कोरोनाले डाक्टर पढ्दै गरेका विद्यार्थीहरुको बेहाल

कोरोनाले डाक्टर पढ्दै गरेका विद्यार्थीहरुको बेहाल

चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै इन्टर्नशीप पाउनुपर्ने मागलाई थप चर्काउने निर्णय गरेका छन् । कोभिडका कारण अध्ययनलाई निरन्तरता दिन चीन जान नपाएपछि उनीहरुले नेपालमै इन्टर्नशीप गर्न पाउनुपर्ने माग राखेका हुन् ।

आफ्नै लगानी र चीन सरकारको छात्रवृत्तिमा विभिन्न चिनियाँ विश्वविद्यालयहरुमा अध्ययन गरी सैद्धान्तिक विषयको अध्ययन सकाएका विद्यार्थीहरुले नेपालमै इन्टर्नशीप गर्न पाउनुपर्ने माग गरेका हुन् । स्वदेशमै इन्टर्नशीप गर्न पाउनुपर्ने डाक्टर पढ्दै गरेका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

सन् २०१५ र २०१६ मा चीनमा एमबीबीएस गरेका १ सय ५३ जना विद्यार्थी आन्दोलित भएका छन् । कोरोना महामारीका कारण स्वदेश फर्किन परेकाले इन्टर्नशीप गर्न नपाएको उनीहरुको गुनासो छ ।

कोरोना महामारीको जोखिमका कारण नेपाल आएका विद्यार्थीहरु चीन फर्कन नपाएपछि उनीहरुले नेपालबाटै अनलाइन मार्फत् कक्षा लिइरहेका थिए । विद्यार्थीहरुको अनुरोधमा गत असार २३ गते चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले सन् २०२० को अप्रिलसम्म अन्तिम परीक्षामा सामेल भएका विद्यार्थीलाई नेपालमै इन्टर्नशीपको व्यवस्था मिलाउने निर्णय गरे पनि २०२० मेदेखि जुलाईसम्म अध्ययन सकाएका विद्यार्थीहरुलाई भने नसमेटिएको उनीहरुको आरोप छ ।

उनीहरुले सोही विषयलाई लिएर नियमितरु रुपमा नेपाल मेडिकल काउन्सिल, बाँसबारीमा धर्नासमेत दिइरहेका छन् । त्यहि विषयमा आज उनीहरुले पत्रकार सम्मेलन समेत गरेका छन् ।

तर, काउन्सिलले भने अनलाइन माध्यमबाट पढेका विद्यार्थीहरुले पुनः नेपालकै मेडिकल कलेजमा थप एक वर्ष अध्ययन गरेपछि मात्रै इन्टर्नशीप गर्न पाउने व्यवस्था गरिएको बताएको छ । यसरी पहिले अनलाइनमार्फत् पढेका विद्यार्थीलाई इन्टर्नशीप दिने निर्णय गरेको काउन्सिलले एक वर्षपछि निर्णय फेर्दै विद्यार्थीहरुको समय र भविष्य अन्यौलमा पार्न खोजेको चीनमा एमबीबीएस अध्ययन गर्दै गरेका अनिश रेग्मी बताउँछन् ।

उनले सन् २०१५ का विद्यार्थीलाई भाषा र कोर्सको विषय उठाएर उनीहरुको भविष्यमाथि खेलवाड गरेको आरोपसमेत लगाएका छन् । छ वर्षको कोर्सलाई १० वर्ष लगाउन लगाएर विद्यार्थीलाई तनाव दिन नपाइने भन्दै आफूहरुले आन्दोलन गरेको उनी बताउँछन् ।

टिप्पणीहरू