सर्वोच्चमा हलो अड्किएको अड्कियै

सर्वोच्चमा हलो अड्किएको अड्कियै

अपेक्षा थियो गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया शुरु भएसँगै सर्वाेच्चमा जारी गतिरोध अन्त्य हुनेछ ।

तर फेरि अर्काे बखेडा निस्कियो कायममुकायम प्रधानन्यायाधीशको ।

गत १५ मंसिरदेखि सर्वाेच्चले ७० बर्षको इतिहास भत्काउँदै प्रधानन्यायाधीशको तजबिजी अधिकार काटेर गोलाप्रथाबाट पेशी तोक्ने काम प्रारम्भ त भयो तर प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा यही समयमा कोभिड संक्रमित भएर बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल (एफीएफ)मा भर्ना भई आजै बिहान मात्र डिस्चार्ज हुनुभएको छ । निकट स्रोतका अनुसार उहाँले अझै एक साता आराम गर्नुपर्ने छ ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार र सर्वाेच्च बारले यही बीचमा प्रधानन्यायाधीशको अनुपस्थितिमा कामु प्रधानन्यायाधीश तोकेर मात्र इजलाश बस्न आग्रह गरेका छन् । १५ मंसिरमा न्यायाधीशहरुले गोला तानेर पेसी तोकेका थिए । तर नेपाल बार र सर्वाेच्च बारका पदाधिकारीहरुको आग्रहपछि ११ वटा इजलाश तोकिए पनि बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै हेर्ने काम भयो सो दिन ।

हिजो बिहिबार टी ब्रेकसम्मका लागि इजलाश तोकिएको थियो । हिजो पनि न्यायाधीशहरुले बन्दीका बाहेक अरु मुध्दा हेरेनन् । आज शुक्रवारका लागि पनि न्यायाधीशहरू आफैंले गोला तानेर ११ वटा इजलासमा पेशी तोकिएको छ ।

आजका लागि २ वटा एकल र ९ वटा संयुक्त इजलाश गठन भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको एकल इजलास तोकिएको छ भने दीपककुमार कार्की र मनोजकुमार शर्मा,मीरा खड्का र सुष्मालता माथेमा,हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठ,विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठ,आनन्दमोहन भट्टराई र कुमार रेग्मी,अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलास तोकिँदा प्रकाशमान सिंह राउत र हरिप्रसाद फुँयाल,सपना प्रधान मल्ल र टंकबहादुर मोक्तान, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलास तोकिएको छ ।

आज पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुध्दा सुनुवाई नहुने सम्भावना रहेको बताइन्छ ।

टिप्पणीहरू