महिला पत्रकारलाई खुसुखुसु म्यासेज काण्ड

महिला पत्रकारलाई खुसुखुसु म्यासेज काण्ड

शिक्षण अस्पताल महाराजगञ्जभित्र रहेको बीपी कोइराला नेत्र अध्ययन केन्द्रमा अनियमितता हुने गरेको रहस्य खुलेको छ । अस्पतालका डाक्टरले बिरामीलाई सोझै बोलाउने र अस्पतालको नियमविपरित आफू आवध्द क्लिनिक र चश्मा पसलमा पठाउने गरेको यथार्थ पनि खुलेको हो ।

सामाजिक सञ्जाल म्यासेन्जरबाट सोझै म्यासेज पठाएर डाक्टरले बिरामी बोलाउने गरेको एक जना महिला पत्रकारले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । नयाँ पत्रिका दैनिकमा कार्यरत उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उक्त कुराको जानकारी दिएकी हुन् ।

कुँवरले मंगलबार फेसबुकमा शिक्षण अस्पतालका सहप्राध्यापक डा. सञ्जीव भट्टराईले आफूलाई आँखाको उपचार गर्न बोलाएर ठगेको घटनाविवरण सार्वजनिक गरेकी थिइन् । डा. भट्टराईले शुरुमा सामाजिक सञ्जाल फेसबुकबाट म्यासेज गरेर आँखाको समस्या भए आफूलाई भेट्न भनेको उनको स्ट्याटसमा प्रस्टसँग लेखिएको छ ।

उक्त स्ट्याटसउपर कैयौं प्रतिक्रिया आएका छन् । जसमा पत्रकार कुँवरले लेखेको कतिपय विवरण उपयुक्त नै देखिन्छ । तर,शेखर बराल नाम राखेका एक जनाले भने उक्त कार्यमा पत्रकारको पनि दोष रहेको उल्लेख गरेका छन् ।

बरालको सोधाइ छ ‘तपार्इंले पनि म नियमानुसार तिर्नु पर्ने शुल्क तिर्छु र रसिद लिन्छु,’ भन्नुपर्थ्यो नि ! त्यतिबेला चाहिँ केही नभनी खुसुक्क पैसा दिने (पक्कै नियमानुसारभन्दा थोरै नै होला) अनि बाहिर फोटोसहित राखेर बदनाम गर्ने ? अलि मिलेन कि ?’

यसो त उनले गरेको उक्त पोष्टमा प्रतिक्रिया जनाउने अधिकांश महिला पत्रकार देखिन्छन् । उनीहरुले पनि डाक्टर भट्टराई दोषी रहेको भन्दै म्यासेजको स्क्रिनसट राखेका छन् । जसले गर्दा पत्रकार कुँवरले गरेको पोष्ट थप चर्चित बनेको छ । यसअघि कैयौंपटक महिला पत्रकारहरु उनको शिकार बनिसकेका छन् ।

तर कसैले आवाज नउठाएको खुलेको छ । उनले फेसबुकमा चश्मा लगाएका महिलाको प्रोफाइल खोज्दै म्यासेन्जरमा सन्देश पठाउने गरेको उदाहरण अरु पनि भेटिएका छन् ।

यता, अस्पतालका डाक्टर सञ्जीव भट्टराईले भने आफूलाई फसाउने नियतले उक्त पोष्ट गरिएको बताएका छन् । उनले नयाँ पत्रिकामा कार्यरत पत्रकार कुँवर र उनको भेट भए पनि भनिएअनुसारको पैसा नलिएको बताएका छन् ।

भट्टराईले पछिल्लो समय कुँवरको स्ट्याटसले गर्दा कैयौं फोन आएको जानकारी दिएका छन् । उनले आफू व्यस्त रहेकाले साइबर ब्युरोसम्म जान नभ्याएको बताउँदै बदनाम गर्ने महिलामाथि छिट्टै उजुरी हाल्ने तयारी भैरहेको उल्लेख गरे ।

डा. भट्टराईले पत्रकारले स्ट्याटस लेखेपछि पटक पटक फोन गर्दा पनि नउठाएको बताउँदै उक्त म्यासेज फेक एकाउन्टबाट पठाएको हुनसक्ने बताएका छन् । उनले आफूले अपरान्ह साढे ५ बजेदेखि ८ बजेसम्म प्राइभेट क्लिनिकमा समेत काम गर्ने गरेको जिकीर गरेका छन् ।

घटनाले दुबै पक्ष दोषी भए पनि बढी को भन्ने चर्चा चलेको छ । डाक्टर भट्टराईले सरकारी राजश्व हिनामिना गरेको पुष्टि भएको छ । साथै अधिकांश महिला पत्रकार शोषणमा पर्दा पनि उनीहरुले बेलैमा कुरो बाहिर नल्याउनु कमजोरी हो भनेका छन् ।

टिप्पणीहरू