एमाले कान्छो केन्द्रीय सदस्य ईश्वरी

एमाले कान्छो केन्द्रीय सदस्य ईश्वरी

नेकपा एमालेमा अध्यक्षसहित अधिकांश पदाधिकारीमा ६० वर्षमाथिका नेताहरु निर्वाचित हुँदा ३२ वर्षिया एक युवतीले केन्द्रीय सदस्यमा इन्ट्री मारेकी छन् ।

चितवनमा हिजो अबेर सम्पन्न दशौँ महाधिवेशनले अधिकांश पाका नेतालाई नै पुनः नेतृत्वमा फर्काउँदा रोल्पाकी ३२ वर्षीय ईश्वरी जिएम केन्द्रीय सदस्य बनेकी हुन् ।

३ सय १ सदस्सीय नवनिर्वाचित केन्द्रीय कमिटीमा जिएम कान्छो सदस्यका रुपमा केन्द्रीय कमिटीमा प्रवेश गरेकी हुन् । निर्वाचित केन्द्रीय कमिटी सदस्यहरुको नामावलीमा उनी आदिवासी जनजाती महिला कोटाबाट निर्बिरोध भएको निर्वाचन समितिले जनाएको छ ।

२०४७ साल फागुन १५ गते रोल्पाको त्रिवेणी गाउँपालिकामा जन्मेकी जिएम राजनीतिकर्मीका साथै पत्रकार पनि हुन् । उनी विगत १५ वर्षदेखि एमालेको राजनीतिमा सक्रिय छिन् ।

अनेरास्ववियुको जिल्ला सदस्य, प्रेस चौतारी, रोल्पा शाखा अध्यक्षको हुँदै पार्टीको जिल्ला कमिटी सदस्य बनेकी उनी हाल लुम्बिनी प्रदेश सचिवालय सदस्य पनि हुन् ।

उनी एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा पनि प्रतिनिधि थिइन् । दशौं महाधिवेशनमा समेत प्रतिनिधि बनेकी जिएम युवा उमेरमै केन्द्रीय सदस्य बन्न सफल भएकी हुन् । कुनैबेला जिल्लामा सक्रिय पत्रकारिता गरेकी उनी नेपाल पत्रकार महासंघ, रोल्पा शाखाको पूर्वसचिव पनि हुन् ।

टिप्पणीहरू