‘खोयाबिर्के’ अनि मेरा अनुभव « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

‘खोयाबिर्के’ अनि मेरा अनुभव

प्रकाशित मिति :  १८ मंसिर २०७८, शनिबार २०:००


दुई तीन दशकअघि नेपालमा मदिरा निषेधित वा मुक्त क्षेत्र घोषणा गर्ने लहर चलेको थियो । यसैको लहरमा सुर्खेत जिल्लालाई पनि मदिरा निषेधित घोषणा गरिएको थियो । मदिरा निषेधित भनिएको वीरेन्द्रनगर, छिन्चुका होटलहरुमा भने ब्रान्डेड रक्सी खुलेआम पाइन्थ्यो । र, बीस रुपैयाँमा पाउने मकबुल लारीको रक्सी कालोबजारीमार्फत् दुई सय रुपैयाँमा किन्नु पर्ने बाध्यता थियो ।

त्यसबेला रक्सी प्रतिबन्धित नभएको समयमाभन्दा बढी महिलाहरु पुरुषबाट पीडित भएका थिए । कारण एउटै थियो सस्तो रक्सी महँगिएको थियो । महँगो भएपछि ‘एक प्याक लडाएर आनन्दले सुत्ने बानी परेकाहरु’ पनि किचकिच गर्ने भएका थिए । रक्सीवाजहरु त झनै उग्र हुने नै भए । यसले के देखिन्थ्यो भने मदिरामुक्त अभियान व्यवहारिक थिएन, यसले सामाजिक सद्भावलाई कायम राख्नेभन्दा भड्काउन सहयोग गर्दै थियो, पारिवारिक मिलनभन्दा बिछोडको अवस्था सिर्जना गर्दै थियो ।

खोयाबिर्केमा रमाउनेहरु श्रीमतीको गहना बेचेर ब्रान्डेड रक्सी पिउन बाध्य थिए । यसले मध्यम आय भएका परिवारलाई बिस्तारै तन्नम बनाउँदै लगेको थियो । घरेलु उत्पादन रोकेर बहुराष्ट्रिय मदिरा कम्पनी पोस्ने वा रक्सी ठेकेदारको सिन्डिकेट पोस्ने काम मदिरामुक्त अभियानले गरेको थियो । त्यसैले मदिरामुक्त क्षेत्रहरु पुन ‘मदिरालय’ को लयमा फर्किएको पाइन्छ । यो हाम्रो जस्तो समाजको लागि उपयुक्त थिएन र हुँदै होइन भन्ने विगतको अनुभवले देखाएको छ । त्यही पनि केही बुद्धिवालहरु बेलाबेला घरेलु मदिरामा धावा बोल्छन् ।

रक्सीले मान्छे मार्छ त्यसैले यसको उत्पादन रोक्नुपर्छ भन्नेहरुले सोचौ त बन्दुकले त झनै एक निमेषमै ठहरै पार्छ तसर्थ बन्दुक उत्पादन रोक्नुपर्छ भन्नु एउटै जस्तो हो । जसरी बन्दुक भिर्ने सबैले बेला न कुबेला पड्काउँदैनन् त्यसैगरी जाँडरक्सी खाने सबैले अपराध वा बदमासी पनि गर्दैनन् भन्ने कुरा हेक्का राख्दा राम्रो हुन्छ । रक्सीको नकारात्मक पाटोलाई केलाउनेभन्दा परम्परागतरुपमा उत्पादन हुने रक्सीले गर्दा मदिरा व्यापारमा असर वा घाटा भएकोले गर्दा नियोजितरुपमा रक्सी बेचेर जीविकोपार्जन गर्नेविरुद्ध धावा बोलिएको हो भन्न सकिन्छ ।

यसको प्रत्यक्ष प्रमाण भनेको कथित ब्रान्डेड रक्सीहरु पोख्ने वा रोक्न कोही अघि नसरेकोले प्रष्ट हुन्छ । जुन बजारमा घरेलु रक्सी (खोयाबिर्के) लाई अवैध करार गरिन्छ, त्यसै बजारमा ब्रान्डेड मदिराहरु खुलेआम बेचिन्छ । सबैलाई थाह भएको कुरा हो संसारका सेनालाई (विशेषगरी उच्च भूभाग वा ठण्डी क्षेत्रको सुरक्षामा बसेका) लाई रक्सी कोटाको रुपमा उपलब्ध गराइन्छ ।

राष्ट्र प्रमुखहरुलगायत विशिष्ट अतिथिहरुको स्वागतमा ‘टोस्ट प्रस्ताव’ को नेतृत्व रक्सीले नै गर्छ । अरुबेला धक फुकाएर बोल्न नसक्नेहरुलाई धक फुकाउने मेशिन रक्सी नै हो । यति मजाको रक्सीमाथि धावा किन ? मूलकारण थाह नपाउने, नखोज्नेहरुले दुर्घटनादेखि विभिन्न किसिमका अपराधमा घरेलु रक्सीलाई दोष दिने गरेको पाइन्छ । रक्सी खाने विभिन्न बहानाहरुमध्ये एक हो तनावबाट मुक्त हुन रक्सी पिउने । त्यसैले रक्सी होइन तनावमुक्त गर्ने वातावरण तयार पार्नेतर्फ ध्यान दिऔं ।

यसले तनावका कारण रक्सी पिउनेहरुको संख्यामा स्वतः कमी हुन्छ । यो सत्यलाई पचाउन नसकेर रक्सीका कारणले भन्ने गरेको पाइन्छ । पीडा बिर्साउने सस्तो र सहज उपायको रुपमा खोयाबिर्केको योगदान रहेको छ । रक्सीले बदमासी गर्ने होइन बदमासी त मान्छेको संस्कार र गुण अनि व्यवहारले गर्ने हो भन्ने कुरा बुझ्न आवश्यक छ । रक्सीले काँतर होइन शुरो बनाउँछ भन्ने कुरा त जगजाहेरै छ ।

कतिपयले अन्न कुहाएर रक्सी बनाउने अनि भोकमरी नलागेर के लाग्छ त भन्दै बुद्धिवाल बन्ने प्रयास गरेको पाइन्छ । यस्ता बुद्धिवालले पहिलो कुरा त रक्सी अन्न वा फलफूल कुहाएरै बनाइन्छ भन्ने कुरा बुझ्न सकेका छैनन् भन्ने देखिन्छ । नकुहाई बनाउने रक्सी त ‘स्पीरिट’ हुन्छ, पानीको मात्रा मिलायो खायो ।

दोस्रो कुरा अन्न बेचेर पाइने फाइदाभन्दा रक्सी बनाएर बेच्दा बढी फाइदा हुन्छ । तेस्रो कुरा घरेलु रक्सीमा उपयोग गरिने कुनै पनि सामग्री खेर जाँदैन । काम नलाग्ने भनेको ‘कट’ पनि पशुहरुको लागि उपयोगी र पोषिलो आहार हुन्छ । यस्ता बुद्धिवालहरुको बुद्धिको बिर्कोले रक्सी पार्ने प्रविधिलाई बुझ्न आवश्यक छ । र, केमिष्टहरुको भनाइअनुसार त सबैजसो एन्टिबायोटिक औषधिहरुमा ‘अल्कोहल’ को निश्चित मात्रा हुन्छ नै ।

तसर्थ मरिजाउँ होला अहिलेसम्म रक्सी छोएकै छैन भनेर कसम खानेहरुलाई पनि हेक्का होस् रक्सी ओखती पनि हो । एन्टिबायोटिक ओखती खाने सबैले रक्सी खाएका छन । त्यसैले यस्ता कसमको पनि तुक छैन ।

अहिले बहुराष्ट्रिय मदिरा कम्पनीका दलाल, मदिरामा एकाधिकार कायम गर्न खोज्ने व्यवसायीहरुमात्र नभएर कथित सामाजिक अभियन्ता र केही बुद्धिवालहरु कानुनको आडमा घरेलु रक्सीलाई प्रतिबन्ध गर्न तम्सिएका छन् । उनीहरुको दाबी छ, मदिरा अवैध हो । अवैध वस्तु उत्पादन गर्न पाइन्न ।

एक तरिकाले सोच्दा कुरा ठीकै हो, घरेलु रक्सी उत्पादन गर्नु अपराध हो । तर वैध बनाउने काम किन गर्दैनौं ? कोरियाको ‘छ्याङ’ खाँदै गाउँघरको ‘जाँड’ मिल्काउन लाज लाग्नु पर्ने हो । यो कामले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यदी घरेलु रक्सी उत्पादकहरुलाई इजाजतपत्र दिएर राजश्व संकलन गर्ने अभियान थाल्ने हो भने ठूला मदिरा उत्पादक जतिकै नेपाली अर्थतन्त्रमा योगदान गर्न सक्छन् ।

यसले निम्न आय भएका मानिसको जीवनस्तरमा सुधार पनि आउँथ्यो, लुकिछिपि रक्सी पार्दै बेच्नु पनि पर्दैनथ्यो । त्यसैले इजाजत नदिने कानुन सम्मानजकरुपमा काम गरेर खान नदिने षड्यन्त्र हो । यो षड्यन्त्रको बिरोधमा त उर्लनै पर्छ । यदी घरेलु रक्सी उत्पादनको लागि इजाजत दिने हो भने खराब घरेलु रक्सी बेच्नेहरुको पनि पत्तासाफ हुन्थ्यो ।

चुस्की लिनेहरुले पनि आफ्नो रुचीअनुसारको एकदेखि दस पानेसम्मको रक्सी रोजीछाडी पिउने थिए । आफ्नै सामुन्ने रक्सी पारेर खान पाउने वातावरण तयार हुने थियो । ढाँट्ने, छल्ने र खराब वस्तुहरुको मिश्रण गर्ने चलन हट्थ्यो । शुद्ध रक्सी बनाएर बेच्न होडबाजी हुन्थ्यो ।

रक्सीका एकाध दुव्र्यसनीलाई औंल्याएर सारा रक्सीप्रेमीहरुको हुर्मत लिने अधिकार कसैलाई पनि छैन । केही साहित्यकारहरुले त रक्सीले मात लाग्ने भए बोतल हल्लिनु पर्ने मानक पनि खडा गरेका छन् । कसैकसैले त रक्सी छोड्ने निहुँमा रक्सीको खोलो बगाएर उत्सव पनि मनाएका छन् । त्यसैले रक्सी रहर मात्र होइन संस्कार पनि हो । विषमात्र होइन औषधि पनि हो ।


प्रतिक्रिया दिनुहोस !