सडक मर्मतमा औपचारिकता मात्रै ?

सडक मर्मतमा औपचारिकता मात्रै ?

ललितपुरस्थित पाटनढोकाको सडक मर्मतमा ललितपुर महानगरले औपचारिकता पूरा गरेको देखिएको छ ।

पाटनढोकाबाट पुल्चोक हुँदै मदनस्मारक जाने सडकमा रहेका खाल्डाखुल्डी पुरेर पिच गर्नुको सट्टा गिट्टी र माटो हालेर महानगरले औपचारिकता मात्र निभाएको पाइएको हो ।

एक वर्ष यता त्यो सडक दयनीय आवस्थामा रहेको थियो । केही समयअघिको कुराकानीमा ललितपुरस्थित सडक डिभिजन कार्यालय साउन १ गतेबाट सडक डिभिजन काठमाडौँमा मर्ज भएको र सडक बनाउने वा नबनाउने भन्ने कुरा स्थानीय महानगरको हातमा रहेको जनाएको थियो ।

सडक डिभिजन काठमाडौंसँग मर्ज भए पनि सडक बिग्रेको एक वर्ष भएकाले स्थानीय तहसँगको समन्वयपछि तिहारलगत्तै बाटो बनाउने सहमति भएको कार्यालयले जानकारी दिएको थियो ।

कार्यालयले भनेबमोजिम सडक मर्मत शुरु गरिए पनि सडक मर्मतमा भने कञ्जुस्याईं गरेको देखिएको छ ।

सडक ममर्तमा गिट्टी र माटो प्रयोग गरेका कारण सडकको अवस्था झन बिग्रिएको स्थानीहरु बताउँछन् । ‘पहिले त खाल्डा खुल्डीले मात्र सडक प्रयोग गर्न पैदल र सवारी यात्रीहरुलाई गाह्रो परेको थियो तर अहिले गिट्टी र माटो प्रयोग गरेका कारण सडक भरि गिट्टी छरिएको छ । माटोले बाटो धुलाम्मे बनाएको छ,’ एक जना स्थानीयले गुनासो गरे ।
उनीहरुले गिट्टी र माटोका कारण सडकको अवस्था झन् बिग्रिएको बताएका छन् । सवारी साधन गुडाउँदा गिट्टी उछिट्टिएर कतिबेला पैदल यात्रीलाई लाग्ने वा घरभित्र गिट्टी पस्ने डर रहेको उनीहरुको भनाइ छ ।

यस्तै धुलोका कारण बिहान बेलुकी आफूहरुले सडकमा पानी हाल्नुपरेको समेत स्थनीयले जानकारी दिएका छन् । उनीहरुले महानगरले छिटो सडक मर्मत गरे सबैलाई राहत मिल्ने समेत बताए ।

यस्तै साँघुरो सडकमा मोटरसाइकलदेखि ठूला गाडी जथाभावी पार्किङ गर्ने गरिएको छ । त्यसो हुँदा बाटो झन् साँघुरो बन्दै गएकाले दुर्घटनाको सम्भावना बढेको बताइन्छ । उक्त सडकबाट पाटनढोका, पुल्चोक, ललितपुर महानगरको कार्यालय, मंगलबजार जान सकिने हुँदा धेरैजसोले त्यही मार्ग प्रयोग गर्ने पाइएको छ ।

तर सडकलाई राम्रो बनाउने र समयमा काम सम्पन्न गर्नेतर्फ ललितपुर महानगरले भने चासो नदेखाएको स्थानीयको आरोप छ । उनीहरुका अनुसार महानगरले सडक मर्मत गरे जस्तो गरेर पन्छिन खोजेको मात्र हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त सडकको अवस्था बारेमा आफू जानकार रहेको बताउनुभयो । उहाँले जनआस्थाले राखेको जिज्ञासामा ‘सडक बनाउने हो’ मात्र भनेर भन्नुभयो ।

मेयरले भन्नु भयो, ‘पाटनको कुन सडक हो मैले बुझेँ । यसबारे मलाई जानकारी छ । हामी बनाउँछौ त्यो सडक । छिट्टै प्रोसेस चाल्छौँ र प्रक्रिया अगाडि बढाउँछौं । सडक बन्छ ।’

सडक बिग्रेर ध्वस्त हुनुका धेरै वटा कारणमध्ये स्थानीयले आफ्नो घरमा लगेको खानेपानीको पाइप बिच्छ्याउन र मर्मत गर्नको लागि नियमित जसो खन्नु रहेको महानगरले बताएको छ । स्थानीयले आफूखुशी बाटो खन्दा सम्बन्धित निकाए मौन बस्ने गरेको छ । स्थानीयलाई मनपरी ढंगले बाटो खन्न नदिए एक हदसम्म सडक बिग्रिनबाट रोक्न सकिने विज्ञहरु बताउँछन् ।

टिप्पणीहरू