झापा आन्दोलनका सबैलाई खै कुन्नि, किन झिकियो

झापा आन्दोलनका सबैलाई खै कुन्नि, किन झिकियो

-नरेश खरेल

नेकपा (एमाले) को दशौँ महाधिवेशन हिजो मंगलबार चितवनको सौराहामा सम्पन्न भएको छ । यो महाधिवेशनले कम्युनिष्ट संस्कृतिका मान्यतालाई कति पक्डियो, कति छोड्यो र कसरी नेतृत्व निर्माण ग¥यो भन्ने कुरा स्मरणीय छ ।

इतिहास, आवश्यकता, भूमिका र कार्यक्षमताका आधारमा विभिन्न व्यक्तिहरू विभिन्न पदमा रहन्छन् । उदाहरणका लागि ७० वर्षको मान्छे जिल्ला कमिटीमै रहेको हुनसक्छ, तर ३५ वर्षको मान्छे केन्द्रीय कमिटीमा पुग्न पनि सक्छ । यस्ता कुरालाई व्यवस्थापनका निम्ति पार्टीका विधि, विधान र मान्यताहरूले निर्देशित गरेको हुन्छ ।

केन्द्रीय सदस्यको संख्या कति राख्ने ? कुन योग्यताको व्यक्ति केन्द्रमा पुग्ने ? कुन तह, जाति, वर्ग, समुदायका व्यक्तिहरूलाई कति–कति संख्याका दरले कमिटीमा व्यवस्थापन गर्ने ? यी कुराहरू व्यक्तिको चयनपूर्व अध्ययन गरिन्छ । त्यही प्रयोजनका लागि पार्टीले असोजमा गोदावरी विधान सम्मेलनबाट आयोजना केही विधि निर्धारित ग¥यो । हामीले विश्वास ग¥यौँ, अब विधिकै अधीनमा नेतृत्व बन्छ ।

गोदावरी सम्मेलनमा उठेको महŒवपूर्ण विषय हो, महाधिवेशनबाट पार्टीलाई सर्वसम्मत नेतृत्व दिने, २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्ने । त्यसो गरिँदा केन्द्रीय कमिटीमा रहेका १५–१६ महिलासहित थुप्रै कमरेडले बिदा हुनुपर्छ । यतिबेला हामी पार्टी विभाजनको अवस्थाका कारण संकटमा छौँ ।

यो संकटमा व्यक्तिहरूको व्यवस्थापन महत्वपूर्ण हुन्छ । यसकारण कमिटीको संख्याका नाममा खुम्चिएर नबसौँ भन्दै अध्यक्ष क.केपी ओलीले संख्या थप्ने विषय उठाउनुभएपछि हामीले मान्यौँ, यसरी ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बन्नेभयो ।

यिनै पृष्ठभूमि र परिस्थितिबीच अध्यक्षले ११ गते राति केन्द्रीय सदस्यहरूको एउटा सूची पेश गर्नुभयो । हामीलाई लागेको थियो, नेतृत्वलाई सर्वसम्मत विधिबाट चयन गर्ने हो भने कम्तिमा सरसल्लाह हुन्छ । पर्ने र पर्न नसक्ने साथीहरूसँग सोधिन्छ, खोजिन्छ । तर, यस्तो केही भएन । एकाएक बन्दसत्रको हलभित्र अध्यक्षले नाम पढ्नुभयो ।

हामीले गोदावरी विधान सम्मेलनबाट पारित गरेको नीति थियो, केन्द्रीय सदस्यका हकमा पुरुष भए कम्तिमा १० वर्ष र महिला भए कम्तिमा ७ वर्ष संगठित सदस्य भएको हुनुपर्ने । तर, त्यहाँ २०७४ सालको निर्वाचनअघि राप्रपा परित्याग गरेर आउनुभएकी कोमल वलीको नाम वाचन गरियो । योग्यता पुग्गेका, आवश्यकता र उपयोगिता बाँकी रहेका अरु थुप्रै कमरेडको नामै सुनिएन ।

केन्द्रीय सदस्यभित्र म स्वयं अटाइनँ । म २०२८ को झापा विद्रोहबाट यो आन्दोलनमा जोडिएको व्यक्ति । अध्यक्ष कमरेडभन्दा केही वर्ष बढी जेल बिताएको र नख्खु जेलब्रेकको एउटा पात्र हुँ । यसो भनेर म केन्द्रीय कमिटीमा रहनैपर्छ भन्ने होइन । मजस्ता थुप्रै साथीहरू केन्द्रीय कमिटीभन्दा बाहिर हुनुहुन्छ । सबै जना सधैं कमिटीमा नपर्न सकिन्छ ।

तर नेतृत्वले भन्नुपर्छ, यति–यति कारणले तपाईं नपर्ने हुनुभयो । मनासिव कारण भनिएको भए मैले मान्नुपथ्र्यो, नमान्दा मसँग असहमति राख्ने अधिकार हुन्छ । तर, न सोधखोज, न सरसल्लाह, न त कुनै संकेत नै † व्यक्तिलाई मन परे मापदण्ड मिचेर केन्द्रीय सदस्य बनाइएको छ, व्यक्तिलाई मन नपरे कसैको इतिहास, भूमिका र योगदानसँग खेलबाड गरेर जतिबेला पनि अपमानित गर्ने काम भएको छ ।

हो, पार्टी विभाजनपूर्व, मेरी श्रीमती पवित्रा निरौला खरेलसहित हामी माधव नेपाल समूहसँग नजिक थियौँ । क.केपी ओलीका कार्यशैलीसँग हाम्रो अहसमति थियो । तर, जब माधव कमरेडहरू पार्टी विभाजनको तहमा जाने हुनुभयो, हामीले त्यसो नगरौँ भन्यौँ । उहाँहरूले मान्नुभएन । फलस्वरुप झापाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रहनुभएकी पवित्रा र म माधव कमरेडहरूको साथ रहेनौँ ।

हामीजस्ता अरु थुप्रै साथीले पार्टी विभाजनलाई स्वीकारेनौँ, एमालेमै रह्यौँ । हामी दुबै र हामीजस्ता अरु साथीहरू पनि पार्टीको केन्द्रीय कमिटीमा थियौँ । यसचोटि सर्वसम्मत केन्द्रीय कमिटी निर्माण गर्दा भइरहेका केन्द्रीय कमरेडहरू त्यसमा छुट्नु हुँदैन भन्ने मान्यताका साथ २ सय २५ सदस्यीय कमिटीलाई बढाएर ३ सय १ बनाइएको थियो ।

तर, हामी छुट्यौँ । किन छुट्यौँ ? हाम्रो अयोग्यता के थियो ? हिजो किन केन्द्रीय कमिटीमा राखियो र आज किन हटाइयो ? यी विषयमा न कतै छलफल भयो, न त प्रश्न गर्ने ठाउँ नै छ । महाधिवेशन प्रतिनिधिले प्रश्न उठाउने ठाउँ बन्दसत्र हो । तर, नेतृत्व चयनमा सूची वाचनको शैली अपनाइएपछि सवाल–जवाफको चरण अन्त्य भयो ।

‘सर्वसम्मत’ का नाममा भएको अन्यायलाई अस्वीकार गर्नुभएका साथीहरूले विद्रोह गर्दै उम्मेदवारी दर्ता गर्नुभयो । उहाँहरूलाई धेरै अपमान गरियो । अपमान सहेर पनि जनवादी अभ्यासमा पराजित हुने अधिकार सुरक्षित राख्दै साथीहरू निर्वाचनमा जानुभयो, हार्नुभयो । त्यो जित र हार थिएन, विद्रोह थियो । त्यसमा म र मजस्ता अरु थुप्रै साथीको समर्थन रह्यो ।

झापा आन्दोलनका थुप्रै साथीहरू अहिले पनि जीवित हुनुहुन्छ । मनकुमार गौतम, मोहनचन्द्र अधिकारी, सीपी मैनाली, आरके मैनाली, सीता खड्का, घनेन्द्र बस्नेत, गौरा प्रसाईं, नारद वाग्ले, मानकुमार तामाङ, सानो र ठूलो दुर्गा अधिकारी, कृष्ण सेढाईं, दधिराम उप्रेती हुनुहुन्छ । यसमध्ये कतिपय कमरेडहरू विभिन्न कम्युनिष्ट घटकमा आवद्ध हुनुहुन्छ ।

कम्तिमा झापा आन्दोलनदेखि आजसम्म साथमा रहेका साथीहरूसँग केपीले एक बचन सोध्नुपथ्र्यो । उहाँलाई केन्द्रीय कमिटीमा नराख्ने मन थियो भने पनि राख्दिनँ भन्नुपथ्र्यो । तर, अपमानबोध हुने गरी हामी र हामीजस्ता अरु थुप्रै साथीहरू केन्द्रीय कमिटीबाट बाहिरिएका छौँ ।

यो कम्युनिष्ट पार्टीको अभ्यासभन्दा निकै परको परिस्थिति हो । जनवादको न्युनता र केन्द्रीयताको अधिकता यसमा प्रष्टसँग देखिएको छ । पार्टीमा देखिने गरी व्यक्तिवाद हावी भएको छ ।

टिप्पणीहरू