अब ललितपुरबाट पनि विद्युतीय राहदानी

अब ललितपुरबाट पनि विद्युतीय राहदानी

विद्युतीय राहदानी (ई–पासर्पोट) आजबाट जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट सोझै अनलाइन बुकिङ गर्ने व्यवस्था गरिएको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागका अनुसार आज साँझबाट जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट त्यस्तो बुकिङ खुल्ला भएको हो ।

विद्युतीय राहदानी वितरण सम्बन्धमा आएका गुनासाबारे सोधिएको जिज्ञासामा विभागका महानिर्देशक डोरनाथ अर्यालले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार आजबाट ललितपुरमा शुरु गरिएको र अर्को हप्ताबाट उपत्यकाका तीन वटै जिल्लाबाट बुकिङ खुल्ला गर्न लागिएको हो ।

यस्तै, उपत्यकाबाट बुकिङ खुलाएलगत्तै जनघनत्व बढी भएका १५ जिल्लाबाट बुकिङ खुलाउने तयारीमा विभाग रहेको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, ‘छिट्टै ७७ वटै जिल्ला प्रशासनबाट बुकिङ गर्न मिल्ने बनाईंदैछ ।’

७७ वटै जिल्लाबाट अनलाइन बुकिङ खुलाउनुअघि विभागको टोलीलाई प्रत्येक जिल्लामा एकसाथ पुर्याइने उहाँको भनाइ छ । साथै उहाँले गत आइतबारबाट विभागको विद्युतीय राहदानी बुकिङ प्रणालीमा दैनिक ३ सय देखि ३ सय ५० वटा अनलाइन बुकिङ गर्न मिल्ने गरि वृद्धि गरिएको दाबी गर्नुभयो ।

सुरुवाती चरणमा ५० देखि १ सय वटा अनलाइन बुकिङ खुलाइएको थियो । ‘सफ्ट्वेयरमा समस्या नदेखियोस् भनेर बिस्तारै बढाउँदै गएका छौँ,’ उहाँले भन्नुभयो । हाल राहदानी वितरणमा केही सहजता आएको भएको भन्दै उहाँले देशव्यापी बुकिङ खुलेपछि थप सहज र सरल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू