निर्मला पन्तको हत्यारा खोज्न नयाँ टोली

निर्मला पन्तको हत्यारा खोज्न नयाँ टोली

‘जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ’ गीतका गायक योगेश्वर अमात्य यतिबेला ‘सन्ध्या’ साँझ पर्नाले हैन, ठगीमा पर्नाले ‘घबराएका’छन् ।

उनको जग्गाको लालपुर्जा कीर्ते गरी १९ करोड ऋण जारी भएपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान विभागले सोनु ठाकुरसहित कुमारी विकास बैंकका कर्मचारी र केही बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

उता सिन्धु विकास बैंकका दोलालघाट शाखा प्रमुख सुमन खरेल पनि यतिबेला प्रहरीको हिरासतमा छन् । काभ्रे, दोलालघाटस्थित शाखामा दैनिक मौज्दात हुने रकम एनसिसी बैंक, बाह्रबिसे, सिन्धुपाल्चोकको खातामा जम्मा गरिन्थ्यो ।

तर, शाखा प्रमुख खरेलले उक्त रकम आफ्नै खातामा जम्मा गरेपछि बैंकले केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा जाहेरी दियो । योगेश्वर अमात्यको लालपुर्जा कीर्ते गर्ने र आफ्नै बैंकलाई ठगी गर्ने खरेलसमेतलाई प्रहरीले बैंकिङ कसुर तथा सजायँ ऐन– २०६४ बमोजिम कारवाही अगाडि बढाएको छ ।

अर्कातिर, केही समयअघि पक्राउ परेका सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्यमाथि निगरानी कडा बनाइएको छ । सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ५ अर्ब ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा असोज १८ गते उनी पक्राउ परेका थिए ।

सम्पत्तिको छानबिन गर्ने क्रममा केशवलाल र फरार रहेकी सिर्जना शाक्यको दायित्व बढी देखिएपछि उनीमाथि निगरानी बढाइएको हो । सिर्जना ०७४ सालसम्म सरकारी जागिर खान्थिन् ।

जागिर छोडेपछि उनको खातामा अर्बौं रुपैयाँ देखियो । एउटा खातामा ५० करोड रुपैयाँभन्दा धेरैको कारोबार देखिएपछि त्यसको स्रोत खोजी भइरहेको सिआइबीस्रोतले जनाएको छ ।

त्यस्तै, सिआइबीबाट कञ्चनपुरको चर्चित निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानलाई तीव्र पारिएको छ । यसअघि स्थलगत अनुसन्धानका लागि गएका डिएसपी पञ्चकुमार बाखु फर्किएका छन् । अहिले अर्का डिएसपी कृष्ण ओझासहित चार जनाको टोली गएको छ । उनीहरू कञ्चनपुर पुगेको पनि तीन महिना भयो ।

टिप्पणीहरू