नयाँ दिल्लीका विद्यालय अनिश्चितकालीन बन्द, अन्तर्राष्ट्रिय उडान रोक्ने तयारी

नयाँ दिल्लीका विद्यालय अनिश्चितकालीन बन्द, अन्तर्राष्ट्रिय उडान रोक्ने तयारी

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । कोभिड संक्रमण बढेपछि दिल्लीका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

बालबालिकाका लागि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नु जोखिमपूर्ण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय लिइएको बताइको छ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलने सम्भावनालाई ध्यानमा राखेर त्यहाँका विद्यालयहरु भोलिदेखि बन्द हुन लागेका हुन् ।

त्यसैगरी भारतले डिसेम्बरको मध्यदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णयलाई स्थगित गरेको छ । कोरोनाको नयाँ भेरिएन्टका कारण भारतको उडान सुचारु गर्ने अघिल्लो निर्णय थप अन्योलमा परेको छ ।

भारत सरकारले १५ डिसेम्बरबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने बताएको थियो । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले अर्को आदेश नभएसम्मको लागि यसअघि उडान थाल्ने भनिएको निर्णय स्थगित गरेको बताएको छ ।

महानिर्देशनालयले नयाँ भेरियन्ट पत्ता लागेपछि हाललाई अन्तर्राष्ट्रिय उडान स्थगित गर्नुपरेको जनाएको हो । ‘आगामी दिनमा उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ परिपत्रमा भनिएको छ ।

हाल काठमाडौं र नयाँ दिल्लीबीच एअर बबल प्रणालीअन्तर्गत दैनिक दुई उडान हुँदै आएको छ ।

टिप्पणीहरू