को सक्कली साथी हो,समस्या तल हैन माथि हो

को सक्कली साथी हो,समस्या तल हैन माथि हो

दोहोरिएर एउटै कक्षा नपढ्ने घोषणा गर्नुभएका केपी शर्मा ओलीलाई पुन: नेतृत्वमा दोहोर्याउँदै नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । नेतृत्व चयनमा उत्पन्न विवाद,असन्तुष्टि र नेताहरुका माथापच्चीका कारण दुई दिन लम्बिएको महाधिवेशनले निर्वाचनमार्फत ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो ।

काठमाडौँबाट चितवन झर्दै गर्दा अध्यक्षसहित सबै पदमा निर्विरोध घोषणा गर्ने अध्यक्ष ओलीको आन्तरिक तयारी थियो । प्रतिनिधि चयन पनि सोहीअनुसार गरिएको हो । तर,आफू अत्यधिक मतले अध्यक्ष निर्वाचित भएपनि ओलीले चाहेजस्तो सर्वसम्मत हुन सकेन । निर्विकल्प नेता घोषित हुने तयारीका साथ चितवन पुग्नुभएका स्वयंले अध्यक्ष पदमा भीम रावलसँग प्रतिष्पर्धा गर्नुपर्यो ।

बन्द सत्रको पहिलो दिन नै ओलीले नेतृत्व चयन गर्ने सार्वभौम प्रतिनिधिको अधिकार आफूमा सार्नुभएको थियो । २१ सय बढी प्रतिनिधिको अधिकार आफूमा केन्द्रित गर्नुभएका उहाँले सर्वसम्मत गराउने लामै कसरत पनि गर्नुभयो । तर, आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा सकस झेल्नुभएका उहाँलाई भीम रावल र घनश्याम भुसालको उम्मेदवारी चुनौती बनेर खडा भयो । फलत: पार्टीमा ओली निर्विकल्प र निर्विवाद नेता नभएको आमसन्देश गएको छ ।

पोखरेलबन्धुलाई नेता बनाउन सुवासलाई राष्ट्रपतिको आश्वासन दिइयो । मानौँ कि हाम्रै महाधिवेशनले राष्ट्रपति चुन्नेजस्तो ।’

त्यति मात्र होइन,आफ्नै कोर टीमका नेताहरुको व्यवस्थापन गर्न नसक्दा पार्टीमा हिजोकोजस्तै आफ्नो सर्वस्वीकार्यता कायम राख्ने चुनौतीसमेत ओलीमाथि छ। हिजोको शपथ ग्रहण समारोहमा ओलीको हाउभाउ र मुखाकृतिले पनि त्यस्तो संकेत गरेको छ । अध्यक्षमा भारी मतले जितेर पनि ओलीमा एक प्रकारको निराशा थियो । उद्घाटन सत्रका दिन ओलीमा जुनस्तरको आत्मविश्वास देखिएको थियो, हिजो त्यहि रुपमा प्रकट हुन सकेन ।

त्यसो त, बलमिच्याई गरेरै भए पनि मिलाउनका लागि ओलीले अनेक प्रयास गर्नुभएकै हो । असन्तुष्टहरुलाई सहमत गराउन राष्ट्रपति बनाउनेदेखि आगामी निर्वाचनमा टिकट दिनेसम्मका आश्वासन दिएका बग्रेल्ती समाचारहरु आएका थिए । वरिष्ठ उपाध्यक्षको दावेदार रहेका सुवास नेम्वाङलाई ईश्वर पोखरेललाई समर्थन गर्न उधारो राष्ट्रपतिको आश्वासन दिइयो भने केन्द्रीय सदस्यमा नसमेटिएकाहरुलाई संघ, प्रदेश र स्थानीय तहका निर्वाचनमा टिकटको प्रलोभन देखाइएको छ ।

‘राजकीय पदहरु पनि छन्,सबैको पालो आउँछ,हत्तारिन हुँदैन भनेर भोलिको आश देखाइएको छ’, एक जना एमाले नेता भन्छन्, पोखरेलबन्धुलाई नेता बनाउन सुवासलाई राष्ट्रपतिको आश्वासन दिइयो । मानौँ कि हाम्रै महाधिवेशनले राष्ट्रपति चुन्नेजस्तो ।’

आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा खर्चिएको समय र गरेका प्रयास भीम रावल, घनश्याम भुसाललगायतलाई समेट्नतर्फ खर्चिएको भए सर्वसम्मत हुने सम्भावना बाँकी नै रहेको ती नेताले दावीसमेत गरे । तर,ओलीले त्यसतर्फ खासै पहल नगरेको उनको बुझाइ छ । रावल र भुसालसँग त ओलीको औपचारिक कार्यक्रममाबाहेक देखादेखसमेत भएन । जबकि ओलीका विश्वासपात्रहरु उहाँ बसेकै होटलमा भेट्न लाइन लागेका थिए ।

त्यसो त, एमालेमा समस्या तल हैन माथि नै हो । वामदेव,माधव, झलनाथको व्यवस्थापन हुन नसक्नुका पछाडि कार्यकर्ताको कुनै भूमिका छैन । ‘मन फराकिलो बनाएर ती नेताहरुको उचित व्यवस्थापन गर्न सकेको भए आज एमाले सग्लो रहन्थ्यो’, तिनै नेता भन्छन्, ‘आइ लभ यू केपी बा’ भन्नेहरुको भीड बनाएर महाधिवेशनबाट आफैँ टिका लगाउन खोज्दा पार्टीमा बितृष्णा झन् बढेको छ ।’

टिप्पणीहरू