समयको पदचाप बुझ्न कमल थापालाई राजेन्द्र लिंगदेनको सुझाव

समयको पदचाप बुझ्न कमल थापालाई राजेन्द्र लिंगदेनको सुझाव

आजदेखि शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा सांसद तथा नेता राजेन्द्र लिंगदेनले अध्यक्ष कमल थापालाई समयको पदचाप बुझ्न सल्लाह दिएका छन् । पुनः अध्यक्ष बन्न खोजेका थापालाई घुमाउरो तवरले उनले आराम लिन सल्लाह दिँदै नयाँ पुस्तालाई मार्ग प्रशस्त गर्न समयको पदचापको प्रसंग उठाएका हुन् ।

राप्रपाको विगतको सन्दर्भ जोड्दै लिंगदेनले अघिल्लो पटक सडकमा भएको एकता महाधिवेशनको उद्घाटन समारोह र त्यसमा मुलुकका ठूला पार्टीका ठूला नेताले राप्रपाको प्रशंसा गरेको विषयलाई नबिर्सन नेतृत्वलाई स्मरण गराएका छन् ।

त्यतिबेलाको नेतृत्वले पार्टीको साखलाई कायम गर्न नसक्दा राप्रपाले तीन प्रतिशत मत ल्याउन नसकेको क्षणलाई भुल्न नहुनेमा राजेन्द्रको जोड छ ।

‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा मानिसहरु हजारौँको संख्यामा निस्किरहेका छन् । तर,राष्ट्रिय प्रजातन्त्र पार्टी कहाँ छ ? महाधिवेशनका बेला यसो चल्मलाउनेदेखि बाहेक सँधै बेपत्ता अवस्थामा छ ।’

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दा सडकमा सर्वाधिक लोकप्रिय हुँदा पार्टीलाई शिलो खोज्नुपर्ने अवस्थामा पुर्याइएको उनको आरोप छ । लिंगदेनले भने, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा मानिसहरु हजारौँको संख्यामा निस्किरहेका छन् । तर,राष्ट्रिय प्रजातन्त्र पार्टी कहाँ छ ? महाधिवेशनका बेला यसो चल्मलाउनेदेखि बाहेक सँधै बेपत्ता अवस्थामा छ ।’

एकीकरणपछिको दुई वर्ष पार्टी पूर्णरुपले गतिविधिशून्य भएकाले राष्ट्रिय राजनीतिबाट बेपत्ता भएको उनको भनाइ छ । अध्यक्षत्रयतिर इंगित गर्दै उनले भने, ‘मैले पार्टी एकीकरणकै समयमा पनि तपाईंहरुका लागि सच्चिने र अन्तिम मौका हो भनेको थिएँ । तर, पछिल्लो दुई वर्षको पार्टीको गतिविधि र शैलीलाई हेर्दा अब पार्टी यही ढंग र कार्यशैलीबाट चल्ने हो भने सबै सकिन्छौं ।’

अहिलेकै कार्यशैलीबाट पार्टीलाई अगाडि लैजाने हो भने तीन प्रतिशत मत कटाउन कुनै पनि पार्टीसँग मिल्नु पर्ने र एकाध सिट जित्ने भन्ने कुरामा मात्रै ध्यान केन्द्रित हुने पक्का रहेको लिंगदेनको भनाइ छ ।

उनले भने, ‘जोडजाड गरेर ८ देखि १० सिटको पार्टी बनाउन र कुनै पार्टीको पछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला । तर यही कार्यशैलीले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने पार्टी कदापि बन्न सक्दैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरका समान विचारधाराका मानिसलाई जुटाएर लैजान नसकेसम्म राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको विषयमा पार्टीलाई देशको अग्रणी पार्टी बनाउने कुरा कोरा कल्पना मात्रै हुने उनले ठोकुवा गरेका छन् ।

दुईजना अध्यक्ष पशुपति समशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले निर्माण गरेको पार्टीको पछिल्लो अवस्थाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी सदा ऋणी र कृतज्ञ रहने उल्लेख गर्दै राजेन्द्रले भने, ‘तर यही कुरा म अर्का अध्यक्ष कमल थापालाई पनि सादर निवेदन गर्न चाहन्छु । समयको पदचापलाई बुझ्नुहोस् । समयको पदचापलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अगाडि बढ्ने बाटो खोलिदिनुहोस् ।’

एकचोटी अहिलेका नेताहरुको कार्यकारिणी भूमिकामा परिवर्तन गरेर अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन् । पुराना सबै अध्यक्षलाई कार्यकारी भूमिकाबाट बाहिर बसेर पार्टीलाई सल्लाह दिनुपर्ने उनको भनाइ छ ।

टिप्पणीहरू