चर्चामा भीम, खासमा सुवास र ईश्वर

चर्चामा भीम, खासमा सुवास र ईश्वर

दशौँ महाधिवेशनबाट निर्विकल्प नेता बन्ने उद्देश्यसाथ चितवन पुगेका एमाले अध्यक्ष केपी ओलीको पार्टीमा सर्वस्वीकार्यता झन् खुम्चिने अवस्था बनेको छ । कोर टिमभित्रको विवाद मिलाउन नसक्दा आफ्नो निर्विकल्प अस्तित्व जोगाइराख्न उनलाई चुनौती बढेको हो ।

उद्घाटन सत्रसम्म पनि ओलीलाई निर्विकल्प नेताकै रूपमा हेरिएको थियो । तर, महाधिवेशन सम्पन्न भइसक्दा उनी एमालेमा निर्विवाद हैनन् भन्ने आमसन्देश गएको छ । चितवन झर्दै गर्दा सर्वसम्मत अध्यक्ष बन्ने र पार्टीमा आफ्नो विकल्पमा अर्को नेता नभएको सन्देश दिने स्वयं ओलीको उद्देश्य थियो । स्थानीय तहका अधिवेशन र प्रतिनिधि छनोटका क्रममा त्यसको पूर्वाभ्यास पनि गरिएकै हो । महाधिवेशनको दुई दिनअघि काठमाडौँमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा पनि ओलीले त्यस्तै संकेत गरेका थिए । उनले घुमाउरो चेतावनी दिँदै आफूसँग प्रतिस्पर्धा गर्नेले सम्भावित परिणामको ख्याल गर्नुपर्ने बताएका थिए ।

मंसिर ९ गते बेलुका नै ठूलो उत्साहसाथ एमाले नेता–कार्यकर्ता चितवन पुगेका थिए । उद्घाटन सत्रका दिन नारायणी तीरमा देखिएको भीडले उनीहरूलाई पुलकित पनि बनायो । त्यही स्पिरिटका साथ शुरु भएको बन्दसत्र भने सुखद रहेन । नेतृत्व चयनको रस्साकस्सीले तीन दिनमा सक्ने भनिएको महाधिवेशन पाँच दिनसम्म लम्बियो । बन्दसत्रको पहिलो दिन नेतृत्व चयनका लागि ओलीलाई सर्वाधिकार सुम्पिएका प्रतिनिधि सौराहा छाड्दा त्यही आत्मविश्वास जोगाएर फर्किने अवस्था बन्न सकेन ।

कतिसम्म भने, ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गर्ने र आफूहरूले ताली बजाएर स्वीकार गर्ने सगौरव बताएकाहरू नै मलिन अनुहार लिएर काठमाडौँ फर्किएका छन् । कुनै समय माधव नेपाल खेमाको खम्बा मानिएका लालबाबु पण्डितजस्ता पुराना नेताले निष्क्रिय बस्नेसम्मको कठोर निर्णय गर्ने ठाउँमा पुग्नुले महाधिवेशनको असफलतातर्फ संकेत गरेको छ ।

पण्डितजस्तै थुप्रै नेता नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्ट छन् । बाहिर आफ्नो असन्तुष्टि सार्वजनिक गर्न नसक्ने ती नेता अनौपचारिक कुराकानीका क्रममा भने नेतृत्व चयन प्रक्रियाप्रति खुशी छैनन्। एमालेले नवौँ महाधिवेशनसम्म नीति र नेतृत्व निर्माण एउटै थलोबाट गर्दै आएकोमा यसपटक नयाँ अभ्यास थालेको थियो । असारमै विधान महाधिवेशन गरेको एमालेमा चितवन महाधिवेशनको मुख्य प्रयोजन नेतृत्व चयन नै थियो । तर, नेतृत्व चयनमा सार्वभौम प्रतिनिधिको अधिकार अध्यक्ष एक जनामा केन्द्रित गरिँदा असन्तुष्टि र निराशा बढेको बिन्दा पाण्डेलगायत नेताहरूका अभिव्यक्तिबाट सहजै अनुमान लगाउन सकिन्छ ।

भीम रावल र घनश्याम भुसालनिकट प्रतिनिधिहरूको विरोधका बाबजुद बन्दसत्र हलले नेतृत्व चयनको एकल अधिकार ओलीलाई दिएको थियो । त्यसयता सिंगै महाधिवेशन सम्पूर्ण रूपमा ओलीमा केन्द्रित हुन पुग्यो । त्यसैको बलमा उनले ३०१ केन्द्रीय सदस्य र पदाधिकारीको नाम घोषणा गरेका थिए ।

झण्डै २२ सय प्रतिनिधिको अधिकार ओलीमा सरेपछि पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई स्वाभाविक रूपमा ओलीलाई रिझाउनुपर्ने बाध्यता आइलाग्यो । तर, ओलीमाथि भने सबैलाई समेट्नुपर्ने दबाब थियो । त्यही दबाबका कारण बन्दसत्र रोकेर विभिन्न पक्षीय छलफलमा जुटेका ओलीले अस्ति आफ्नो टिम घोषणा गरेका थिए । तथापि, उक्त घोषणालाई चुनौती दिँदै भुसाल र रावलसहित केही असन्तुष्ट नेताले उम्मेदवारी मनोनयन गराएपछि चुनावबाटै नेतृत्व छान्नुपर्ने बाध्यता ओलीमाथि आइलाग्यो । स्वयं ओलीलाई भीम रावलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बन्यो ।

को–को असन्तुष्ट ?

२२ सय प्रतिनिधिको अधिकार आफूमा केन्द्रित गरेका अध्यक्ष ओलीलाई आफ्नै कोर टिमका नेताहरूको व्यवस्थापनमा सकस प¥यो । ओली गुटमा ईश्वर पोखरेल र सुवास नेम्वाङका अलग–अलग उपगुट थिए । जुन नेतृत्व चयनको निर्णायक क्षणमा सतहमा प्रकट भयो । वरिष्ठ उपाध्यक्षमा ईश्वर र सुवासको दावेदारीका कारण ओलीलाई निर्णय गर्न सकस परेको थियो । ओली ईश्वरलाई सर्वसम्मत गर्न चाहने, सुवास ईश्वरलाई स्वीकार नगर्ने ।

यता, महासचिवमा पनि दुई नेताको दाबेदारी कायमै थियो । ओलीले भनेपछि महासचिवको दाबेदारी छाडेर उपाध्यक्ष बस्न राजी हुनुभएका विष्णु पौडेलको साथ सुवासलाई थियो । सुवासको टिममा विष्णु पौडेल, पिएस गुरुङ, महेश बस्नेतलगायत १० बुँदे पक्षधर र पूर्वमाओवादी नेता थिए । ईश्वरलाई भने स्वयं अध्यक्ष ओली र महासचिवमा सर्वसम्मत भएका शंकर पोखरेललगायतको साथ थियो । ठूलो पंक्ति सुवासको साथमा हुँदाहुँदै पनि ओलीले ईश्वरलाई च्यापेपछि ओलीको कोर टिम विभाजित हुन पुग्यो ।

‘केपी ओलीको टिम फुट्नु नै महाधिवेशन लम्बिनुको मूल कारण हो । सतहमा भीम रावलका कारण चुनावको अवस्था आएको देखिए पनि सारतः ओली गुटका दुई नेता ईश्वर पोखरेल र सुवास नेम्वाङको लडाइँले नै नेतृत्व चयनका लागि चुनाव गर्नुपर्ने अवस्था बनेको हो’, सौराहाबाट फर्किएका एक नेताले भनेका छन् । अहिले बाहिर प्रकट हुन नसके पनि यो असन्तुष्टि सुवास र विष्णुमा मात्र सीमित छैन । यसैका कारण हिजो ‘आई लभ यू केपी बा’ भन्ने तल्लो तहका युवासमेत विभक्त भएको दाबी गरिएको छ ।

यद्यपि, अहिले नै उनीहरू आफ्ना असन्तुष्टि बाहिर ल्याउन भने चाहँदैनन् । बाहिर बोल्दा अहिले पनि उनीहरू ‘ओली नै महान् नेता हुन्’ भनिरहेका छन् । महाधिवेशनमा सहभागी भएर काठमाडौँ फर्किएका एक नेताका अनुसार प्रतिनिधिहरूको मनोविज्ञान हेर्दा ईश्वर र सुवासबीच चुनाव भएको भए सुवासले जित्ने अवस्था थियो । त्यस्तै, विष्णु र शंकरबीच खुला प्रतिस्पर्धा हुँदा विष्णुले बाजी मार्ने धेरैले अड्कल लगाएका थिए । पोखरेलबन्धुलाई छाड्न नचाहेका ओलीले यही बुझेर चुनाव नगराउन जोडबल गरेको ती नेताको दाबी छ ।

उम्मेदवारी दर्ता गराउने तयारीमा रहेका सुवास ओलीको घुमाउरो निर्देशनपछि ब्याक भएका हुन् । ‘सुवासले उम्मेदवारी दर्ता नगर्नुको कारणचाहिँ ओलीको निर्देशन हो । ओलीले आदेश दिएपछि हलले ताली पिट्ने, तलको मनोविज्ञान नै त्यस्तो छ भने चुनाव लड्नुको अर्थ हुँदैन भन्ने लागेर उनी पछि हटेका हुन्’, ती नेता भन्छन्, ‘नत्र त्यही दिन साँझसम्म पनि उनले ईश्वरलाई नेता नमान्ने चेतावनी दिएका थिए र ओलीसँगको छलफल छाडी भीम रावलसँगै दिनभर बन्दसत्र हुने ठाउँमा गएर बसिदिए।’ ओलीले घोषणा गरेको नामावलीप्रति असन्तुष्ट हुने अधिकांश उनकै गुटका छन् ।

१० बुँदे पक्षधर जो–जो असन्तुष्ट थिए, उनीहरूले उम्मेदवारी दर्ता गरे । तर, ओली गुटकाले न आफ्ना असन्तुष्टि भन्न सके न वैधानिक रूपमा प्रकट गरे । अर्थात् असन्तुष्ट हुँदाहुँदै पनि उम्मेदवारी नदिएर उनीहरूले तत्कालका लागि आफूलाई रिजर्भ राखे । बताइएअनुसार उपमहासचिवको आकांक्षा राखेकी बिन्दा पाण्डे, सचिवका दावेदार भनिएका यमलाल कँडेल, विशाल भट्टराई र केन्द्रीय सदस्यका दावेदार कृष्णभक्त पोखरेललगायत नेता बढी असन्तुष्ट छन् । त्यस्तै, महेश बस्नेतहरू पनि त्यति खुशी नरहेको उनीहरूका अभिव्यक्तिबाट बुझ्न सकिन्छ । ओली रिसोर्टमा बसेर गृहकार्य गर्दै गर्दा बस्नेतले ‘आई लभ यु केपी बा’ भन्नेहरू पनि पदाधिकारीमा समेटिनुपर्ने बताएका थिए । तर, उनी ओलीको रोजाइमा परेनन् ।

बिन्दा पाण्डेले त ओलीले आफू अनुकूलको टिम बनाएको र त्यसमा आफू नपरेकोमा चिन्ता नभएको कूटनीतिक प्रतिक्रिया दिएकी छन् । विशाल भट्टराईहरू बाहिर खुशी भएको अभिनय गर्ने प्रयास गरे पनि भित्र भने उनीहरूले पनि चित्त दुखाएको बताइन्छ । ओलीले भने असन्तुष्टहरूलाई आगामी चुनावमा टिकटको आश्वासन दिएको बताइन्छ । ‘स्थानीय, प्रदेश र केन्द्रको टिकटको आश्वासन दिइएको बुझिन्छ’, एक नेता भन्छन्, ‘तर, धेरैले केपी ओलीले भनेको कार्यान्वयन हुँदैन भन्ने आशयका अभिव्यक्ति दिएको सुनिन्छ ।’

टिप्पणीहरू