जयनेपाल भन्दा पनि जसलाई जिताइएन

जयनेपाल भन्दा पनि जसलाई जिताइएन

यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन धमाधम चलिरहेको छ । जिल्ला सभापतिमा अहिलेसम्मको मत परिणामअनुसार संस्थापन सभापति शेरबहादुर देउवा समूहले अग्रता कायम गरेको छ ।

यसपटक नाम चलेका चर्चित पात्रहरूले प्रतिनिधि छनोटमै हार व्यहोर्नुपरेको छ । केन्द्रीय सदस्य, मन्त्री, पूर्वसांसद, सांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वर्तमान र पूर्वपदाधिकारीसमेत हार व्यहोर्ने सूचीमा छन् । पूर्वमन्त्री शेषनाथ अधिकारी महाधिवेशन प्रतिनिधिमै पराजित भए ।

उनी देउवा समूहका नेता हुन् । कांग्रेसको क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै कामको डाडुपन्यू हातमा लिएर बसेका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि महाधिवेशन प्रतिनिधिमै पराजित भए । उनी पनि संस्थापन पक्षकै हुन् ।

यता, संस्थापनकै आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, बागलुङ जिल्ला सभापति दीपेन्द्रबहादुर थापा पनि पराजित भएका छन् । संस्थापनपक्षीय कञ्चनपुरका पार्टी सभापति हरि बोहराले पनि हारको सामना गर्नुप¥यो ।

संस्थापनइतर समूहबाट पूर्वसांसद बलदेव बोहरा पराजित भएका छन् । सुर्खेत कांग्रेसका सभापति कमलराज रेग्मी र पूर्वमन्त्री शिवराज जोशी पनि पराजितको सूचीमा परेका छन् ।

चर्चित स्तम्भकार एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार पुरञ्जन आचार्यलाई पनि मोरङ कांग्रेसका कार्यकर्ताले हराएका छन् । नेविसंघका पूर्वमहामन्त्री सरोज थापा, पूर्वमहामन्त्री बलदेव तिमल्सिना, महामन्त्री महेश्वरी कुँवरलगायतले पनि हार सामना गर्नुपरेको छ ।

टिप्पणीहरू