काँग्रेस अधिवेशन : कर्णालीमा बहिष्कार, गण्डकीमा नाराबाजी

काँग्रेस अधिवेशन : कर्णालीमा बहिष्कार, गण्डकीमा नाराबाजी

नेपाली काँग्रेसको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन समारोह संस्थापनइतर पक्षले बहिष्कार गरेको छ । आफूहरुलाई खबरै नगरी एकलौटी रुपमा अधिवेशन गरिएको भन्दै असन्तुष्ट रहेको संस्थापनइतर पक्ष उद्घाटन समारोहमा सहभागी नभएको हो ।

उदघाटन समारोहबारे जानकारी नदिइएकाले आफूहरु सहभागी नभएको इतर पक्षका नेताहरुले बताएका छन् । लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक क्रियाकलाप देखाइएको इतरपक्षका एक जना नेताले बताए । पद र शक्तिको दुरुपयोग गरेर संस्थापनपक्षले एक्लौटीरुपमा अधिवेशन गरेको उनले दाबी गरे ।

उद्घाटन समारोहमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य तथा अधिवेशन संयोजकसमेत रहेका मुख्यमन्त्री जीवनबहादुर शाही उपस्थित हुनुहुन्थ्यो । कर्णालीसहित सबै प्रदेशका अधिवेशनको प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले भर्चुअल उद्घाटन गर्नुभएको थियो ।

पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनबाट काँग्रेसले ८ पदाधिकारीसहित ५९ सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि भोलिबाट निर्वाचन प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

यता, गण्डकी प्रदेशको उद्घाटन समारोहमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले होहल्ला र नाराबाजी गरेका छन् । आफ्नो पक्षका नेतालाई सम्बोधनका लागि नबोलाइएको भन्दै असन्तुष्ट पौडेलका कार्यकर्ताले नाराबाजी गरेको बताइएको छ ।

टिप्पणीहरू