व्यक्ति व्यवस्थापनले पार्टी बिगार्‍यो

व्यक्ति व्यवस्थापनले पार्टी बिगार्‍यो

नेताहरूको व्यवस्थापनमा चुक्दै आएको एमालेले यही कारण अनेकौँ अवसर गुमाएको छ । अहिले पनि केही नेताको समयमा व्यवस्थापन नहुँदा विभाजन व्यहोरिरहेको उक्त पार्टीको हालै सम्पन्न महाधिवेशनले फेरि व्यक्ति व्यवस्थापनमै त्रुटी देखाएको छ ।

‘आज हैन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै सौराहामा भेला भएका प्रतिनिधि बिलखबन्दमा परे, नेतृत्व चयनको मामिलामा । कतिपय नेता कस्तो समस्यामा परे भने, बोलौँ, मुखमा आएको पनि फुत्केला भन्ने पीर । नबोलौँ, सही नसक्नुको अत्याचार ।

०४८ सालमा गिरिजाप्रसाद कोइरालाले शासन सम्हाल्नासाथ एमालेले छायाँ सरकार बनायो । त्यसपछि राज्य व्यवस्था विभाग बनायो । कर्मचारीलाई समेट्न पेशागत कमिटीहरू बने । सूचना संयन्त्रका लागि बनेको त्यो कमिटीले सरकारमा जाने मन्त्रीहरूलाई सघाउँथ्यो ।

तर, अहिलेको एमालेसँग त्यस्तो संयन्त्र छैन । कर्मचारीभित्रको संगठन केपी ओलीकै पालामा छिन्नभिन्न भयो । अहिले कर्मचारीहरू को, कता लाग्ने भन्ने अन्यौलमै छन् । त्यसमाथि विभाजनले संगठन नै अस्तव्यस्त हुन पुगेको छ ।

०५१ को लोकप्रिय सरकारले निर्वाचन गर्न पाएको भए सुविधाजनक बहुमत आउने निश्चितप्रायः थियो । तर, सर्वोच्च अदालतको ०५२ भदौको फैसलाले संसद पुनस्र्थापना गरेर मध्यावधिको बाटो छेक्यो । त्यसपछि ०५६ को चुनावमा पार्टी विभाजित भएर बहुमत ल्याउने बाटो रोकियो ।

०६४ को चुनावमा माओवादीको लहर आउँदा एमाले तेस्रो बन्न पुग्यो । ०७० को दोस्रो संविधानसभामा दोस्रो दल बनेको थियो । ०७४ मा वाम गठबन्धनको बलमा झण्डै दुई तिहाईको उपस्थिति जनाएको यो पार्टीलाई व्यक्ति व्यवस्थापनकै कारण ओलीले विभाजनको तहमा पु¥याएको आरोप छ ।

अबको एमाले संसदमा कुन स्थितिमा हुन्छ भन्ने चुनावबाटै देखिएला । तर, एकल बहुमतको सम्भावना क्षीण भइसकेको छ । यो स्थितिलाई केपी ओली नेतृत्वको एमालेले कसरी व्यवस्थापन गर्छ, हेर्न बाँकी नै छ ।

ओलीको माहौल बनाउने कला राम्रो छ । भ्रम छरेर, झुठ बोलेर आफ्नो दोष अरुको थाप्लोमा हालेर भए पनि आफूतिर मान्छे तान्ने कला त छ । तर, त्यही कलाले जन्माएको कलह कम्युनिष्ट आन्दोलनका निम्ति काल नबन्ला भन्न सकिन्न ।

टिप्पणीहरू