सशस्त्रको गुल्मबाट सामान लोड गरेर हिँडेका द्रोण न्याय खोज्दै

सशस्त्रको गुल्मबाट सामान लोड गरेर हिँडेका द्रोण न्याय खोज्दै

नवलपरासीको गैंडाकोट नगरपालिका १० पितौजीस्थित सशस्त्र प्रहरी बलको ३१ नम्बर गुल्मबाट आठ बोरा कपडा गाडीमा लोड गरेर काठमाडौं ल्याउँदै गरेका द्रोण के.सी. अहिले न्यायको खोजीमा भौंतारिएका छन् ।

झण्डै दुई वर्ष अघि २०७६ चैत्र १ गते गुल्मबाट रा.१ च ९४३ नम्बरको आफ्नो टाटा एस गाडीमा कपडा ल्याउँदै गर्दा थानकोटमा समातिएका उनले अहिलेसम्म न्याय नपाएपछि सञ्चारमाध्यम गुहारेको बताएका छन् ।

त्यहाँबाट कपडा लोड गरेर के.सीसँगै आएका मकवानपुर मनहरी गाउँपालिकाका रामहरी लुर्इंटेल र दाङको घोराही उप–महानगरपालिकाका मेघे राउत फरार भएपछि भन्सार छलीको मुद्दामा द्रोण जेल परेका हुन् । उनले पटक पटक आफ्नो गल्ती नभएको बताएपनि कसैले नसुनेको उल्लेख गरेका छन् ।

जनआस्थासँगको कुराकानीमा उनले आफू पक्राउ परेपछि प्रहरीले बयान नै नलिएर दोषी ठहर गरेको उनको आरोप छ । प्रहरीले आफूखुसी बयान लेखेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको र भन्सारमा समेत आफ्नो कुरो कसैले नसुनेको भन्दै उनले गुनासो गरेका छन् ।

‘अहिले २ लाख ३० हजार ५ सय रुपैँया जरिवाना बुझाएर तारिखमा छुटेको,’ भन्दै उनले भने, ‘भन्सार विभागले आफूसँगै समातिएको रा.१ च ९४३ नम्बरको आफ्नो टाटा एस गाडीको बारेमा अहिलेसम्म जानकारी गराएन ।’ उनका अनुसार थाहै नदिई भन्सारले उनको गाडीलाई लिलामको प्रक्रियामा लगेको छ ।

न्याय र वास्तविकताका लागि सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय, नेपाल प्रहरी तथा भन्सार विभागमा पटक पटक गुहार्दा समेत कुनै जवाफ नदिइको उनको आरोप छ । सशस्त्र र भन्सार कार्यालयमा आफू निर्दोष रहेकाले घटनाको छानबिनको माग गर्दै पत्र दर्ता गरे पनि कसैले वास्ता नगरेकोमा उनले दुःख व्यक्त गरेका छन् ।

घटनाबारे राखिएको जिज्ञासामा प्रहरी र भन्सार कार्यालय दुबै निकायले अनभिज्ञता प्रकट गरेका छन् । यसबारे थानकोट प्रहरीले उक्त घटनाबारे विमानस्थलको भन्सार कार्यालयमा सम्पर्क राख्न जवाफ दिएका छन् ।

भन्सार कार्यालयले भने केसीको फाइल खोज्नुपर्ने र हेरेर मात्रै जवाफ दिन सकिने प्रतिक्रिया दिएको छ । कार्यालयका सूचना अधिकारी अमिर दाहालले, ‘कुरो बुझ्न परे कार्यालयमा आउनु,’ भनेर फोन राखिदिएका छन् ।

पिडीत के.सीले भने सशस्त्र प्रहरीको गुल्मबाट सामान लिएर आउँदा फरार भएका लुईंटेल र राउतलाई पक्राउ गरि छानबिन गर्नुपर्ने माग गरेका छन् । सामान उनीहरुको भएकाले आफू निर्दोष रहेको दाबी गरेका छन् । उनी भन्छन्, ‘अब मर्ने या बाँच्ने भन्ने निक्र्यौलमा पुग्नुपर्ने अवस्थामा पुगेको सम्बन्धित निकायमा पेश गरेको पत्रमा समेत उल्लेख गरेको छु ।’

घटनाबारे सशस्त्र प्रहरी बलका प्रवक्ता मन्दिप श्रेष्ठले, ‘गुल्मभित्रबाट सामान लोड हुनै नसक्ने,’ बताएका छन् । जनआस्थाको जिज्ञासामा उनले सामान भारतबाट आएको भए छुट्टै विषय हुने र सोको जिम्मेवार सशस्त्र प्रहरी नहुने जानकारी दिए ।

उनकाअनुसार गुल्म भित्रबाटै कसैले बदमासी गरेको भए त्यस्तो हुनसक्छ तर, घटना पुरानो भएकाले सशस्त्रले सहजीकरण गर्न समस्या देखिन सक्ने उनको भनाइ छ ।

श्रेष्ठले गुल्मबाहेक अन्य स्थानमा सशस्त्र प्रहरी बलको संलग्नता नरहेको भन्ने आरोप रहेकाले ती ठाँउमा बुझेर आफ्नो संस्थाले सहजीकरण गर्न सक्ने उल्लेख गरे ।

टिप्पणीहरू