गुरुहरुलाई स्थायी गराउन खोज्दा विद्यार्थीहरु भड्किए

गुरुहरुलाई स्थायी गराउन खोज्दा विद्यार्थीहरु भड्किए

त्रिभुवन विश्वविद्यालयमा पछिल्लो १० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई स्थायी गर्ने विश्वविद्यालय सभाको निर्णयप्रति छ वटा विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्थायी हुने अवसरबाट अरुलाई वञ्चित गराउन नपाइने उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गत मंगलबार बसेको त्रिभुवन विश्वविद्यालय सभा बैठकले १० वर्षदेखि करारमा रहेका शिक्षकलाई स्वतः स्थायी गर्ने निर्णयप्रति विद्यार्थी संगठनले असहमति जनाएक हुन् । उनीहरुले मुलुकमा असंख्य क्षमतावान र प्रविधिमैत्री दक्षजनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन गर्न नपाइने उनीहरुको माग छ ।त्रिभुवन विश्वविद्यालय नियमन सेवा आयोगको विधानलाई पाखा लगाउँदै विश्वविद्यालय र राज्यलाई झण्डै १ अर्ब ५ करोड रुपैयाँ बढी व्ययभार पर्नेगरि गरिएको निर्णय खारेज गर्न पनि विद्यार्थी नेताहरुले जोडदार माग गरेका छन् । हालैको निर्णय खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था लागू गर्नुपर्ने भन्दै उनीहरूले त्यसो नगरे कडा संघर्ष गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

संयुक्त विज्ञप्तिमा माओवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुकी महासचिव आरती लामा, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले प्रतिस्पर्धाबाट डराएर बिना प्रतिस्पर्धा नै त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र कर्मचारी बन्न पाउनु पर्ने माग आफैँमा अप्राकृतिक, अनैतिक, अशोभनीय र हास्यास्पद भएको आरोप लगाएका छन् ।

टिप्पणीहरू