधिवशेनमा सहभागी भएका हुन् ।

उनीहरु दुबैले कमल थापालाई समर्थन गरेका छन् । उनीहरु माओवादी आन्दोलनताका अमेरिका पलायन भएका थिए । अहिले तिनै तिवारी र श्रेष्ठ पैसोको बिटो बोकेर मतदातालाई प्रभावित बनाउन याक एण्ड यतिमा बसेको अर्को पक्षले आरोप लगाएको छ । उक्त कार्यमा थापाका भाइ गणेशको सालोले आवश्यक समन्वय गरेको पनि उनीहरुले आरोप लगाए ।

टिप्पणीहरू