चीनमा पढेका डाक्टरको ठिमीमा धर्ना

चीनमा पढेका डाक्टरको ठिमीमा धर्ना

चीनमा एमबीबीएस अध्ययन गरेका विधार्थीहरुले नेपालमा इन्टर्नशीप पाउनुपर्ने माग राख्दै आज चिकित्सा शिक्षा आयोग, ठिमीमा धर्ना दिएका छन् । एमबीबीएस गरेको छ वर्ष पूरा भइसक्दा पनि इन्टर्नशीप गर्न नपाएको भन्दै उनीहरुले केही दिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन् ।

एमबीबीएस गरेका विद्यार्थीलाई पुन डेढ वर्षको कोष किन ? भन्दै उनीहरुले इन्टर्नशीप समितिका संयोजक प्रा.डा दिलिप शर्मालाई प्रश्नसमेत गरेका छन् । आयोगको उक्त निर्णयले चिकित्सा क्षेत्रका विद्यार्थी मारमा परेको बताउन थालिएको छ ।

यता, कर्जा लिएर, घरजग्गा बेचेर चिकित्साशास्त्र अध्ययन गरेका विद्यार्थीहरुले भने निजी मेडिकल कलेजको थप शुल्क तिर्न नसक्ने गुनासो गरेका छन् । सरकारको यो निर्णयले आफ्नो भविष्यमाथि खेलबाड गरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

उता नेपाल मेडिकल काउन्सिलले भने अनलाइन माध्यमबाट पढेका विद्यार्थीहरुले पुनः नेपालकै मेडिकल कलेजमा थप एक वर्ष अध्ययन गरेपछि मात्रै इन्टर्नशीप गर्न पाउने व्यवस्था गरिएको बताएको छ ।

यसरी पहिले अनलाइनमार्फत् पढेका विद्यार्थीलाई इन्टर्नशीप दिने निर्णय गरेको काउन्सिलले एक वर्षपछि निर्णय फेर्दै विद्यार्थीहरुको समय र भविष्य अन्यौल पारेको उनीहरुको ठहर छ । काउन्सिलले यो निर्णय फिर्ता नलिएसम्म लगातार धर्ना दिइरहने उनीहरुले बताएका छन् ।

टिप्पणीहरू