व्यवसायअनुसारको फोहोर शुल्क तोकियो

व्यवसायअनुसारको फोहोर शुल्क तोकियो

दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि व्यापारीहरुसँग मासिक शुल्क उठाउन थालेको छ । उपमहानगरले चालु आर्थिक वर्षदेखि स्थानीय व्यवसायीहरूबाट फोहोर शुल्क उठाउन थालेको हो ।

अहिले मासिक एक हजार रुपैयाँसम्म फोहोर शुल्क तोकिएको छ । व्यवसायी र नगरबीच भएको छलफल र सम्झौताअनुसार उपमहानगरले फोहोर शुल्क उठाउन शुरु गरेको हो ।

उपमहानगरले गत साउन महिनादेखिको फोहोर शुल्क बुझाउन व्यवसायीलाई सार्वजनिक रूपमा आह्वान समेत गरेको छ ।

दैनिक १४ टन फोहोर उत्पन्न हुने तुलसीपुरमा बढी फोहोर व्यवसायीबाटै संकलन हुने भएको हुँदा शुल्क समेत सोहीबमोजिम तय गरेर उठाउन लागिएको जनाइएको छ ।

उपमहानगरले होलसेल फलफूल तथा तरकारी पसलबाट मासिक एक हजारको दरले वर्षको १२ हजार, ब्युटीपार्लर तथा कस्मेटिक पसलबाट मासिक तीन सयका दरले एक वर्षको तीन हजार ६ सय रुपैयाँ फोहोर शुल्क संकलन गर्नेछ । ठूला होटल, कलकारखानाबाट मासिक एक हजार र साना होटेलबाट पाँच सय रुपैयाँ फोहोर शुल्क लिने निर्णय गरिएको छ ।

टिप्पणीहरू