ओली विजयी, उहाँ निकट उम्मेदवारको भोट क्रस

ओली विजयी, उहाँ निकट उम्मेदवारको भोट क्रस

एमालेको दशौं महाधिवेशनमा भएको मतदानको पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । उहाँले १८ सय ३७ मत ल्याउँदा प्रतिस्पर्धी भीम रावलले २ सय २३ भोट ल्याउनुभएको छ । तर, उपाध्यक्ष र सचिवमा ओलीका खास मान्छेलाई कम भोट आएको छ ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले अध्यक्षले भन्दा बढी भोट ल्याउनुभएको छ । खसेको २०९६ मतमध्ये १९ सय ७६ मत शाक्यलाई गएको छ । त्यस्तै, सुरेन्द्र पाण्डेले पनि १९ सय २५ सय मत पाउनुभएको छ । सुवास नेम्वाङले ओलीको हाराहारीमा १८ सय ६५ भोट प्राप्त गर्दा विष्णु पौडेलले पनि त्यही हाराहारीमा १८ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

युवराज ज्ञवाली पनि नेम्वाङभन्दा १४ मतले पछाडि पर्नुभएको छ । उहाँले १८ सय ४२ मत पाउनुभएको छ । तर रामबहादुर थापाले सबैभन्दा कम १७ सय ६८ मत पाउनुभएको छ ।

उपाध्यक्षमा पराजित घनश्याम भुसालले ७ सय २५ मत ल्याउनुभएको छ । जबकी रावलले जम्मा २ सय १३ भोट ल्याउनुभएको छ । यो हिसाबले ओली पक्षलाई १० बुँदे पक्षधर र पूर्वमाओवादी समर्थक प्रतिनिधिले मत नदिएको देखिन आएको हो ।

त्यसैगरी, सचिवमा गोकर्ण विष्टले सबैभन्दा धेरै १९ सय ७४ भोट पाउनुभयो । योगेश भट्टराईले १९ सय ६० मत प्राप्त गर्दा ओलीका खास उम्मेदवार पद्यमा अर्यालले उहाँकै हाराहारीमा १७ सय ९९ मत ल्याउनु भएको छ । अर्का उम्मेदवार छबिलाल विश्वकर्माले पनि १८ सय ३, पूर्वमाओवादी लेखराज भट्टले १७ सय ४ र टोपबहादुर रायमाझीले १८ सय ४ मत पाउनुभएको छ ।

ओलीले अघि सार्नुभएका सचिवका उम्मेद्वार रघुवीर महासेठले जित्नेहरुमध्ये सबैभन्दा थोरै १५ सय मत पाउनुभएको छ । सचिवमा पराजित भीम आचार्यले ७ सय ८८ र टंक कार्कीले ५ सय ९ मत पाउनुभएको छ ।

सात जना निर्वाचित हुने सचिव पदमा आचार्य र कार्की पराजीत हुनुभएको छ । महासेठ नवौं महाधिवेशनमा पनि सचिव पदमा पराजित हुनुभएको थियाे ।

चितवनमा सम्पन्न महाधिवेशनको बन्दसत्रबाट नेतृत्व चयनको सम्पूर्ण अधिकार आफूमा लिनुभएका ओलीले अस्ति पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्नुभएको थियो । ओलीको प्रस्तावमा असन्तुष्ट भीम रावल, घनश्याम भुसालसहितका नेताहरुले उम्मेद्वारी दिएका थिए । निर्वाचन भएकाबाहेक अन्य पदमा भने ओलीको प्रस्तावअनुसार यसअघि नै निर्विरोध भएको हाे ।

टिप्पणीहरू