एमालेको १०औं महाधिवेशनले देखाएको बाटो

एमालेको १०औं महाधिवेशनले देखाएको बाटो

नारायणी नदीको किनार (घाट) मा सम्पन्न हुँदै गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनमा कस्तो प्रभाव छोड्न सफल भयो ? अब यसबारे बहसको आरम्भ हुनु जरुरी छ । किनभने एमाले दुई तिहाइको अवस्थाबाट फुईं तिहाइमा झरे पनि हुँकार गर्न भने नछोडेको अवस्था हो ।

यस पटकको महाधिवेशनमा साम्यवादी सिद्धान्त र वामपन्थी विचारधाराको मन्थन भएन, फगत एउटा नेतृत्वलाई ‘एकराट्’ बनाउने अभ्यास भयो । सिद्धान्त र विचारको बहसको बदलामा भीड जम्मा गर्दै शक्ति प्रदर्शन गर्नु अनि खानाका परिकार, पार्क सफारी र ओछ्यान बिस्ताराका सेल्फीहरु छरपष्ट हुनुबाहेक अर्थोक केही भएन ।

दुई महिनाअघि गोदावरीमा सम्पन्न विधान अधिवेशनको हुर्मत लिने काम भएको छ । प्रतिस्पर्धीलाई छेक्ने अनि दुत्कार्ने, गलाउने अनि सडाउने प्रयास भएको छ । जनताको बहुदलीय जनवादको धज्जी उडाउने प्रयास स्वरुप ‘भोट हाल्न नहुने’ लिस्ट बाँडेर भीम रावल, घनश्याम भुसाल र टंक कार्कीप्रवृतिलाई छेक्न खोजिएको छ । र, खतरानक कुरामध्ये यस महाधिवेशनले ‘कम्युनिष्ट अधिनायक’ जन्माउने असफल प्रयास गरेको छ ।

महाधिवेशनको ‘क्लाइमेक्स दृश्य’ ओलीलाई ‘बा’ माथिको ‘एकछत्र एकराट् बा’ बनाउने थियो भन्ने कुरा सबैले बुझेकै थिए । तर यो बुझाइमा पनि कमी देखियो । बाहिरकाले सोचे जस्तो ओलीलाई बाबाट एकराट बा हुन दसबुँदेका केही भाइले रोकेर निर्वाचनमा होमिदिए । उनको ‘म नै एमाले हुँ, मेरो बोली एमालेको विधान हो, म नै सबैथोक हुँ’ भन्ने सार्वभौम सोचलाई चुनौती दिएका छन् ।

यसले ओलीको जादू नारायणीघाटबाटै बिस्तारै विलिन हुन थालेको संकेत गरेको छ । यदी यस्तो हुँदैनथ्यो भने सबैजसो हनुमान र हुनमानका पनि सहायकले एकैस्वरमा भन्ने गरेको ‘बन्दसत्रमा अध्यक्ष कमरेडले नाम घोषणा गर्नुहुन्छ, हामी तलबाट तालीको गडगडाहट लगाउँछौं’ भन्ने सपना पूरा हुने थियो । तर त्यो पूरा भएन । ओलीले पढेका सबै नामहरु हलबाट निर्विकल्प वा निर्विरोधरुपमा स्वागत गरिएनन् । र, ओली स्वयम् पनि ‘निर्विरोध र विकल्परहीत’ हुन सकेनन् ।

विचारलाई त्यागेर ‘ओली गुट’ बनाउने र ‘केपी ओली आइ लभ यु’ भन्दै तमासा गर्ने बार्दलीका रमितेहरु र सडकमा उफ्रिनेहरुको सपनालाई नारायणीघाटले ठूलो धक्का दिएको छ । ओली गुटको केन्द्रीय सदस्य अनि हर्ताकर्ता बनेकाहरुलाई ओलीले के ठानेका रहेछन् भनेर बुझ्ने अवसर पनि आज सकिँदै गरेको महाधिवेशनले जुराएको छ ।

गोकुल बाँस्कोटा, महेश बस्नेत र विशाल भट्टराईहरुलाई आफ्नो हैसियत बुझ्न सहयोग मिलेको छ । लालबाबुहरु त विचरा हुन् । ‘झन्डामुनी बस्ने तर दरबार नपस्ने (गुट खडा नगर्ने)’ नीति नै उत्तम हुन्छ भन्ने कुरा बुझ्न नसक्नु एमालेका कार्यकर्ता हुँ भन्नेहरुको कमजोरी रहेको पाइएको छ ।

यो महाधिवेशनमा मार्सी चामललाई प्रख्यात बनाउने दुर्गा प्रसाईंहरु जिल्लिनु जति स्वाभाविक छ, त्यतिनै अनौठो कोमल वलीहरु ‘इन’ हुनुमा छ । र, दुःखदायी कुरामध्ये नरेश खरेल, टंक कार्की र सुरेन्द्र मानन्धरहरुले कम्युनिष्ट आन्दोलनमा गरेको योगदानलाई धुमिल बनाइएको छ ।

जुनसुकै खेलमा पनि एउटाले हार्ने र अर्कोले जित्ने नियम हुन्छ, प्रारम्भिक चरणमा बराबरी खेले पनि अन्तिमको भिडन्तमा ‘सुकी कि थुकी (हेड अर टेल)’ गरेर पनि एउटा बिजेता बन्नै पर्छ । र, यो महाधिवेशनमा केही ‘सुकी’ रोज्ने देखिए धेरै ‘थुकी’ रोज्ने भेटिए । निर्वाचनमा हारजीत एउटा प्राविधिक विषय हो । नेताले मन जित्न त विचारले कार्यकर्ताहरुलाई उद्धेलित बनाउनुपथ्र्यो ।

आउँदो राष्ट्रपति सुभासचन्द्र नेम्वाङ, उपराष्ट्रपति अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर १ को अध्यक्ष विशाल भट्टराई बनाउने आश्वासन होइन । यसले हनुमान र सहायक हनुमानहरुको व्यवस्थापन गर्न सहयोग पुग्ला । तर, कम्युनिष्ट आन्दोलनलाई कुनै सहयोग पुग्दैन । बरु क्षति नै पुर्याउँछ । कुम्भमेलामा गंगा नदीको किनारमा नागाबाबाहरु नाङ्गै दौडन्छन । भष्म दलेर सोह्रश्रृङ्गार पनि गर्छन् । त्यहि मेसोमा भक्तजनलाई आर्शिवाद दिँदै धर्मको व्यापार समेत गर्न भ्याउँछन् ।

यता ओली बाले पनि नागाबाबाहरुलाई पछार्न खोजे जस्तै देखिएको छ । उनले तीन दिनको महाधिवशेनलाई पाँच दिन पु¥याए । दिनमा हुनु पर्ने कामकुरा रातरात जागै राखेर, विधान फेर्दै सोह्रश्रृङ्गार गरे । उनले सर्सती चिर्कटो पढेर आर्शिवादको व्यापार पनि गरे । तर उनको केही लागेन, किनकी कुम्भमेलामा त थरिथरीका बाबाहरु हुन्छन् । तीमध्ये एक हुन अघोरीबाबाहरु । यिनीहरु खोपडीलाई प्याला बनाएर रक्सी र पानी पिउँछन् । चित्तामा जल्दै गरेका लासहरु पनि लुछ्दै कपाकप स्वाद लिन्छन् ।

चितवनमा भएको ओलीमेला पनि त्योभन्दा फरक देखिएन । कुम्भमेलामा थरिथरीका अखाडाका सन्तमहन्थहरु, मठाधिशहरु पनि हुन्छन् यताको मेलामा भेला भएका कमल थापाहरु जस्तै । यिनको गाई पनि चर्न गएको र हलो भुत्ते देखिएको छ । झण्डैझण्डै कमल थापाहरु ‘हगमाले, (अर्थात हलो गाई माक्र्सवादी लेलिनवादी) बने । समग्रमा एमालेको १०औं महाधिवेशनको बेलुकाको खानामा ननभेज मटन १, बियर १ र सुकुटी १ प्लेट भनेझैँ भएको छ । जनताको लागि भने बेल पाक्यो हर्ष न विस्मात !

टिप्पणीहरू