ललितपुरको अव्यवस्थित पार्किङ रोकिएला ?

ललितपुरको अव्यवस्थित पार्किङ रोकिएला ?

पछिल्ला केही वर्षदेखि निजी सवारी साधन किन्नेको संख्या ह्वात्तै बढेको छ । सडकमा सवारी साधनको चाप वर्षेनी बढ्दै जाँदा सवारी पार्किङ मुख्य समस्या बनेको छ ।

सडकका दुबै किनारमा सवारी साधन पार्किङ गरिँदा यातायात र पैदलयात्री आवागनमा ठूलो समस्या रहेको देखिन्छ । सहरका भित्री सडकमा देखिने गरेका समस्याले मुख्य सडकमार्गमा सवारीको जाम बढ्ने गरेको छ ।

त्यसैलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकाले जथाभावी पार्किङ गर्ने सवारी साधनलाई जरिवाना तिराउने निर्णय गरेको छ । महानगर प्रहरीको छैठौं नगरसभाले अव्यवस्थित पार्किङ रोक्न सवारी धनीलाई जरिवाना तिराउने निर्णय गरेको हो । ललितपुर महानगरमा जथाभावी पार्किङ प्रमुख समस्या बन्दै आएपछि उक्त निर्णय गरिएको बताइन्छ ।

मुल र सहायक सडक तथा गल्लीमा जताततै अव्यवस्थित पार्किङ गर्न बन्देज लगाउन यो निर्णय महत्वपूर्ण हुने महानगरको भनाइ छ । जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीलाई जरिवाना तिराउन र पाङ्ग्रा (ह्विल) लक गर्न थालिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभएको छ ।

नगर प्रहरी र ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा उक्त कार्यक्रम शुरु गरिएको हो । पैदलयात्रीलाई हिँड्न असहज हुने ढंगले जथाभावी पार्किङ गरिएकाले यो कदम चालिएको बताइएको छ ।

महानगरका अनुसार हालका लागि अनधिकृत रुपमा पार्किङस्थलमै जरिवाना गराउने तिराउने गरिएको छ । पार्किङस्थलबाट सवारी साधनलाई उठाएर अर्को ठाउँमा लगेर जरिवाना तिराउँदा झन्झट हुने हाछेथुले जानकारी दिनुभएको छ ।

नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ललितपुर महानगरभित्रका पुल्चोक, मंगलबजार, लगनखेल, जावलाखेल, मानभवन, कुमारीपाटी, कुपण्डोल, ग्वार्को, सातदोबाटोलगायतका फुटपाथ क्षेत्रमा अवैध रूपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटर र चारपाङ्ग्रे सवारी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरू गरेको हो ।

सडकपेटीमा पार्किङ गरि पैदल यात्रु र अन्य सवारीलाई अप्ठयारोमा पारेपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीलाई कारवाही प्रक्रिया अगाडि बढाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो ।

पार्किङ क्षेत्र तोक्ने र व्यवस्थापन गर्ने जिम्मेवारी महानगरको भएको बताउँदै उहाँले यसलाई नै कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार तीन दिनमा दुई सय नौ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

जथाभावी पार्किङ गरेर छाडेका सवारी साधनलाई कारवाहीस्वरूप ‘ह्वील लक’ गर्ने, उठाएर ल्याउने र सम्बन्धित ठाउँमा जरिवाना तिराउने काम शुरू गरिएको उहाँको भनाइ छ ।

नगर प्रहरीले मोटरसाइकललाई पाँच सय र गाडीलाई एक हजार जरिवाना लिन थालेको छ । पार्किङ निषेध गरिएका ठाउँ, साँघुरो बाटो र पेटीमा सवारी राख्नेलाई जरिवाना गर्ने र चक्का लक गर्ने काम पनि शुरु गरिएको बताइएको छ । उक्त कार्यको लागि २५ जना नगर प्रहरी खटाइएको छ ।

ट्राफिकजाम न्यूनीकरण गर्न र पैदलयात्रीलाई सहज पार्न यो कार्य गरिएको हाछेथु बताउनुहुन्छ । तर, जनशक्तिको अभावमा सबै सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन गाह्रो भइरहेको उहाँको ठहर छ ।

प्रहरीले जथाभावी पार्किङ गर्नेको गाडी लक गर्ने र महानगरपालिकाले नगर प्रहरी खटाएर सवारी उठाउँदै शुल्क लिने गरेको वर्षौं बितिसकेको छ । तर, अव्यवस्थित पार्किङको समस्या ज्यूँका त्यूँ छ ।

टिप्पणीहरू