​जासुस हराउँदाको जोखिम

भनिन्छ, सरकारको नाक, कान, आँखा । तर, सरकारलाई नै छलेर, ढाँटेर कोही कर्मचारी विदेशतिर पलायन भएको कुरा हाकिमहरुलाई महिनौँसम्म अत्तोपत्तो नहुने अवस्था पनि यही नेपालमा देख्न, सुन्न पाइएको छ ।

प्रसंग हो, विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बु जिल्लामा खटिएका जासुसहरुको । लिम्बू–खम्बुवान समूहका कार्यकर्ताको गतिविधि, त्यहाँ टेक्ने विदेशीका अवाञ्छित क्रियाकर्मलगायत अनेक प्रकरणको सूक्ष्म निगरानी गरी सरकारलाई तत्काल जानकारी दिनुपर्ने एकजना कर्मचारी अमेरिका या अष्ट्रेलियातिर पलायन भएको र त्यो कुरा विभागलाई पत्तो नभएको, तर तलब–भत्ता पनि खाइरहेको पाइएपछि गयल खालि गरिएको छ । उनलाई त्यसरी छाडा छाड्ने, अनुमतिबिना विदेश जान दिने त्यहाँका इञ्चार्ज रामबहादुर खड्का र अर्का अधिकारी विजय बस्नेतलाई बढुवा रोक्काको सजायँ दिइएको छ ।

त्यसरी पलायन भएका जासुस कर्मचारीको नाम हो, हरिश अवस्थी । उनी भदौदेखि बेपत्ता छन् । बिदा लिएका छैनन् । तलबचाहिँ उनकै नाममा निकासा भइरहेको छ । दशैंको भत्ता पनि खाएका थिए । त्यसपछि पनि चार महिना बित्यो । खोज्दा मान्छे नभेटिएपछि विभागले बल्ल पत्तो पायो । उनले सञ्चयकोष, औषधोपचार खर्चपछि एकमुष्ट दाबी गरेमा पाइने स्थिति रहन्छ ।

टिप्पणीहरू