अब नेपाल प्रहरीमा दलित भान्से

अब नेपाल प्रहरीमा दलित भान्से

मुलुकमा थुप्रै परिवर्तन भए । दलित उत्थानका लागि विभिन्न नाममा आन्दोलन गरिए । दलित समुदायको विकासका निम्ति समिति र आयोग पनि गठन भए ।

तैपनि, दलित समुदायको प्रगति निकै सुस्त छ। दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छ्रैन । यो समुदायको पीडाले हिजो राज्यलाई कहिल्यै चिमोटेन । दुःख, दर्द राज्यलाई कहिल्यै दुखेन ।

सबैतिरबाट दमनमा परेको यो समुदायले आत्मसम्मानसाथ कहिले बाँच्न पाउने ? अपहेलित भएर बाँच्नुपर्ने दिनको अन्त्य कहिले हुने ? भन्ने थुप्रै प्रश्न अहिले पनि अनुत्तरित छन् ।

तर, नेपाल प्रहरीले अहिले आएर दलितको आत्मसम्मानमा थोरै भए पनि राहत दिने र मल्हम लगाउने कामको थालनी गरेको छ । अब नेपाल प्रहरीको भान्छामा दलित समुदायका ११ जनाले प्रवेश पाउने भएका छन् ।

गत शुक्रबार विभिन्न पदमा जनशक्ति माग गरेको नेपाल प्रहरीले भान्छेमा पनि खुला र समावेशी प्रक्रियाबाट पदपूर्ति प्रक्रिया शुरु गरेको छ । नेपाल प्रहरीका लागि खाना बनाउन एक सय ६३ भान्से मागिएको छ । जसमा दलितका लागि ११ सिट सुनिश्चित गरिएको छ ।

यस अतिरिक्त २० मधेसी, २५ आदिवासी जनजाति र ३ महिला भान्छे पनि मागिएको छ । मधेशी, आदिवासी जनजाति र महिलाका साथमा दलितलाई पनि भान्छे बनाएर समावेशीकरणको नमुना प्रहरीले देखाएको छ ।

०७१ मा नयाँ प्रहरी ऐन आएसँगै दलित समुदायलाई भान्छेमा अवसर दिन थालिएको हो । पछिल्लो समय प्रहरीले दलितलाई भान्सेका रूपमा प्रवेश दिन थालेको विषय अन्य सेवा र क्षेत्रका लागिसमेत नमुना बन्ने देखिएको छ ।

दलितलाई भान्सामा अवसर दिँदा छुवाछुत अन्त्यका लागि देशभर सन्देश जानेछ । ‘संविधान कार्यान्वयनको सवाल मात्र होइन, दलित वर्गलाई भान्सामा प्रवेश दिँदा त्यसले दिने सन्देश विशेष महत्वको हुन्छ,’ प्रहरी प्रधान कार्यालयमा तैनाथ एक प्रहरी निरीक्षकले भने, ‘आत्मसम्मान र सामाजिक न्यायको कुरो पनि यसमा जोडिन्छ ।’

टिप्पणीहरू