ढिलाइ नगरौं, परिवारै ढल्न सक्छ

ढिलाइ नगरौं, परिवारै ढल्न सक्छ

कोभिडको नयाँ भेरिएन्टले विश्व त्राहिमाम छ । त्यसबाट जनतालाई बचाउन सरकारले उचित कदम चाल्न ढिलाइ हुनुभएन । विभिन्न राष्ट्रले नयाँ भेरियन्टबाट आफ्ना नागरिकलाई बचाउन धेरैथरी स्वास्थ्य मापदण्ड र नीति अपनाएका छन् । ओमिक्रोन नामक नयाँ भाइरसबाट जोगिन जरुरी छ ।

हाम्रै छिमेकी देशले पनि सीमा बन्द गरिसकेको छ । विज्ञहरूले यो भाइरसबाट बच्न आग्रह गरिरहेका छन् । तर, नेपालमा भने यसलाई बेवास्ता गरिएको छ । अचेल त झन् बिहेको सिजन, पार्टी प्यालेसहरुमा अधिकांश सडक, सार्वजनिक स्थल, पाटीपौवा, मठमन्दिर, सार्वजनिक यातायातमा अत्यधिक भीड छ ।

कोभिडको दोस्रो लहर नसिद्धिँदै खोलिएका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिर दर्शन गर्ने, भजनकीर्तन भन्दै बूढाबूढीदेखि महिला बालबच्चासमेत बोकेर आउने गर्छन् । लगाउने मानिस सपिङ मल, सडक, सिनेमा हल र सार्वजनिक सवारी साधनमा कमै मात्र देखिन्छन् । मन्दिरका पुरोहितदेखि पूजाआजाका सामान बेच्नेले समेत स्वास्थ्य मापदण्ड पालना गरेको पाइन्न ।

धर्म गर्न चर्को भीड गर्नैपर्छ भन्ने छैन । जनताको रोजीरोटीको ख्याल गर्दै राहतका वैकल्पिक उपाय अपनाएर रात्रिकालीन व्यवसाय, पार्टी प्यालेस, विमानस्थल होटल व्यवसायजस्ता भीडभाड हुने स्थानमा आवश्यक व्यवस्था गर्नुपर्छ ।

मालपोत, यातायात कार्यालय र राहदानी बनाउने कार्यालयमा पनि भीड नियन्त्रणका उपाय अपनाउनैपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्था पनि अब सुरक्षित हुनैपर्छ ।

केही समयलाई जोरबिजोर प्रणाली लागू गर्ने कि ! सरकारी वा निजी विद्यालयले पनि हेल्थ प्रोटोकल पालना गर्ने कि ! अहिले बालबालिका कोरोनाको घेरामा छन् । बालबालिकाले मास्क लगाउन छाडिसके भने विद्यालयले पनि स्यानिटाइजरको व्यवस्थासमेत गरेको छैन । सरकारले बालबालिकाहरूलाई कोरोनाको नयाँ भेरियन्टबाट टाढा राख्न प्रभावकारी ढंगले सामाजिक दूरी पालना गर्न लगाउनुपर्नेछ ।

केही समय अनलाइनबाट पढाए पनि हुन्छ । बिनाकाम सडकमा हिँड्न र गुड्न दिनुभएन । यसरी जथाभावी डुल्दा कोरोना संक्रमण बढ्ने डर ज्यादै हुन्छ । स्कुल, कलेजका होस्टल र फौजका ब्यारेकलाई पनि सुरक्षित राख्न जरुरी छ ।

सार्वजनिक यातायातले कोरोना फैलाउन झन् ठूलो भूमिका खेलेको छ । बस, माइक्रोबस, ट्याम्पोजस्ता गाडीमा यात्रुको भीड धेरै देखिन्छ । इँटाको चाङ लगाएजस्तै राखिएका यात्रुको भीडमा कोरोना फैलिने जोखिम बढी हुन्छ । अहिले बसका सहचालक र चालकले नै मास्क, स्यानिटाइजर प्रयोग गर्दैनन् । ड्राइभरले मास्क लगाएर गाडी चलाए वाफले शिशा छोपिएर दुर्घटनाको डर पनि छ ।

मास्क लगाउनु भनेको नाक, मुख जोगाउनु हो । चिउँडो छोप्नु होइन । सिटभन्दा बढी यात्रु हाल्न नपाउने निर्णय गर्नुपर्ने बेला भएको छ । चुनाव नजिकिएसँगै राजनीतिक दलका महाधिवेशन, बैठक, सभाजस्ता गतिविधिले स्थान पाएका छन् । दलहरू आफैँ कोरोनालाई साइडमा राखेर भेला गर्दै हिँडेका छन् । न राजनीतिक नेताले मास्क लगाउँछन् न त कार्यकर्तालाई लगाउन सिकाउँछन् ।

अहिले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन भइरहेको छ । सयौंको संख्यामा वकिल सडकमा ओइरिएका छन् । यो पनि कोरोना फैलिनुको प्रमुख कारण बन्न सक्छ । अब २५ जनाभन्दा बढी जुटेर कुनै कार्यक्रम गर्न नपाइने निर्णय गर्नुपर्छ ।

नेपाल–भारत छिमेकी मुलुक हुन् । यी दुई राष्ट्रलाई एकअर्काको देश जान कुनै रोकतोक छैन । नेपाली आफ्नो परिचयपत्रको आधारमा भारत जान पाउँछन् भने भारतीय पनि सजिलै नेपाल छिर्न पाउँछन् । नेपालका अधिकांश नागरिक रोजगारीका लागि भारत गएका छन् । नेपालमा पनि भारतीयको संख्या उल्लेखनीय छ ।

भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालीहरू धमाधम स्वदेश फर्किंदै छन् । तर, नाकामा परीक्षण छैन । भारतबाट आउनेहरू सिधै घर जान्छन् । जसले गाउँ र टोललाई नै खतरामा पारेको छ । शहरमा त क्वारेन्टिनको व्यवस्था गरिएको छैन भने गाउँमा कल्पनाभन्दा बाहिरैको कुरा हो ।

ठुल्ठूला व्यापारिक मल, सुपर मार्केट जस्तैः भाटभटेनी, बिग मार्टमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन । सिनेमा घरले पनि लापरबाही गरेका छन् । घरघरमा कबाडी सामान लिन आउनेलाई कोरोनाबारे मतलव छैन ।

फुटपाथ व्यापारी, ठेलागाडा व्यापारी र किराना पसलेका पनि आफ्नै पीडा छन् । सडक छेउछाउ ढाकेर बसेका फुटपाथ व्यापारीले पनि स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । सरकारी कार्यालयमा झन् खुट्टा टेक्ने ठाउँ छैन ।

हरेक सरकारी कार्यालयमा दैनिक हजाराँैको संख्यामा भीड लाग्छ । प्रभावकारी ढंगबाट काम सुचारु गर्न नसक्दा जनताले दुःख त पाएका छन् नै ! त्योभन्दा पनि कोरोना फैलिने चिन्ताले पिरोलिरहेको छ । उपत्यकावासीलाई बचाउन मेयरहरूले साँगा र थानकोट नाकामा स्वास्थ्यकर्मी राखेर कोरोना परीक्षण गर्न ढिलाइ भयो कि ?

देशभरका धेरै जनता उपत्यकामा बस्छन् । यदि, कोरोनाले विकराल रूप लियो भने उपत्यका सखाप हुन सक्छ । सरकारले जनता बचाउने हो भने उपत्यका भित्रिने नाकामा कडाइसाथ चेकजाँच गर्नु जरुरी छ ।

टिप्पणीहरू