रिमाल निर्विरोध उपमहासचिव हुँदा नुवाकोटका छिमेकीहरु बेखुश

रिमाल निर्विरोध उपमहासचिव हुँदा नुवाकोटका छिमेकीहरु बेखुश

नेकपा एमालेको हालै सम्पन्न चितवन महाधिवेशनबाट नुवाकोटका विष्णुप्रसाद रिमाल उपमहासचिव निर्वाचित भए । नवौँ महाधिवेशनमा सचिवमा पराजित भएका रिमाल यसपटक भने प्रतिस्पर्धा नै नगरी उपमहासचिवमा फड्को मार्न सफल भएका हुन् ।

अध्यक्ष केपी ओलीलाई रिझाउन सक्नेका लागि फलिफाप भएको दशौँ महाधिवेशनले रिमाललाई जुरुक्क बोकेर माथि राखिदियो । बन्दसत्रमा अध्यक्ष केपी ओलीले पढेको नामावली प्रतिनिधिले ताली बजाएर पारित गरेपछि भाग्य चम्किएका उनको राजनैतिक ग्राउण्ड भने अरुको जस्तौ छैन । किनकि उनी भूगोलमा राजनीति गरेर खारिएका नेता होइनन् ।

एमाले निकट मजदुर संगठन जिफन्टको अध्यक्ष नै उनको सबैभन्दा उपल्लो सांगठनिक जिम्मेवारी थियो । तर, उनी अध्यक्ष ओलीका खास प्रियपात्र रहँदै आएका छन् । ओली गुटका हर्ताकर्ता पनि भएकाले ओली दुबै पटक प्रधानमन्त्री हुँदा रिमाल प्रमुख राजनीतिक सल्लाहकार भए ।

नम्र मिजास कम भएका कारण एमाले कार्यकर्तामाझ पनि रिमाल उतिसारो लोकप्रिय छैनन्, भनिन्छ । नेतालाई खुशी बनाएकै भरमा राजनीतिको कक्षा उक्लेको आरोप उनीमाथि विगतदेखि नै लाग्ने गरेको हो । हुन पनि पार्टीको आन्तरिक प्रतिस्पर्धा होस् या वाह्य राजनीति उनीसँग चुनाव लडेको अनुभव नभएको एमाले नेता–कार्यकर्ता बताउँछन् ।

एमाले महाधिवेशनमा कर्णाली प्रदेशबाट पदाधिकारीमा एकजना पनि नपरेकोमा त्यहाँका नेता–कार्यकर्ताको गुनासो छ । लुम्बिनीबाट धेरैजना परेकोमा सामाजिक सञ्जालमा खुशी मनाउनेहरु उस्तै छन् । तर, मुलुककै सबैभन्दा ठूलो पार्टीको पदाधिकारीमा दैलो जोडिएका आफ्नै छिमेकीले ठाउँ पाउँदा नुवाकोट चारघरेका रिमालहरु भने उल्का खुशी छैनन् । रिमालको दाजुभाइ खलकका एक जना भन्छन्, ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्, न उनले हामीलाई चिन्छन्, न नुवाकोट आउँछन् । अनि उनी ठूलो नेता बनेर हामीलाई के हुन्छ र !’

नुवाकोट सरोकार समाजका संस्थापक अध्यक्षसमेत रहेका नुवाकोट दरबार नजिकै घर भएका रामलाल श्रेष्ठले चुनावमा नुवाकोटबाट अनुमोदित हुन रिमाललाई सामाजिक सञ्जालमा चुनौती दिएका छन् । ‘जिल्लाबाट पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने व्यक्तिले संघीय र प्रदेश सांसद भइ जनताबाट अनुमोदन हुने चुनौती स्वीकार गर्ने पहिलो दायित्व पाउनुपर्छ’, सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

रिमालले आफ्नै वडामा पनि चुनाव जित्ने ल्याकत नराख्ने दाबी धेरैले गर्ने गरेका छन् । एमालेकै नेताहरु कहिलेकाँही वडाअध्यक्ष जितेर देखाउन रिमाललाई चुनौती दिने गरेको सुनिन्छ । कुनैबेला एमालेको सक्रिय राजनीति गरेका श्रेष्ठले व्यङ्ग्य गर्दै अगाडि लेखेका छन्, ‘पार्टीको केन्द्रीय नेतृत्वमा पुग्न सधैँ मरिमेट्ने तर नुवाकोटका जनताको नेतृत्व गर्ने दायित्वबाट सँधै पन्छिने नुवाकोट जिल्लाबाट निर्वाचित उपमहासचिव र सदस्य सबैलाई बधाई ।’ श्रेष्ठ वृन्दा पाण्डेको नुवाकोटका छिमेकी हुन् ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेलेर केन्द्रीय राजनीतिमा जमेका स्व.पोष्टबहादुर बोगटी, महेन्द्र पाण्डे, अर्जुननरसिंह केसी, रामशरण महत, प्रकाशचन्द्र लोहनीजस्ता नेताहरु नुवाकोटकै हुन् । उनीहरु आ–आफ्ना पार्टीमा केन्द्रीय नेतृत्वमा पुगेर नुवाकोटका जनताबाट अनुमोदन हुन निरन्तर लागिरहने नेता पनि हुन् । यसमा रिमाल भने अपवाद छन् । उनले नुवाकोटबाट अहिलेसम्म कुनै पनि तहको निर्वाचन जितेका छैनन् ।

नुवाकोट सरोकार समाजका अध्यक्षको भनाइ छ, ‘मुद्राको पुजा गर्नेहरु मात्र पुँजीवादी होइनन्, पदको पूजा गर्नेहरु पनि पुँजीवादी हुन् ।’

टिप्पणीहरू