‘बा’ पार्टीका महासचिवमाथि परिवारै बोकेको आरोप !

‘बा’ पार्टीका महासचिवमाथि परिवारै बोकेको आरोप !

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट महासचिव छानिएका शंकर पोखरेललाई राष्ट्रिय राजनीतिमा परिवारै बोकेको आरोप छ । पोखरेलले परिवारका सदस्यहरू च्यापेर सक्रिय नेताहरुलाई किनारा लगाएको गुनासो गर्नेहरु पनि छन् । यस्ता गुनासा र आरोप लगाउने अरु नभएर एमालेकै नेता–कार्यकर्ता हुन् ।

चिवतन महाधिवेशनबाट पोखरेलको पार्टीको शक्तिशाली पद महासचिवमा इन्ट्री मारे भने उनकी पत्नि सुजिता शाक्य र महिनी मेनका पोखरेल केन्द्रीय सदस्य बने । एमालेनिकट स्रोतका अनुसार पोखरेलले नातिनी विजया धिताल (बाँके) लाई केन्द्रीय लेखा आयोगको सदस्य बनाएका छन् ।

शंकर पत्नि सुजिता सचिवको दौडमा थिइन् । महिनौँसम्म अखिल नेपाल महिला संघको जुलुसै बोकेर ‘बा’ निवास बालकोट धाए पनि सफलता नमिलेपछि उनी केन्द्रीय सदस्यमा चित्त बुझाएर चितवनबाट काठमाडौँ फर्किन बाध्य भइन् । पत्नी केन्द्रीय सदस्य भएर मात्रै शंकरलाई परिवारवादको आरोप लागेको होइन । उनले बहिनी मेनका र नातिनी विजयालाई पनि एमालेको केन्द्रीय राजनीतिमा घुसाएका छन् ।

अनेमसंघको राजनीतिमा बेग्लै इतिहास भएता पनि मेनकालाई दङ्गाली एमालेहरू राम्रो मान्दैनन् । दाङबाट महाधिवेशन प्रतिनिधि बनाउने सन्दर्भमै विवाद भएपछि उनलाई लुम्बिनी प्रदेशको कोटाबाट छिराइएको थियो । उनी लुम्बिनीको महिला कोटाबाट प्रतिनिधि मात्रै भइनन्, केन्द्रीय सदस्यसमेत बनिन् ।

शंकरकी बहिनी मेनका केन्द्रीय सदस्य बन्दा भूगोलको राजनीतिमा खारिएकी लीला राना, विमला अर्याल, वसन्ती अधिकारी, रिमा नेपालीलगायत लिष्टमै परेनन् । त्यसैले अहिले ‘बा’ को एकल निर्णयले शक्तिशाली महासचिव बनेका पोखरेल दंगाली कार्यकर्ताको चर्को आलोचना खेप्न बाध्य छन् । दाजु केन्द्रीय नेता नभएकै कारण पटक–पटक यस्ता अनेकौं सूचीबाट नाम काटिएको उनीहरूको गुनासो छ ।

लुम्बिनीको महिला कोटाबाट केन्द्रीय सदस्यको दाबी गरेकी लीलाको नाम शंकर–विष्णुले नै काटिदिएपछि हलभित्रबाट रुँदै निस्किएकी थिइन् । शंकरले पीए सरोज रेग्मीलाई समेत महाधिवेशन प्रतिनिधि बनाएका थिए । उनले नेकपाताका पुराना नेता, संगठन निर्माणमा अब्बल ठानिएका टीकाराम खड्काको नाम काटेर बहिनीज्वाईं श्याम आचार्यलाई अध्यक्ष बनाएको त्यतिबेला व्यापक चर्चा थियो ।

यी र यस्तै तथ्य देखाउँदै एमाले नेता तथा कार्यकर्ताहरूले शंकरमाथि परिवारवादको आरोप लगाउने गरेका हुन् ।

टिप्पणीहरू