पर्यटक आगमनमा मुस्ताङले रोक लगायो

पर्यटक आगमनमा मुस्ताङले रोक लगायो

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन रोक्न हिमालपारीको जिल्ला मुस्ताङले पर्यटक प्रवेशमा रोक लगाएको छ । खोपको पूर्ण मात्रा नलगाएका पर्यटकलाई प्रवेशमा रोक लगाइएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय, मुस्ताङले पीसीआर रिपोर्ट नेगेटिभ आएका र पूर्णखोप लगाएकालाई मात्र प्रवेश दिन थालेको बताएको छ ।

अधिकांश पर्यटक घुमफिरका लागि मुस्ताङ जाने गरेकाले स्थानीयलाई सुरक्षित बनाउन पूर्णखोप र पीसीआर रिपोर्टलाई अनिवार्य गरिएको हो । विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि नेपालमा मुस्ताङ जिल्लाले सबैभन्दा पहिले कडाइ गरेको हो ।

अब मुस्ताङ जाने पर्यटकले सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट बोक्नुपर्ने भएको छ ।

मुस्ताङका स्थायी बासिन्दा तथा पूर्णखोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने उक्त शर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

यो व्यवस्था गए राति १२ बजेदेखि मंसिर मसान्तको मध्यरातसम्म लागू गरिएको छ ।

टिप्पणीहरू