इच्छाराजको समूह हिरासतमा, अरबौं डुबाएका पीडित सडकमा

इच्छाराजको समूह हिरासतमा, अरबौं डुबाएका पीडित सडकमा

सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारीका पीडितहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । सिभिल बैंकका पूर्वअध्यक्ष तथा सिभिल होम्सलगायत कम्पनीका मालिक इच्छाराज तामाङको समूहले आफ्नो निक्षेप रकम दुरुपयोग गरेको भन्दै उनीहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।

पीडितहरुले २ हजार निक्षेपकर्तामध्ये १४ सय ९९ जनाको झण्डै साढे आठ अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै सहकारीका पूर्वअध्यक्ष तथा सल्लाहकार इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलगायतका मतियारहरुबाट रकम उठाई फिर्ता गर्न आज माग गरेका छन् ।

उनीहरुले तामाङले दुई वटी छोरीलाई लण्डन र बैंककमा राखेर लुटिएको धन व्यवस्थापन गरेको आरोप लगाएका छन् । श्रीमती शाक्य रहस्यमय तरिकाले फरार भएकोमा पनि पीडितहरुले आश्चर्य व्यक्त गरेका छन् । शाक्य सहकारीका अध्यक्ष श्रेष्ठकी भाञ्जी हुन् ।

तामाङसहित १२ जना अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा भए पनि श्रीमती शाक्य र थप २४ जना फरार रहेको उनीहरुले बताएका छन् । अधिकांश सेवा निवृत्त वृद्ध कर्मचारी, पेशाकर्मीको रकम महँगो ब्याजको प्रलोभनमा लुटिएको उनीहरुले जानकारी गराएका हुन् ।

आजको प्रदर्शनमा सहभागी एक जना वृद्धले भने, ‘अहिले थुनामा रहेका र फरार सबैको आर्थिक हैसियत हेरे पुग्छ । रातरात हाम्रो पैसा लुटेर जग्गा प्लटिङ, गिटी क्रसरको ब्यापार, सेयर लगानी गरियो । ती सबैको बैंक मौज्दात, जायजेथा र सरकारलाई बुझाइएको करको हिसाब हेरियो भने आम्दानीको वास्तविकता खुल्छ ।’

कतिपय बचतकर्ताको यसबीचमा मृत्युसमेत भएकाले आज उनीहरुले मृतक बचतकर्ताको फोटोमा माल्यार्पण समेत गरेका छन् । तामाङ समूहले हिनामिना गरेको आफ्नो निक्षेप रकमको आश गर्दैमा उनीहरुको निधन भएको सहभागीहरुले बताए । यसबीचमा १२ जना निक्षेपकर्ताकाे निधन भइसकेकाे छ ।

 

टिप्पणीहरू