मोरङ काँग्रेसको सभापतिमा डिकबहादुर विजयी

मोरङ काँग्रेसको सभापतिमा डिकबहादुर विजयी

पौडेल–कोइराला गुटका उम्मेदवार डिकबहादुर लिम्बुले नेपाली काँग्रेस मोरङको सभापति जितेका छन् ।

सिटौला गुटले समेत सर्मथन गरेको देउवा पक्षका उम्मेदवार दिलिप गच्छदारलाई ४ सय ८२ मतान्तरले हराउदै उनले सभापतिमा बाजी मारेका हुन् । दोस्रो चरणको मत परिणामअनुसार डिकबहादुरले १९ सय ७ र देउवा पक्षका उम्मेदवार दिलिपले १४ सय २५ मत मात्र प्राप्त गरेका छन् ।

मंसिर १२ गते भएको पहिलो निर्वाचनमा सभापतिका तीन जना उम्मेदवारहरु कसैले पनि ५१ प्रतिशत बहुमत नल्याएपछि हिजो पुनः मतदान भएको हो । हिजोको मतदानमा पहिलो चरणमा तेस्रो भएर बाहिरिएका सिटौला गुटका उम्मेदवार यदुकुमार विष्टले पनि गच्छदारलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

यस्तै कोइराला–पौडेल समूहमा रहेका बिराटनगरका मेयर भीम पराजुलीले समेत गुट परिवर्तन गरेर गच्छदारलाई नै सघाउने घोषणा गरेका हुन् । यति हुँदाहुँदै पनि डिकबहादुर लिम्बुले दोस्रो कार्यकालका लागि मोरङ काँग्रेसमा बाजी मारेका छन् ।

कार्यसमितिका सदस्य र अन्य पदाधिकारीहरुको मतगणना जारी छ ।

पहिलो चरणको निर्वाचनमा लिम्बुले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ५९ र विष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए ।

टिप्पणीहरू