चितवनको तमासाले हाम्रो विद्रोहको औचित्य पुष्टि गर्यो : माधव नेपाल

चितवनको तमासाले हाम्रो विद्रोहको औचित्य पुष्टि गर्यो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा बोल्दै उहाँले एमालेको महाधिवेशनमा देखिएको तमासाले विद्रोहको आवश्यकता र औचित्यसिद्ध गरेको दाबी गर्नुभएको हो ।

एमालेबाट आफूहरुले विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र कुम्भमेला नै पर्याप्त रहेको अध्यक्ष नेपालको भनाइ छ । उहाँले नेकपा एमाले पार्टीभित्र फरक मत राख्नेहरुको अपमान भइरहेको भन्दै त्यहाँ जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको पनि बताउनुभयो ।

‘अहिले हामीले कम्युनिष्ट आन्दोलनमा विद्रोह गरेका छौँ । नेकपा एमालेबाट विद्रोह गर्यौँ । किन विद्रोह गर्यौँ त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भमेला नै पर्याप्त छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यहाँ फरक मत राख्ने व्यक्तिहरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ ।’

उहाँले एमाले अधोगतितर्फ गइसकेकाले उबाट कम्युनिष्ट आदर्श, आचरण र जनवादी अधिकारको अपेक्षा गर्नु नै गलत हुने दावी गर्नुभयो । नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा उच्च प्रशंसा गर्नु स्वाभाविक भएको अध्यक्ष नेपालको भनाइ छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले उच्च प्रशंसा गरेको, विदेशीहरुको दलाली गर्नेहरुले उच्च प्रशंसा गरेको, त्यसबाट थाहा हुन्छ कि वास्तवमा त्यो पार्टी कुन दिशातर्फ जान खोज्दै छ । राम्रोले राम्रोलाई प्रशंसा गर्दा रहेछन्, नराम्राले नराम्रालाई नै प्रशंसा गर्दछन् । त्यसैले राम्रा राम्रसँग, नराम्रा नराम्रासँग छन्, अहिले हामी वामपन्थी, लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर ५ दलीय गठबन्धन बनाएका छौँ । यो मुलुकलाई, संविधानलाई क्षतविक्षत पार्न खोज्ने शक्तिबाट मुक्त गरेका छौँ’, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनका उपलब्धि जोगाउन सच्चा कम्युनिष्टहरु एकीकृत समाजवादीमा आउनु पर्ने पनि बताउनुभयो ।

टिप्पणीहरू