किन मध्यराति निर्णय बदलियो कमरेड ? « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

किन मध्यराति निर्णय बदलियो कमरेड ?

प्रकाशित मिति :  १८ मंसिर २०७८, शनिबार १३:००


– अधिवक्ता प्रेमराज सिलवाल

मंसिर १० गते राति चितवनमा एमालेले गत असोजको विधान महाधिवेशनले टुंगो लगाएको केन्द्रीय सदस्यसहित, सचिवालयसहितको निकाय र सदस्यहरूको संख्या अचानक थपेपछि विभिन्न कोणबाट टिप्पणी भएका छन् ।

कुन बाध्यताले त्यसरी विधानमा किटानी भइसकेको संख्यामा थप्नुपरेको हो ? जबकि विधान महाधिवेशनमा पनि तिनै नेताहरूको सहभागिता थियो । मूलतः तीन कारणले एमालेले आफ्नो विधानलाई अचानक संशोधन गरी संख्या वृद्धि गरेको हो, हुन सक्छ ।

कारण एक : हाल क्रियाशील नेताहरूको सम्मानजनक व्यवस्थापन एमालेको महाधिवेशनका लागि ठूलो चुनौती बनेर रहेको थियो । यसअघिदेखि नै उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र स्थायी समितिमा रहेका नेताहरूको जिम्मेवारी र पदीय व्यवस्थापन महाधिवेशन पूर्वदेखि नै जटिल बनेर आइसकेको थियो ।

यद्यपि, भोटिङ हुने वा सर्वसम्मत हुने कुनै टुंगो नलागेको कारण नेताहरू ‘तैँ चुप मै चुप’ को अवस्थामा थिए । संगठनमा क्रियाशील भएका मानिसलाई नयाँ महाधिवेशन पहिलेको भन्दा माथिल्लो पदमा जाने इच्छा र चाहना हुने गर्छ । यसरी पहिले स्थायी समितिमा रहेकालाई पदाधिकारीमा, पोलिटब्युरोमा पुगेकालाई स्थायी समितिमा जाने चाहना हुने नै भयो ।

वैकल्पिक केन्द्रीय सदस्य भएकालाई पूर्ण केन्द्रीय सदस्य हुनुपर्ने भयो । प्रतिनिधि छनोट सर्वसम्मत भयो र बनाइयो । अधिकांशमा अध्यक्ष ओली समर्थक नै छानिए । त्यसैले पनि नेताहरू ‘चुपचाप बसी पाउने’ आशमा बढी नै देखिए । यसरी पहिले नै क्रियाशील भएका नेताको पदीय व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो ।

कारण दुई : नयाँलाई केन्द्रमा व्यवस्थापनको सवाल एउटा जटिल विषय भइदियो । देशभर सर्वसम्मतिमै प्रतिनिधि छनोट भएर पनि नजानिँदो ढंगले समस्या थपिएको थियो । प्रतिनिधिहरू सर्वसम्मत यसकारण भएका थिए कि उनीहरूलाई ‘केन्द्रीय सदस्यमा उम्मेदवार हुनु छ ।’ वा यसो भनियो कि– ‘कमरेडहरू, म केन्द्रीय सदस्यमा उठ्ने हो त्यसैले मेरो नाममा सर्वसम्मत गरिदिनु..।’ यो तरिका र भनाइबाटै धेरै मानिस (नेता) केन्द्र्रीय प्रतिनिधि छानिए ।

अर्काेतर्फ छानिएका प्रतिनिधिलाई त्यसरी सर्वसम्मत गरी छाड्ने वा पठाउने आफूसरहका स्थानीय नेतालाई देखाउनकै लागि भए पनि केन्द्रमा उठ्नै पर्ने बाध्यता आइदियो । ‘उठेको त थिएँ तर हारियो के गर्ने’ भन्नेसम्मको जवाफ लिएर उनीहरू जिल्ला जान चाहन्थे । प्रतिनिधि छनोटको समयमा छाड्ने र सहमति गर्नेहरूले पनि त्यो बेला भनिदिएका थिए– ‘ठीकै छ नि त कमरेड, केन्द्रमा उठ्ने नै भएपछि हामीले सर्वसम्मतसाथ पठाउँछौं ।’ हो, यो तरिका नै चितवन पुगेर विशाल समस्या भइदियो । प्रतिनिधि भएका नयाँ र ऊर्जावान भनिएका ‘सबैजसो’ युवा ‘हाँडीमा मकै, फूल उठेसरी’ पटटट ‘उठे’ ।

उनीहरूलाई देखाउनकै लागि र प्रचारकै लागि भए पनि केन्द्रमा उठेको देखाउनै पर्ने बाध्यता सर्वसम्मतिको तरिकाले पनि बनाइदिएको थियो । अर्थात् अध्यक्ष ओली र मूल नेतृत्वले सोचेभन्दा धेरै गुणा नयाँ नेताले केन्द्रीय सदस्यमा उम्मेदवारीको ‘फायर खोले’ । यसरी सयाैँ संख्यामा नयाँ उम्मेदवारी सार्वजनिक हुने क्रम बढेसँगै केन्द्रीय समितिको बैठकले मध्यरातमा सचिवालयदेखि केन्द्रीय सदस्यसम्म संख्या बढाउने निर्णय गर्न पुग्यो ।

कारण तीन : संख्या बढाउने गरी मध्यराति निर्णय गर्नुपर्ने बाध्यताको अर्काे मूल कारण थियो राजनीतिक तथा समग्र सन्तुलन । नेकपा विघटनका बेला माओवादीबाट एउटा समूह एमालेमा समाहित भएको छ । पद र प्रतिष्ठाको पनि ख्याल नगरी संकटमा एमाले अध्यक्ष ओलीलाई सहयोग गरेका नेताहरूलाई महाधिवेशनबाट नेतृत्वमा स्थापित गराउनै पर्ने बाध्यता भएका कारण पनि राति संख्या बढाउनै पर्ने बाध्यता आइलाग्यो ।

एमालेमा हाल परिभाषित गुट नभए पनि एक ‘प्रकारको राजनीतिक रङ’ रहेको अवस्था पनि हो । अर्काेतर्फ ओलीलाई ‘सत्तोसराप’ गर्नेहरूलाई पनि नेतृत्वमा स्थापित गराउनै पर्ने बाध्यता भएको कारण पनि राति त्यस्तो निर्णयमा एमाले पुगेको हुनुपर्छ । ‘खाईपाई आएको पद र हैसियत’बाट तल नझर्न र सके माथि उक्लनका लागि नै केहीले ‘१० बुँदेको गीत गाएको’ प्रष्टै थियो । अब निर्वाचित भएकाहरूले के–कस्तो जिम्मेवारी र विभाग पाउने हुन् भन्नेचाहिँ सर्वाधिक चासोको विषय भएको छ ।


प्रतिक्रिया दिनुहोस !