दलित महिलामाथिको अत्याचारले सीमा नाघ्यो

दलित महिलामाथिको अत्याचारले सीमा नाघ्यो

-पूजा लम्साल

दुहबी नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय नजिकै ७० वर्षीया वृद्धा लक्ष्मी परियार छोरी आरतीसँग सुकुम्बासी जमिनमा बनाएको सानो घरमा बस्छिन् । एकल महिला र आम्दानीको स्रोत नहुँदा सरकारले दिने वृद्धभत्ताबाट उनको गुजारा चल्ने गरेको छ ।

दुःखजिलो गरेर आफ्नो जीवन धान्दै आएका यी आमाछोरीले सहिनसक्नु जातीय विभेदको पीडा मात्र भोग्नुपरेको छैन, कथित उपल्लो जातका पुरुषबाट यौनशोषणको शिकारसमेत हुनुपरेको छ ।

पीडित, आफन्त र छिमेकीहरुका अनुसार केही दिनदेखि छिमेकी नारायण कार्कीले मादक पदार्थ सेवन गरेर घरमै पुगेर आरतीमाथि यौनशोषण गर्ने गरेका छन् । कार्की अवकाश प्राप्त प्रहरी पनि हुन् । त्यसैको धाकधम्की देखाएर उनले पटक–पटक जबर्जस्तीको प्रयास गरेको पीडित महिलाको गुनासो छ ।

पीडितहरुका अनुसार आफूले सुकुम्बासी जमिनमा बसोबास गर्ने व्यवस्था मिलाएकाले भनेको नमाने उठिबास लगाउने धम्की कार्कीले दिने गरेका छन् । प्रायः रक्सी खाएर बर्बराउँदै हिँड्ने नारायणले गत कात्तिक २२ गते अपरान्ह नशाकै शुरमा आरतीलाई यौन शोषणको नियतले अभद्र व्यवहार गर्न खोजेपछि उनले चप्पल उचालेर चेतावनी दिँदै लखेटेकी थिइन् ।

उक्त घटनापछि आरतीकी आमा र दिदी गीताले बाबुलाई सम्हालेर राख्नु भन्दै नारायणका छोराहरुलाई फोनमार्फत् सम्झाएका थिए । तर दलित महिलालाई छेडखानी गर्न खोज्दा चप्पल उठाएकाले भाग्नु परेको कुरा बाहिरिएपछि नारायणले उल्टै प्रहरीमा उजुरी दिएका हुन् । बताइएअनुसार आफ्नो गल्ति ढाकछोप गर्न उल्टै आफूमाथि अभद्र व्यवहार भएको भन्दै २३ कात्तिकमा उनले लक्ष्मी र आरतीविरुद्ध दुहबी थानामा उजुरी दिएका थिए ।

त्यसपछि प्रहरीले मिलापत्र गराउन दुबै पक्षलाई छलफलमा बोलाएको थियो । छलफलका क्रममा आमाछोरीले आफूहरुबाट कुनै गल्ति नभएको बरु नारायणले धाकधम्की दिँदै यौनशोषणको प्रयास गरेको बताएपछि प्रहरीले दुबै पक्षलाई सम्झाई बुझाइ पठाएको थियो ।

प्रहरीबाट कारबाही गराउन नसकेपछि कार्कीका छोरा र ज्वाईंहरु थप आक्रोशित भए । त्यसैले वृद्धा लक्ष्मी र उनकी छोरीलाई नारायणका छोराहरु दुहबी नगरपालिका–४ का ३९ वर्षीय रोशन कार्की, उनका भाई ३५ वर्षीय रवी कार्की र ज्वाई ३२ वर्षीय सन्तोष कर्णले ‘तँ दमिनीहरुलाई जे पनि गर्न सक्छौं हाम्रो बिरोधमा लाग्ने तिमिहरुले के लछार्छौ ?’ भन्दै शरिरका लुगा च्यातेर मुक्का र लात्ताले हान्दै अमानवीय तरिकाले कुटपिट गरेको पीडितहरुले बताएका छन् ।

आफ्नै आँगन अगाडि पुरुषहरुबाट वृद्ध महिलाहरुमाथि जघन्य कुटपिट हुँदा पनि प्रहरीले कुनै बचाउ नगरेको आरोप उनीहरुले लगाएका छन् । कुटपिट गर्नेहरुलाई तुरुन्तै पक्राउ पनि आवश्यक ठानिएन ।

अमानवीय कुटपिटबाट लक्ष्मी र आरती गम्भीर घाइते भए । घाइते दुबैले २० दिन अस्पतालमा भर्ना भएर उपचार गराउन परेको र दुहबीकै जनज्योती अस्पतालमा उपचार वापतको एक लाख रुपैयाँ समेत उनीहरु आफैँले तिर्नुपरेको पीडा पोखेका छन् ।

अझै पनि अनुहार, टाउको र शरिरमा चोट रहेको र दुःखाईले निरन्तर ज्वरो आइरहेकाले औषधि खाइरहेको पीडित महिलाहरुको भनाइ छ । शरिरका लुगा च्यातेर लछापछार गर्दै कुटपिट गरेकाले आरती मानसिक रुपमा विक्षिप्त भएको आमा लक्ष्मीले बताइन् ।

ज्वार्इं नारायण परियारका अनुसार कुटपिट गर्नेहरुले धाकधम्की दिँदै मिलापत्र गर्न दबाब दिइरहेका छन् । म्याद गुजारेर एकैचोटी अदालतमा हाजिर भएर छुट्ने पीडकहरुको योजना रहेको उनले सुनाए ।

यता, प्रहरी कार्यालय अगाडि वृद्ध उमेरकी एकल दलित महिला र उनकी छोरीलाई जातीय गालीगलौज गर्दै अमानवीय तरिकाले कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै दलित अगुवाहरुले न्यायका लागि संघर्ष थालेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय अगाडि पत्रकार सम्मेलन गर्दै दलित अगुवा र पीडितहरुले दोषीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि नबढाएसम्म न्यायको संघर्ष निरन्तर जारी राख्ने उद्घोष गरेका छन् ।

न्यायका लागि मानवअधिकार र दलित आयोगदेखि मुख्यमन्त्री र गृहमन्त्रीलाई भेट्ने उनीहरुको तयारी रहेको बताइएको छ ।

टिप्पणीहरू