नागरिकको बाँच्न पाउने अधिकारमाथि सँधै खेलबाड

नागरिकको बाँच्न पाउने अधिकारमाथि सँधै खेलबाड

झण्डै दुई वर्षदेखि विश्व नै कोरोनाको त्रासमा बाँचेको छ । हरेक मुलुकले कोरोनाको नयाँ भेरियन्टबाट आफ्ना नागरिक बचाउन जानेसम्मका र भ्याएसम्मका रणनीति अपनाएका छन् । कोरोनाको जोखिम झन् बढ्न थालेकाले अन्य देशका सरकारले अत्यावश्यक काममा बाहेक मुलुक बाहिर नजान नागरिकलाई आग्रह गरिरहेको छ ।

तर, हाम्रो जस्तो खुल्ला सिमाना भएको देशमा कोरोनालाई सामान्य रुघाखोकी मान्न थालिएको छ । ठूलाबडादेखि सर्वसाधारण सबै मनमौजी र निस्फिक्री ढंगले हिँडेका छन् । जतातै भीडभाड र कोलाहल देखिन्छ । शहर बजारदेखि सडक छेउमा समेत मानिसलाई चर्को भीड छिचोल्न हम्मेहम्मे पर्न थालेको छ ।

मुखमा मास्क,हातमा स्यानिटाइजर र भौतिक दूरीको पालना एकादेशको कथा बन्न थालेको छ । यसको गतिलो उदाहरण कालिमाटी फलफूल तथा तरकारी बजार र अन्य थोक बजारलाई समेत लिन सकिन्छ । तरकारी बजारभित्र मानिसहरुको दोहोरो भीड बिहान झिसमिसेदेखि साँझ अबेरसम्म हुने गरेको छ ।

यो अवस्था बसपार्क, भित्री शहरका बजार, सडकपेटी सर्वत्र देखिन थालेको छ । छिमेकी मुलुकबाट आयात गरिएका तरकारी र फलफूलको परीक्षण हुने गर्दैन । त्यस्ता सामान ढुवानीमा संलग्न जनशक्तिको समेत कोरोना परीक्षण हुने गरेको छैन । यसतर्फ न स्वास्थ्य, न गृह मन्त्रालय कसैलाई वास्ता देखिँदैन ।

स्वास्थ्य मापदण्डको पालनाको निम्ति सार्वजनिक खपतको रुपमा जारी गरिने सूचना र विवरण बाहेक त्यसको कडा कार्यान्वयनको पक्षमा कसैले ध्यान दिएको पाईंदैन । सर्वसाधारण समेत त्यसतर्फ जागरुक हुनुपर्नेमा त्यस्तो काम सरकारको मात्रै रहेको भन्ने आशयले फुक्काफाल हुन थालेका छन् ।

यसबीचमा ठूला राजनीतिक दलहरुले महाधिवेशन सम्पन्न गर्न थालेका छन् । अस्ति सकिएको एमालेको महाधिवेशनमा उपस्थित हजारौंले स्वास्थ्य मापदण्ड पालना गरेको देखिएन । हिजोदेखि राजधानीमा राप्रपाको त्यस्तै महाधिवेशन प्रारम्भ भएको छ । त्यहाँ पनि सहभागी अधिकांशको शरिर छोपिए पनि मुख नाङ्गै देखिन्छ ।

त्यसरी मुखमा मास्क नझुण्ड्याउनेमा विशेषगरी पार्टीका शीर्ष नेताहरु नै अग्रभागमा बसेका हुन्छन् । उनैको देखासिकी गरेर कार्यकर्ताले समेत मास्क फाल्न थालेको बताइन्छ । त्यही दृश्य देखेका सर्वसाधारणले समेत कोरोनाप्रतिको सजगतालाई तिलाञ्जली दिएको हुनसक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

कोरोनाको दुई वटा लहर झेलिसकेको हाम्रो मुलुकका जिम्मेवार अधिकारीहरुको अझै पनि चेत खुलेको देखिँदैन । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा ठूलो बुद्धिमानी र किफायती हुने पक्षलाई कसैले ध्यान दिएको छैन । विगतमा देखिएको अक्सिजन र बेडको हाहाकारलाई छ महिना नपुग्दै सबैले बिर्सेका छन् ।

त्यहि अवस्था भोलि नआउला भन्न सकिँदैन । तर, आगलागी भइसकेपछि कुवा खन्ने कि कुवा खनेर सँधैको निम्ति ठिक्क पर्ने ? भन्ने विषयमा नीति निर्माताहरुले बेलैमा ध्यान पुर्याउनुपर्ने भएको छ । अन्यथा, नागरिकको बाँच्न पाउने अधिकारमाथि खेलबाड गरेको ठहरिने छ । महामारीमा एक जनाको लापरबाहीले सबैलाई सिध्याउन सक्छ, तर एक्लो प्रयासले मात्रै महामारीलाई निप्ट्याउन गाह्रो छ ।

टिप्पणीहरू