किन मधेशी र जनजाति रुन्छन् कमरेड ?

किन मधेशी र जनजाति रुन्छन् कमरेड ?

नेपालको राजनीतिक परिदृश्यमा कम्युनिष्ट पार्टी संसदीय प्रतिस्पर्धासँगै प्रजातान्त्रिक मूल्य–मान्यताका साथ अगाडि बढ्छ भन्ने दाबीलाई स्थापित गर्ने चरण थियो, एमालेको पाँचौँ महाधिवेशन । २०४९ सालमा सम्पन्न उक्त महाधिवेशनपछि नै हो, कांग्रेसको ठाउँमा एमाले पनि मूलधारको राजनीतिक शक्तिका रुपमा प्रकट भएको ।

जनताको बहुदलीय जनवाद (जबज) लाई आफ्नो कार्यक्रमका रुपमा अंगीकार गरेको पाँचौँ महाधिवेशनपछि एमाले चुनाव, मत, अभिमत, धारणा, बहस र छलफलको विधिबाट क्रमशः संस्थागत हुँदै गयो । तर, अहिलेसम्म आइपुग्दा ऊ जबजबाट कति पछाडि प¥यो भने, पार्टीभित्र वा बाहिर प्रतिस्पर्धाका आधारबाट श्रेष्ठता स्थापित गर्नुपर्नेमा आन्तरिक रुपमा एकता (सर्वसम्मत), तर बाहिरचाहिँ प्रतिस्पर्धा भन्ने तहमा पुग्यो । बीचका चारवटा महाधिवेशनदेखि आत्मसात गरिँदै आएको जबजका मान्यतालाई १० औँ महाधिवेशनमा पुगेर एमालेले व्यवहारतः विसर्जित गरेको छ । एमाले लोकतान्त्रिक धार हो भनेर कांग्रेसलाई चुनौति दिने कुरामा अब पूर्णविराम लागेको छ ।

अर्कातिर, यो महाधिवेशनले फेरि पनि गुटहरूको विकास हुने गरी केही निर्णय गरेको छ । अन्तिमसम्म पनि वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका सुवास नेम्वाङलाई चिसो पस्यो । उनलाई उपाध्यक्ष, त्यो पनि अरुले सम्झाएपछि पुच्छरमा पारेर वाचन गरिगरी बनाइएको पदले कति अपमान गरेको होला ? त्यो कुरा उनकै मनमा छ । त्योभन्दा गम्भीर विषय हो, एमालेमा जनजाति र धन भएका बाहेक अन्य मधेसीको इज्जत छैन भन्ने कुरा फेरि पनि देखाइयो । जनजातिमध्ये पनि सबैभन्दा बढी घनत्व ओगट्ने समुदाय नेवार हो ।

कम्युनिष्ट पार्टीका पाँच संस्थापकमा सबै उक्त समुदायबाट थिए । तर, एमालेले पद्मरत्न तुलाधर, राजेन्द्र श्रेष्ठ, जीवनराम श्रेष्ठसम्मलाई रुँदै पार्टी छोड्नुपर्ने बनायो । अहिले सुरेन्द्र मानन्धरहरू त्यो ठाउँमा पुगेका छन् । अशोक राईले बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा सबभन्दा बढी भोट ल्याएर उपाध्यक्ष जिते । त्यसरी जितेको मान्छे तीन वर्ष पनि पार्टीमा टिक्न सकेनन् ।

आदिवासी, जनजाति समुदायका नेतामध्ये अहिलेसम्म एमालेमा टिकिरहेका सबभन्दा माथिल्लो तहका नेता सुवास नेम्वाङ हुन् । उनले पनि यसचोटिको महाधिवेशनमा अपमानबोध गर्नु प¥यो । उनको मनमा चिसो पस्नुले एमालेलाई भित्रभित्रै अप्ठेरो बनाउँछ ।

ओलीले हासिल गरेको ऐतिहासिक सफलता हो, १० बुँदेहरूका नाममा माधव नेपालको साथ छोड्नेहरूलाई तितरबितर पार्नु । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्टलाई बोकेर भीम रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य, लालबाबु पण्डितसहितका नेतालाई अपमानपूर्वक नेतृत्वबाट बहिर्गमित गराइएको छ ।

तर, त्यसमध्ये भीम रावलले पराजय नै सही, केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएर चुनौति दिएका छन् । ‘मेराविरुद्ध कोही नउठोस्, मैँ निर्विकल्प हुँ’ भन्ने मानसिकता केपीमा देखियो । त्यसलाई भीमले तोडिदिए । एमालेपंक्तिमा भीम रावलले हारे पनि जितेको विश्लेषण गरिँदैछ ।

त्यसो त रावलले अन्तिममा गएर ओलीसँग सम्झौता गर्छन् कि भन्ने आशंका थियो । त्यसकारण घनश्याम भुसाल उम्मेदवारी घोषणा नगरी बसे । कारण हो, रावलले सम्झौता गरे अध्यक्षमा उठ्ने तयारी ।

यसचोटिको एमाले महाधिवेशनमा धेरै वर्ष पहिला सोभियतसंघमा प्रचलित रहेका ‘सोसलिष्ट म्यान एण्ड विम्यान’ भनेजस्ता प्रतिनिधि गएको ठहर अर्काथरि विश्लेषकले गरेका छन् । ‘सोसलिष्ट म्यान एण्ड विम्यान’ हरू ‘समाजका मान्छे’ भनेर बुझिन्छन् । उनीहरूका निजी काम र इच्छा थिएनन् । पार्टी वा समुदायले जे अह्रायो, गर्ने त्यही हो ।

एमाले प्रतिनिधिहरूमा व्यवहार, जीवनशैली र संस्कृति नवउदारवादी, पुँजिवादी, प्रकृतिको भएका मानिसहरूको बाहुल्यता रह्यो भनिन्छ । तर, निर्णयचाहिँ पार्टीले म्याण्डेट दियो भन्ने नाममा गरियो । केपी ओलीले प्यानल पेश गर्ने र त्यही झ्यामझ्याम ताली ठोकेर सदर हुने कुराले त्यसैलाई पुष्टि गर्छ ।

ओलीको ‘तानाशाही’ प्रवृत्ति महाधिवेशनमा प्रष्टसँग प्रकट भयो । आफ्ना इच्छा जसरी पनि पूरा गरिछाड्ने त्यो प्रवृत्तिका मानिसमा त्यही काम वा कुरा त्योभन्दा राम्रोसँग हुन्छ भने पनि नगर्ने बानी हुन्छ । ओलीले शुरुमै पहिला नोमिनेशन गरौँ, अनि प्रतिस्पर्धा गरौँ भनेको भए उनले हार्ने स्थिति त थिएन नै । भनिन्छ, उनको ‘तानाशाही दिमाग’ त्यहाँ पुग्नै मानेन ।

एकजना राजनीतिक विश्लेषक भन्छन्, ‘यो कार्यकर्ताहरूलाई दास बनाउने तरिका हो । कसैले चुनाव जितेर आएँ भन्यो भने मैले टीको लगाएर ल्याएको भन्ने ठाउँ बनाएर नेतृत्व चयन गरिएको छ ।’

नेपालका कम्युनिष्ट पार्टीमध्ये विप्लव नेतृत्वको नेकपामा चुनाव किन भएन ? भनेर प्रश्न गरिँदैन । नारायणमान बिजुक्छेको नेमकिपालाई पनि त्यसरी सोधिँदैन । किनभने त्यस्तो ब्राण्ड उनीहरूको हैन । एमाले आफूलाई संसदीय लोकतन्त्रवादी मान्ने, जनताको बहुदलीय जनवाद भन्ने । तर, प्रतिस्पर्धासँग डराउने स्थिति हुँदा उसको वैधानिकता, पहिचान र आन्तरिक एकतामाथि गम्भीर प्रश्न उठेको छ ।

त्यसमाथि ओलीले ईश्वर र सुवासको दुई फरक गुट बनाउने अभ्यास शुरु गरेका छन् । तिनलाई जोतेर बस्ने चाहना हो । बंगलादेशमा कम्युनिष्ट पार्टीबाट मान्छे सकिँदै–सकिँदै गएपछि अन्तर्विरोधका लागि आफ्नै मान्छे उत्पादन गर्नेजस्तो काम केपीले गर्दै रहेको राजनीतिक विश्लेषकहरूको ठम्याई छ ।

टिप्पणीहरू