ल्हारकेल लामालाई फेरि अर्को नियुक्ति ?

ल्हारकेल लामालाई फेरि अर्को नियुक्ति ?

एकजना विवादास्पद व्यक्तिलाई बोकेर केही नेता हिँडेपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का अर्काथरि नेता चकित खान थालेका छन् ।

पार्टी, जिम्मेवारी र अनुभव पनि नयाँ–नयाँ हुँदा कतिपय कामहरूमा त्रुटी देखिँदै आएको उक्त पार्टीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गरेका व्यक्तिका कारण पार्टीले बद्नामी कमाउने हो कि भनेर नेताहरू चिन्तित बनेका हुन् ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री बनाइएपछि विवादमा आएका र मन्त्री भएको केही दिनमै पदत्याग गर्न बाध्य भएका ल्हार्केल लामा हुन्, त्यस्तो नियुक्तिका लागि ठिक्क पारिएका व्यक्ति ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका उनी ०७० को निर्वाचनसम्ममा माओवादीको माननीय भैसकेका थिए । अहिले उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउन उक्त पार्टीका नेता गम्भीरलाल श्रेष्ठ निकै दौडधुपमा छन् ।

गम्भीरलाल काठमाडौं महानगरपालिकाका इञ्जिनियर थिए, अहिले जागिर छाडेर पार्टी केन्द्रीय सदस्य र सिन्धुपाल्चोकको सहइञ्चार्ज भएका छन् । पहिला पनि ल्हार्केललाई अमृत बोहोरा र झलनाथसँग भेटाएर सांसद बनाउने भूमिका उनैले खेलेका थिए ।

एकीकृत समाजवादीमा राजकीय मामिला हेर्ने उपाध्यक्ष राजेन्द्र पाण्डे यस्तो मामिलामा निकै चनाखो मानिन्थे । तर, उनी बागमती प्रदेशको मुख्यमन्त्री भएपछि त्यो विषय हेर्ने जिम्मा रौतहटकी सांसद कल्याणी खड्काले पाएकी छन् । उनलाई ल्हार्केलजस्ता पात्रबारे उति धेरै जानकारी नहुँदा उनको नियुक्ति हुने र त्यसबाट पार्टी बद्नाम हुने खतरा बढेको हो ।

उता, एकीकृत समाजवादीका तर्फबाट राजदूत बनाइने सम्भाव्य उम्मेदवार प्रा.डा. युवराज संग्रौलाले चीनबाहेक अन्यत्र जान रुचि देखाएका छैनन् । मिलन तुलाधरले जापान नपाए अन्त नजाने भनेका छन् । बंगलादेशबाट फर्काइएका डा.वंशीधर मिश्र फेरि पनि राजदूतमा आकांक्षी छन् ।

टिप्पणीहरू