काँग्रेस अधिवेशन : गुल्मी सभापति फराकिलो अग्रताले विजयी

काँग्रेस अधिवेशन : गुल्मी सभापति फराकिलो अग्रताले विजयी

-ऋषि भट्टराई

नेपाली काँग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी फराकिलो मत अन्तरले निर्वाचित भएका छन् । उनले कुल सदर मतको ७६ प्रतिशत अर्थात एक हजार २ सय ७१ मत ल्याउँदा उनका प्रतिस्पर्धी वेदबहादुर थापा मगरले ३ सय ८४ मत ल्याएर पराजित भएका छन् ।

सभापतिमा निर्वाचित पन्थीको मतअन्तर काँग्रेसको देशैभरी भएको जिल्ला सभापतिहरुको निर्वाचनमा देखिएको मतअन्तरमध्येकै सबैभन्दा फराकिलो हो । गत शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्य समितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पौडेल पक्षका हुन् भने पराजित थापा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन् ।

समितिका अरु पदमा भएको निर्वाचनमा दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा अनन्तराम पौडेलले एक हजार एक सय ८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् । खत्री पन्चायती व्यवस्थाविरुद्घ आन्दोलन गर्दा २०१९ सालमा तत्कालीन शासकबाट मारिएका गुल्मीका प्रथम सहीद समशेरबहादुर खत्रीका नाति हन् ।

दुई जना जिल्ला सचिवका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा जगदीश भट्टराईले नौ सय ९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित भएका छन् । दुई जना जिल्ला सहसचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा छबिलाल पाण्डेले एक हजार एकसय ३३ मत र धर्मराज पाण्डेले आठ सय ५० मत ल्याएर निर्वाचित भएका छन् ।

अधिवेशनका लागि एक हजार सात सय ६१ जना प्रतिनिधि सहभागी भएका थिए । त्यसमध्ये एक हजार छ सय ९३ मत खसेको थियो । शनिबार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकाको मतदान भइरहेको समयमा मतपत्रमा संकेत गरिएको भन्दै केही बेर मतदान कार्य स्थगित भएको थियो । केहीबेरको छलफलपछि सहमति गरेर आइतबार पुनः मतदान गराइएको हो ।

हिजो भएको घोषणासभामा नवनिर्वाचित सभापति पन्थीले एक हातमा विकास र अर्को हातमा संगठन लिएर हिँड्ने बताएका छन् । पन्थीले विगतदेखि नै गुल्मीमा विकासप्रेमी नेताको छबि बनाएका छन् ।

टिप्पणीहरू