आरएनएसीको फोहोर सफा गर्दैमा हैरान भएँ : पर्यटनमन्त्री

आरएनएसीको फोहोर सफा गर्दैमा हैरान भएँ : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमभित्र रहेको फोहोर सफा गर्दैमा आफू हैरान भएको बताउनुभएको छ ।

उहाँले निगमलाई विगतदेखि नै खानेभाँडो बनाइएकाले भन्दै सरकारको ध्वजावाहक एयरलाइन्सभित्र रहेका केही फोहोर (कर्मचारी) सफा गर्दैमा आफू हैरान बनेको विषय समेत उठाउनुभएको छ ।

उहाँले उक्त कुरा आज राजधानीमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । सोही क्रममा उहाँले पर्वतारोहीहरुको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट््ट्याउने समेत उल्लेख गर्नुभएको छ ।

कोभिड १९ बाट प्रभावितहरुको सहयोगका लागि आयोजित कार्यक्रममा मन्त्री आलेले पर्वातारोहीहरुको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले पर्वतारोहीहरुकै कारण देश विश्वमा चिनिएको बताउँदै यसअघिका मन्त्रीहरुले पर्वतारोहीहरुको कल्याण कोषमा उक्त रकम नछुट्याउनु उनीहरुको दोष भएको बताउनु भयो । कोरोना महामारीको समयमा नेपालको पर्यटन क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सबैले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

पर्यटनमन्त्री आलेले भन्नुभयो, ‘नेपाली पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन थप केही समय लाग्ने देखिएको छ । हालै मात्र दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टले फेरि पनि अवस्था भयावह हुने हो कि भन्ने चिन्ता थपेको छ ।

यसप्रति विश्वका अन्य देशहरुले गरेका सावधानीका विभिन्न उपाय नेपालमा पनि अपनाइएको छ । नेपाली पर्यटन क्षेत्रलाई महामारीकै बीच कसरी अघि बढाउने भन्नेबारे सोच्नु हामी सबैको जिम्मेवारी हो ।’

टिप्पणीहरू