शुरुमा लोकप्रिय नेताको भित्र अर्कै स्वरुप

शुरुमा लोकप्रिय नेताको भित्र अर्कै स्वरुप

लिबिया अफ्रिकाको चौथो र विश्वको १७ औं ठूलो देश हो ९० प्रतिशत भूभाग मरुभूमिले ढाकेको । भूमध्य सागरमा अवस्थित यो देश पहिला तुर्क साम्राज्यको अंग थियो सन् १९११ मा इटलीको नियन्त्रणमा गयो । दोस्रो विश्वयुद्धकालमा इटलीको पराजयपश्चात् मित्रराष्ट्रले अधीनमा पा¥यो । सन् १९५१ मा लिबिया अधिराज्य बन्यो । राजनीतिज्ञ तथा धार्मिक नेता इद्रिश राजा बने । पहिलाको गरिब मुलुक । सन् १९५९ मा तेल भण्डार पत्ता लागेपछि विस्तारै अर्थतन्त्रले कोल्टे फे¥यो । तर, यी तेलको भण्डारमाथि राजा र राजपरिवारको नियन्त्रण र भ्रष्टाचार व्याप्त हुन थालेपछि राजतन्त्रको विरोध बढ्दै गयो ।

यसबीच सन् १९६७ मा अरब–इजरायलबीच ६ दिने युद्ध भयो । अरब मुलुकहरू इजरायलद्वारा पराजित बनेपछि यसको दोष पश्चिमी मुलुक समर्थक राजा इद्रिशमाथि लाग्यो । उनले मुलुकमा अमेरिका र बेलायतलाई सैन्य अखडा स्थापना गर्न लगाए । विद्रोह दबाउन सेनाको सहयोग लिए । तर, सैनिक शक्तिभित्र मोएम्मर गद्दाफी पनि थिए, इजिप्टका राष्ट्रवादी नेता गमार अब्देल नासिरका अनुयायी । गद्दाफी इजरायल, अमेरिका र पश्चिमी मुलुकका सख्त विरोधी । उनैको नेतृत्वमा सन् १९६९ को सेप्टेम्बरमा सैनिक विद्रोह भयो । बिना रक्तपात सेनाले सत्ता कब्जा ग¥यो । गद्दाफी सबै जनताका लोकप्रिय नेता र ‘क्रान्तिका दाजु’ कहलिए ।

गद्दाफीले सत्ता सम्हालेलगत्तै १२ हजार इटालियनलाई देश निकाला गरे । अधिकांश जमिन, उद्योग उनीहरूकै हातमा थियो, सबै सम्पत्ति जफत गरिदिए । सोभियतसंघसित सम्बन्ध सुधारी सहयोग प्राप्त गरे । चिनियाँ नेता माओ त्सेतुङको पुस्तक ‘रेड बुक’ बाट प्रभावित भई ११० पृष्ठको ‘ग्रिन बुक’ निकाले । शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाए । सिँचाइ र खानेपानीलाई सर्वसुलभ बनाइदिए ।

व्यवसाय गर्न चाहने जनतालाई निःशुल्क जमिन र बिना ब्याजको पैसा उपलब्ध गराए । जन्मेको प्रत्येक शिशुको नाउँमा ५ हजार डलर दिने व्यवस्था मिलाए । बिजुली निःशुल्क बनाइदिए । पेट्रोल अत्यधिक सस्तो बनाए । साक्षरता प्रतिशत २५ बाट ८७ पु¥याए । ‘घर’ लाई मानवअधिकारभित्र पारे, प्रत्येक परिवारलाई एउटा घर र बिहे गर्ने जोडीलाई ५० डलर दिने व्यवस्था मिलाए । र, सन् १९७७ मा लिबियालाई ‘महान समाजवादी जनताको अरब जम्हुरिया (प्रजातन्त्र)’ घोषित गर्दै मुलुक समाजवादमा प्रवेश गरेको उद्घोष गरे ।

अमेरिका विरोधीको पहिचान बनाएका उनी यसपछि भने अमेरिकाको तारो बने । मतभेदकै क्रममा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई ‘बहुला कुकुर’ समेत भनिदिए । अमेरिकाले पनि धेरै पटक उनको हत्या गर्ने कोसिस ग¥यो । सिआइएमार्फत सत्ता उल्टाउन खोज्यो । लिबियाको आर्थिक स्तर माथि उकास्नमा अत्यधिक योगदान पु¥याएका उनी शुरुमा अत्यन्त लोकप्रिय बने पनि पछि भने एकछत्र राज गर्न विरोधीहरूलाई सफाया गर्न थाले । तानाशाह बन्दै गए । बिलासी जीवन बिताउँदै राज्यको ढुकुटी दुरूपयोग गर्न थाले ।

उनी संसारलाई आफ्नो ‘शोम्यान सीप’ देखाउन चाहन्थे त्यसैले सन् १९८० को दशकमा महिला अंगरक्षकहरूको अलग्गै दस्ता गठन गरे । र, जहाँ गए पनि भर्खरका युवतीको अंगरक्षक टोली साथमा लान थाले । यहाँसम्म कि राष्ट्रसंघीय सभा होस् व अन्य अन्तर्राष्ट्रिय सम्मेलन १५ जना युवती अघिपछि लगाएर हिँड्थे । लिबियाको उक्त दस्तालाई पश्चिमी मिडियाले ‘साहसी स्त्रीहरूको दस्ता’ भन्ने गरे तर लिबियाको सरकारले ‘क्रान्तिकारी सन्यासिनीहरू’ अर्थात् ‘आइशा’ नाम दियो ।

उनी बिलासी मात्र होइन, एøयासी पनि बने । कुमारी केटीसँग शारीरिक सम्बन्ध बनाउन लालायित हुन्थे । पश्चिमी सञ्चारमाध्यमले दिएको सूचनाअनुसार उनी बरोबर स्कुल, कलेज जान्थे र मनपरेकी किशोरीको शिरमा आफ्नो हात राखिदिन्थे । अंगरक्षकहरूलाई राम्रोसित थाहा हुन्थ्यो कि यसको अर्थ के हो ? र, ती किशोरीको राति अपहरण हुन्थ्यो, गद्दाफीको निवासमा अपहृत ती किशोरीलाई नुहाइधुवाइ र श्रृंगार गर्न दिइन्थ्यो । कुनै रोग छ कि छैन भनेर रगत परीक्षण गर्न लगाइन्थ्यो । र, सबै परीक्षणपछि गद्दाफीको शयनकक्षको ‘शोभा’ बनाउन पठाइन्थ्यो । उनको निवासमा भारतका मुगल सम्राट्हरू र नवावहरूको जस्तो जनानाघर ‘हरम’ बनाइएको हुन्थ्यो । अपहरण गरी ल्याइएका त्यस्ता किशोरी आजीवन उक्त ‘हरम’ मा बस्न विवश हुन्थे ।

भनिन्छ, गद्दाफीको यौन प्यास मेटाउन युवतीको व्यवस्थापनको जिम्मा उनका बफादार मुबारक नाउँकी सेविकाले उठाउँथिन् । अपहृत कुमारी किशोरीहरूलाई गद्दाफीको बेडरूममा पठाउनुअघि उनै मुबारकले उनीहरूलाई अश्लील चलचित्र देखाउँथिन् ताकि उनीहरूमा यौन चाहना बढोस् । फ्रान्सको प्रसिद्ध पत्रिका ‘ले मोन्डे’का पत्रकार एन्नी कोजिएनले पुस्तक नै लेखेकी छन् ‘गद्दाफिज हरम’ । पुस्तकमा उल्लेख गरिएअनुसार हुडा नाउँ गरेकी युवतीसामु सेक्स सम्बन्ध बनाउन जेलमा रहेका उनका दाजुलाई रिहा गर्ने शर्त राखिएको थियो ।

पुस्तकमा सोरायाको प्रसंग पनि छ । सोराया गद्दाफी जन्मेकै शहर सिर्टेकी थिइन् । सन् २००४ मा उनी मात्र १५ वर्षकी थिइन् । स्कुलको एउटा कार्यक्रममा गद्दाफी प्रमुख अतिथि बनेर पुगेका थिए । अन्य छत्रछात्राले सरह उनले पनि कार्यक्रममा पुगेका राष्ट्रपतिलाई फूलको गुच्छा दिएर स्वागत गरिन् । प्रत्युत्तरमा मुसुमुसु हाँस्दै सोरायाले दिएको फूलको गुच्छा स्विकार्दै गद्दाफीले टाउकोमा हात राखिदिए । आशीर्वाद सम्झेर थापेको त्यो हात पछि जीवनको अभिशाप बन्न पुग्यो ।

भोलिपल्टै उनी अपहरणमा परिन् । राजधानी त्रिपोली नजिकैको गद्दाफीको निवास ‘बाब–अल–अजिजिया’ पु¥याइयो । त्यहाँ उनको रगत परीक्षण गराइयो । स्तनको नाप लिइयो । गुप्तांगको रौँ खौरिन लगाइयो । अनि कम लुगा लगाउन दिएर गद्दाफीको शयनकक्षमा जबर्जस्ती प्रवेश गराइयो । भित्र गद्दाफी नांगै पलङमा पल्टिराखेका थिए । उनले शुरुमा मायालुपाराले सोरायाको शरीर छोए तर सोरायाले सहर्ष स्वीकार नगर्दा उनी बलात्कारको शिकार बन्न पुगिन् । सोरायाका अनुसार उनी गद्दाफीको ‘हरम’ मा वर्षौं बसिन् । हरममा बसेको कारण उनी परिवारको घृणाको शिकार बनिन् । उनी वर्षौंसम्म परिवारबाट लुकेर बसिन् । उनलाई डर थियोे भाइले नमारुन् ।

सन् २०११ मा लिबियाको गृहयुद्धमा अमेरिकासहित उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो)को सेनाले हस्तक्षेप गरेपछि उनी सत्ताबाट बाहिरिए । भागेर आफ्नै जन्मस्थान सिर्टे पुगी लुकेर बसे । तर, पछि अमेरिकाको सहयोगमा विद्रोही सेनाको कब्जामा परे, अमानवीय र बर्बर तरिकाले मारिए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पछि स्वीकार गरेका छन् कि लिबियामाथिको हमला उनको कार्यकालको ठूलो गल्ती थियो ।

फ्रान्सिसी पत्रकार एन्नी भन्छिन्, ‘डरका कारण पहिला आफूमाथि भएको प्रताडना सार्वजनिक गर्न नसकेका कैयौं युवती गद्दाफीको पतनपछि खुलेर अगाडि आए । उनीहरूले आफूमाथि भएको यौनजन्य प्रताडना, अत्याचारको पर्दाफास गर्न शुरु गरे ।’

एन्नीका अनुसार गद्दाफीको निवासमुनि एउटा गोप्य कक्ष बनाइएको थियो, जहाँ अपहरण गरी ल्याइएका युवतीहरूलाई राख्ने गरिन्थ्यो । उनीहरू शारीरिक मानसिक उत्पीडनमा हुन्थे । कम वस्त्र लगाएर गद्दाफीको अगाडि जान विवश हुन्थे । गद्दाफी उनीहरूमाथि बलात्कार मात्र गर्दैनथे बल्की मारपिटसमेत गर्थे, निम्नस्तरको व्यवहार गर्थे । यहाँसम्म कि बलात्कार आफ्नै मन्त्री र विरोधी नेताका पत्नीहरूमाथि पनि गर्थे, उनीहरूलाई अपमानित गर्न ।

एन्नी त यहाँसम्म दाबी गर्छिन् कि महिला मात्र होइन, उनैको मन्त्रीमण्डलका सदस्य, नेता, सैनिक अधिकृत, आदिवासी मुखियासमेतलाई उनले ओछ्यानको साथी बनाएका छन् । उनी जब विदेश भ्रमणमा जान्थे साथमा ‘हरम’की एक सदस्य पनि हुन्थिन् । गद्दाफीसित विदेश भ्रमणमा जान यस्तो धेरै मौका पाउनेमा एक जना थिइन् – माबरूका सेरिफ ।

उनी गद्दाफीको यौन प्यास मेटाउनुका साथै युरोपमा आनन्दले घुम्थिन्, महँगा सामान किन्थिन् । अन्य केटीको व्यवस्था पनि गरिदिन्थिन् । लण्डन बसाइका बेला गद्दाफीले मिस इण्डिया पामेला बोर्डेस उर्फ पामेला सिंह चौधरीसँग रात बिताएको स्मरण गर्छिन् । पामेलाले एक रातको १० हजार पाउण्ड लिएकी रहिछन् । स्मरणीय छ, सन् १९८२ मा मिस इण्डिया बनेकी पामेलाले पछि वेश्यावृत्ति पेशा अपनाइन् । उनी त्यो बेला लण्डनभरिकै महँगो वेश्यामा पर्थिन् ।

पूर्वसोभियतसंघ कालको गुप्तचर विभाग केजिबीका मेजर जर्नेल भ्यालेरी भेलिच्को पनि यो कुरा स्विकार्छन् कि गद्दाफी यौनको मामिलामा ‘उग्र’ थिए । उनका अनुसार यौनकै कारण उनले महिला अंगरक्षक सबै कुमारी युवती राख्ने गरेका हुन् । उनका अनुसार महिला अंगरक्षकमा धेरै उनकै नातेदार थिए । भ्यालेरीलाई रुसले त्यो बेला गद्दाफीको सल्लाहकार बनाएर लिबिया पठाएको थियो ।

टिप्पणीहरू