दशौँ महाधिवेशनमा पोखिएको पदीय दुर्दशा « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

दशौँ महाधिवेशनमा पोखिएको पदीय दुर्दशा

प्रकाशित मिति :  १८ मंसिर २०७८, शनिबार १४:००


-विराट अनुपम

चितवनमा मंसिर १० देखि १२ गतेसम्मलाई पूर्वनिर्धारित नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले)को महाधिवेशनको लफडा थियो । त्यसो हुनुको कारण कुनै नीतिगत छलफल या सिद्धान्तको बहसका निम्ति थिएन ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा असोज १५ देखि १७ सम्म नेकपा (एमालेको) प्रथम विधान महाधिवेशन भएको थियो । यो मूलधारका पार्टीहरूमै पहिलोपटक अभ्यास भएको विधान महाधिवेशन नै थियो ।

नेकपा (एमाले)को विधान २०४९ को संशोधनसमेत यही विधान महाधिवेशनबाट भयो । त्यसबाट पारित विधान पुस्तिका कात्तिक १ गते १० हजार प्रति छापियो । प्रति रुपैयाँ ४५ को विधान अहिले एमालेका हजारौँ नेता–कार्यकर्ताको हात हातमा पुगेको छ ।

एमाले विधानको धारा १६ मा केन्द्रीय कमिटीबारे उल्लेख छ । जसको उपधारा २ मा भनिएको छ, ‘राष्ट्रिय महाधिवेशनले अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–४, महासचिव– १, उपमहासचिव– १, सचिव– ७ समेत २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचन गर्नेछ ।’

६ हजार हाराहारी प्रतिनिधिबीच छलफल गराएर सर्वसम्मत पारित भएको विधान महाधिवेशनको विधानको मसी सुक्न नपाउँदै दुई महिना त्यसलाई मिचिएको छ । २२४ केन्द्रीय सदस्यबाट बढाएर ३०१ पु¥याइएको छ भने उपाध्यक्ष संख्या ४ बाट बढाएर ६ तथा उपमहासचिव एक जनाबाट तीन जना पु¥याइएको छ ।

हजारौँको सहभागिता र करोडौँ खर्च भएको विधान महाधिवेशनको विधानमा संशोधन हुने पक्ष पनि पद नै हो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालमा सर्वसम्मत भएर केही सकारात्मक सन्देश दिइए पनि पदकै लागि नेताहरूको हानथाप र रुवाबासी रोचक छ ।

उपाध्यक्ष ताकेका लालबाबु पण्डित केन्द्रीय सदस्य मात्रै हुँदा यति भावुक भए कि भीम रावलदेखि भीम आचार्य जस्तो चुनाव सामना गरेर जनमतसँग परीक्षण हुने आँट गरेको भए एक खाले दम मान्न सकिन्थ्यो । उपाध्यक्ष नपाउँदा ‘कार्यकारी पदमा नबस्ने’ निर्णयले पदमै कत्ति हत्ते रै’छ भन्ने देखिन्छ ।

प्रथम ऐतिहासिक विधान महाधिवेशनको वैधानिक प्रावधान दुई महिनामै पद संख्या व्यापक बढाएर लत्याउनु, आफूले सोचेको पद नपाए कार्यकारी पदमा बस्दिन भन्नुले एमालेका केन्द्रीय कमरेडहरूको पदलोलुपताको भद्दा उदाहरण देखाउँछ । पदलोलुपता यत्तिमै सीमित छैन । अहिले भएका केन्द्रीय कमिटीको आकार र अन्य देशका कम्युनिष्ट पार्टीका कमिटी हेर्दासमेत पदलोलुपता व्यापक देखिन्छ ।

चीनसँग तुलना गरौँ । झण्डै दश करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी सदस्य २०४ जना मात्रै छन् । यो आठ लाख बढी संगठित सदस्य भएको नेकपा (एमाले)को भन्दा ९७ जना थोरै हो ।

नौ करोड बढी जनसंख्या भएको भियतनामको सत्ताधारी कम्युनिष्ट पार्टी सदस्य आधा करोड छन् । तर, भियतनाम कम्युनिष्ट पार्टीको गत जनवरी अन्तिम साता भएको १३ औँ महाधिवेशनबाट बनेको नयाँ केन्द्रीय कमिटीमा २०० केन्द्रीय सदस्य मात्रै छन् । ९१ वर्ष पुरानो होचिमिन्ह संस्थापक रहेको पार्टीभन्दा धेरै सदस्य र जम्बो केन्द्रीय कमिटी नेकपा (एमाले)को देखिन्छ ।

तीन करोड बढी जनसंख्या भएको दक्षिणी भारतीय राज्य केरलाको सत्ताधारी कम्युनिष्ट पार्टी (माक्र्सवादी)को केन्द्रीय कमिटीमा ९५ जना केन्द्रीय सदस्य चुनिएर आए । सीताराम येचुरी महासचिव भएको भाकपा (माक्र्सवादी)को साढे तीन वर्षअगाडि २०१८ को अप्रिलमा सम्पन्न २२ औं महाधिवेशनबाट आएको कमिटीभन्दा व्यापक ठूलो कमिटी एमालेको बनेको छ ।

यस्तै, क्युबाको सत्ताधारी फिडेल क्यास्ट्रोले स्थापना गरेको कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य १५० जना मात्रै छन् । विश्वको शक्तिशाली कम्युनिष्ट देश चीन, भियतनामदेखि क्युबा हुँदै नेपालजस्तो बहुदलीय व्यवस्था मान्ने भारतीय कम्युनिष्टको तुलनामा समेत नेकपा (एमाले)को केन्द्रीय कमिटी ठूलो देखिन्छ । यसले एमाले नेताहरूलाई स्वाभाविक रूपमै पदलोलुप बनाइरहेको हुन सक्छ ।

एमाले मात्र होइन एमालेबाट अलग भएर गठित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी अझ जम्बो छ । ३३५ सदस्य केन्द्रीय कमिटी छ । यसले कतै एमाले स्कुलिङकै अभिन्न अंगको रूपमा कतै पदलोलुपता नै जकडिएर बसेको हो कि भनी प्रश्न गर्ने ठाउँ दिएको छ ।


प्रतिक्रिया दिनुहोस !