जनआस्थामाथि जाइलाग्ने शेष घलेका ‘नक्कली भाइ’ पराजित

जनआस्थामाथि जाइलाग्ने शेष घलेका ‘नक्कली भाइ’ पराजित

चिनियाँलगायतका विदेशी र दर्जनौं नेपालीलाई ठगेर अहिले झ्यालखानाको चिसो छिँडीमा बसेका गमबहादुर लामिछाने (विक) ले जनआस्थाविरुध्द उच्च अदालत पाटनमा हालेको अवहेलना तथा गाली बेइज्जती मुद्दाको फैसला भएको छ । गमबहादुरले धेरैलाई लुटेको,ठगेको र नक्कली कागजात पेश गरेर ‘काम तमाम’ गरेको समाचार जनआस्था साप्ताहिक र जनआस्था अनलाइनले प्रकाशित गरेपछि बिकले गत बैशाख १८ गते मुद्दा दायर गरेका थिए ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र कुलप्रसाद शर्माको इजलासले हिजो जनआस्थाले प्रकाशित गरेको समाचारकै आधारमा निजको अवहेलना वा गालीबेइज्जती नभएको ठहरसहित मुद्दालाई तामेलीमा राख्न आदेश गरेको हो । अदालतको आदेशमा वादी गमबहादुरले विदेशीको घरबार र कम्पनीकै उठिबास लाग्ने गरी ठगेर जेल गएको प्रमाणित भएकोले जनआस्थाको समाचार स्वत: पुष्टि हुन आएको सन्दर्भसहित गमबहादुरको मागदाबी नपुग्ने टुंगो लगाएको हो ।

सम्पत्ति शुध्दिकरण अनुसन्धान बिभागले समेत अस्वाभाविक सम्पत्ति संकलनको कैफियत भेटिएपछि उच्च अदालतको अनुमतिमा डिल्लीबजार जेलबाट तानेर अकुत आर्जनको श्रोत खोज्दै वयान लिइसकेको अर्थ मन्त्रालयसम्बध्द श्रोत बताउँछ ।

जनआस्था अनलाइनको तर्फबाट अदालतमा बहस गर्नुभएका कानुन व्यवसायी पुष्प पौडेलका अनुसार, ‘अवहेलना वा गाली बेइज्जती भएको मान्न इजलास सहमत भएन र गमबहादुरको मागदाबीबमोजिम अनलाइनलाई कुनै पनि कारबाही गर्न नपर्ने भन्दै मुद्दा पेण्डिङमा जाने फैसला भएको छ ।’ उनै कानुन व्यवसायी पौडेलले यसअघि रौतहटमा काँग्रेस नेता तथा सांसद मोहम्मद आफ्ताब आलमले जिउँदै मान्छेलाई ईंटा भट्टामा जलाएको विषय उठाई दोषीलाई जेल जाने अवस्थामा पुर्याएर पीडितलाई राहत दिलाउनुभएको थियो । पूर्वमन्त्री आलम अहिले नख्खू जेलमा सजायँ भोग्दैछन् ।लमजुङ घनपोखरा घर भएकै नातामा बिक थर बदलेर उनले आफूलाई डलर अर्बपति शेष घलेको भाइ भनी दुनियाँ ठग्दै हिँडेका थिए । उनको नागरिकताको नाम गमबहादुर लामिछाने हो । दशौं करोड ठगीमा संलग्न उनको सँधै डेराको बास थियो । चिनियाँ नागरिकलाई ठगे पनि उनको दैनिकी स्कुटीमा सवारी हुन्थ्यो । तर ठाउँ ठाउँमा श्रीमती राखेका थिए भने खाडीबाट केही वर्ष अघि अलिकति पैसा कमाएर फर्केका थिए ।

उनै लामिछानेलाई यसअघि गत कात्तिक १५ गते जिल्ला अदालत काठमाडौंले एउटा ठगी मुद्दाअन्तर्गत साढे ३ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल पठाएको छ भने पाँच करोड चेक बाउन्सको अर्को मुद्दा पनि छ ।उनले एक जना चिनियाँ व्यवसायीको व्यवसाय र निवास नै किर्ते गरी कब्जा गरेका छन् ।त्यो घर सिभिल बैंकमा धरौटी राखी २ करोड निकालेर खाइ पनि सकेका छन् । ती चिनियाँ व्यवसायीलाई उनले साढे ११ करोड रुपैयाँ ठगेको लिखित, मौखिक प्रमाणका ढड्डा विभिन्न अदालतमा पेश गरिएका छन् ।

चिनियाँ नागरिक चाङ चिनसियाङको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी गमबहादुर लामिछाने भएको मुद्दामा ११ करोड ५० लाख रुपैयाँ ठगीको अभियोग लगाइएको छ । ठग लामिछानेको खातामा रकम जम्मा गर्ने,उनीसँग कारोबार गर्नेहरुलाई समेत उपस्थित गराएर यसअघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको छ ।

बयानको क्रममा उनीहरु सबैले गमबहादुरले धेरैलाई ठगेको लिखित बयान दिएका छन् । सबैको बहस, साक्षीहरुको लिखित बयान र प्रमाणको आधारमा अदालतले साढे ३ करोड रुपैयाँ धरौटी मागे पनि तिर्न नसकेपछि गमबहादुर गम खाँदै जेलमै कोचिएका हुन् ।

काठमाडौं जिल्ला अदालतको गत कात्तिकको आदेशमा भनिएको छ, ‘अपराधिक विश्वासघातसम्बन्धी कसुर मुद्दामा प्रतिवादी गमबहादुर लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम ३ करोड ५० लाख रुपैयाँ धरौट माग गर्नुका साथै उक्त धरौट दिन नसके ऐ. संहिताको दफा ६८ (२) बमोजिम थुनुवा पुर्जी दिई कानुनबमोजिमको सिदा खान पाउनेगरी मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएकोमा उक्त धरौट बुझाउन नसक्ने भनी निज प्रतिवादी गमबहादुर लामिछानेले कागज समेत गरी दिएको हुँदा निजलाई कानुनबमोजिमको सिदा खान पाउने गरी कारागार कार्यालयमा थुनामा राख्न पठाइएको छ ।’

ठगी मुद्दामा यति धेरै रकमको बिगो जिल्ला अदालतबाट आदेश भएको सम्भवतः पहिलो पटक भएको त्यतिबेला कानुन व्यवसायीहरुले बताएका थिए । गमबहादुरको ठगीप्रति न्यायालय विश्वस्त भएको अवस्थामा र ठगको उद्देश्य गम्भीर प्रकृतिको देखिएमा मात्र यति ठूलो रकमको धरौटी रकम माग गर्ने प्रचलन रहेको उनीहरुले बताएका थिए ।

धेरैलाई ठगेर पैसा नभएको बैंक खाताको चेक भिडाउँदै आएका उनीविरुध्द अरु थुप्रै मुद्दा उच्च अदालत पाटनमा समेत विचाराधीन छ । कीर्ते कागजातबाट ठग्दै आएका उनले चिनियाँको लगानीमा खुलेको उद्योग र चिनियाँले खरिद गरेको घर समेत आफ्नो नाममा बनाएका छन् । यससम्बन्धमा परेको लामिछानेविरुद्धको अर्को मुद्दा पनि उच्च अदालत पाटनमा विचाराधीन छ । सम्पत्ति शुध्दिकरण अनुसन्धान बिभागले समेत अस्वाभाविक सम्पत्ति संकलनको कैफियत भेटिएपछि उच्च अदालतको अनुमतिमा डिल्लीबजार जेलबाट तानेर अकुत आर्जनको श्रोत खोज्दै वयान लिइसकेको अर्थ मन्त्रालयसम्बध्द श्रोत बताउँछ ।

टिप्पणीहरू