किन होमिएका थिए भीम र घनश्याम ?

किन होमिएका थिए भीम र घनश्याम ?

चितवनमा सम्पन्न नेकपा एमालेको दशौँ महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । महाधिवेशनले अध्यक्षमा पुनः केपी ओलीलाई दोहोर्याएको छ भने पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्यहरु ओली निकटका छानिएका छन् ।

सर्वसम्मत गर्ने अध्यक्ष ओलीको प्रयास असफल हुँदा निर्वाचनमार्फत् नेतृत्व चयन गरिएको हो । आज बिहान विद्युतीय भोटिङ मेसिनबाट भएको मतदानको सम्पूर्ण नतिजा आइसक्दा अधिकांश पदमा ओलीलाई ‘आइ लभ यू केपी बा’ भन्नेर सम्बोधन गरेको रुचाउनेहरु नै छानिएका छन् ।

एक–एक सीट रहेको वरिष्ठ उपाध्यक्ष र महासचिव तथा तीन सीट रहेको उपमहासचिवमा निर्विरोध भएको थियो । बाँकी पदमा चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र पद्मा अर्याल निर्विरोध भएका हुन् । उनीहरु तीनै जना ओलीले रुचाएका पात्र हुन् ।

बन्दसत्र छलेर अध्यक्ष ओली बसेको होटलबाट सर्वसम्मत नेतृत्व छान्ने तीन दिनसम्मको अथक प्रयास असफल हुँदा तीन दिनमा सक्ने भनिएको महाधिवेशन पाँच दिनसम्म लम्बिएको छ । ओलीले १५ पदाधिकारी र ३ सय १ केन्द्रीय सदस्यको नाम सर्वसम्मतका लागि घोषणा पनि गरेका थिए । तर, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, टंक कार्कीलगायतका असन्तुष्ट नेताहरुले आ–आफ्ना उम्मेद्वारी कायमै राखेपछि ओलीलाई पनि निर्वाचनमा जान बाध्यता आइलागेको हो ।

अध्यक्षमा निर्वाचित ओलीले प्रत्यासी भीम रावललाई फराकिलो अन्तरले पराजित गर्नुभएको छ । उहाँले १८ सय ३७ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गर्नुभएको छ । अन्य पदमा पनि ओलीले प्रस्ताव गरेकै नेताहरुले बाजी मारेका छन् । उपाध्यक्षमा ओलीले अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गर्नुभएको थियो । घनश्याम भुसालले पनि सोही पदमा उम्मेद्वारी दिएपछि निर्वाचन भएको हो । अन्तिम परिणाम आइसक्दा ओलीद्वारा प्रस्तावित छ जना नै निर्वाचित भएका छन् ।

सात जना निर्वाचित हुने सचिव पदमा ओलीले प्रस्ताव गरेका बाहेक भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि त्यसमा पनि निर्वाचनबाट छिनोफानो गरिएको हो । सातै जना अस्ति पढेर सुनाइएकै नाम सदर भएको छ ।

त्यसो त, महाधिवेशन शुरु हुनुपूर्व नै ओलीले चाहेकै नतिजा आउने अनुमान गरिएको थियो । तर, गणित आफू अनुकूल हुँदाहुँदै पनि ओलीले चुनाव गर्न नचाहेपछि भने विवाद बढेको थियो। जसका कारण महाधिवेशन लम्बिएको हो ।

अध्यक्षमा पराजित हुनुभएका रावल निकटहरुले भने प्रतिस्पर्धाबाट पराजित भए पनि आफ्नो मुद्दाले जितेको प्रतिक्रिया दिएका छन् । पार्टीलाई ओलीको प्राइभेट कम्पनी हुन नदिनको लागि हार्ने थाहा हुँदाहुँदै पनि रावल चुनावी प्रतिस्पर्धामा होमिएको उनीहरुको दाबी छ ।

हुन पनि, प्रतिस्पर्धामा जाँदै गर्दा मतदाताको गणित रावल अनुकुल थिएन । देशभरबाट छानिएका प्रतिनिधिको चित्रले ओलीलाई पुनः पार्टी सत्तामा फर्काउने निश्चितजस्तै थियो । तथापि रावलले चुनावमा जाने निर्णय गर्नुभएको हो । त्यसका पछाडि मूलतः दुई वटा मुख्य कारण रहेको रावलकै अभिव्यक्तिहरुबाट प्रष्ट हुन्छ ।

एमालेमा ओली निर्विकल्प र निर्विवाद नेता हुन सक्दैनन् भन्ने सन्देश दिनु उहाँको उम्मेदवारीको पहिलो उद्देश्य रहेको देखिन्छ । दोस्रो, विधि, पद्धति र प्रणाली मिचेर एक व्यक्तिलाई सार्वभौम प्रतिनिधिको अधिकार सुम्पने कुरामा रावल सशक्त रुपले उभिनुभएको देखिएको छ ।

रावल निकटहरुले पनि प्राविधिक हारजित निर्णायक नहुने भन्दै अमूक नेताको देवत्वकरणका विरुद्ध उभिनु महत्वपूर्ण हुने बताएका छन् । उपाध्यक्षमा पराजित घनश्याम भुसालले त हामीलाई हार्न दिनुस् भनेर याचना नै गर्नुभएको थियो । यसले पनि रावल र भुसाल जित्नका लागि चुनाव लड्दै थिएनन् भन्ने कुरा उतिबेलै स्वीकार गरेको देखिन्छ ।

‘ओलीका कार्यकर्ताहरुको सोच देख्दा अचम्म लाग्छ । उनीहरु एमाले पार्टी ओलीको मात्रै हो भन्ने मान्यता राख्छन्,’ रावल–भुसाल निकट एक नेता भन्छन्, ‘मानौं ओली कुनै ठूला धार्मिक नेता हुन् र अरु अनुयायी मात्र । त्यसैले व्यक्तिको देवत्वकरणका विरुद्ध उभिनु नै एउटा जित हो । कम्तिमा विधिले जितेको छ । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जबजको मान्यताले जितेको छ ।’

रावल र भुसालले अपेक्षाकृत मत ल्याउन सके कि सकेनन् भविष्यमा उनीहरुले नै समीक्षा गर्लान् । तर, सर्वशक्तिमान नेता बनेको सन्देश दिने ओलीको चरम महत्वाकांक्षामाथि उहाँहरुको उम्मेद्वारी तगारो बनेको भने साँचो हो । एमालेमा ओली निर्विकल्प र निर्विवाद नेता होइनन् भन्ने सन्देश दिनैका लागि रावल र भुसालले उम्मेदवारी दिएको ओली पक्षले पनि बुझेको छ । गणित अनुकूल हुँदाहुँदै पनि ओलीले सर्वसम्मतिको ढिपी कस्नुले समेत ओलीमा रहेको चरम महत्वाकांक्षालाई सतहमा ल्याइदिएको छ ।

तर, ओली पक्ष भने त्यस्तो मान्न तयार देखिँदैन । बरु, महाधिवेशन प्रतिनिधिको चाहानाविपरित रावल–भुसालले गुटबन्दी गरेको उनीहरुको आरोप छ । ‘सकेसम्म सबै पदमा सर्वसम्मत, सर्वसम्मत नभएकामा पदमा निर्वाचन । यहाँभन्दा उपयुक्त लोकतान्त्रिक विधि अर्को हुन्छ र ? कुरो यति सरल छ, जटिल बनाएर किन बुझ्नु ?’ बालकोट निकट स्रोत दाबी गर्छ ।

रावल र भुसालको उम्मेदवारीलाई उनीहरुले राष्ट्रिय राजनीतिमा ओलीको बढ्दो लोकप्रियता र पार्टीमा चुलिएको शक्तिको बिरोध भनेका छन् ।

टिप्पणीहरू