राप्रपामा दौड जित्नेले अध्यक्ष पाउने

राप्रपामा दौड जित्नेले अध्यक्ष पाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अझै पाँच वर्ष आफूले अध्यक्ष नछोड्ने बताएका छन् । आज काठमाडौँमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले आगामी निर्वाचनमा पार्टीलाई शक्तिशाली बनाएर मात्रै आफूले विश्राम लिने बताए ।

थापाले अधुरा काम छोडेर पलायन हुन आफूलाई अधिकार नभएको तर्कसमेत गरे । आगामी निर्वाचनमा पार्टीलाई अग्रणी शक्तिका रुपमा स्थापित गरेर राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापित हुने आधार बनाएर मात्रै आफूले अध्यक्षबाट बिदा लिने उनको भनाइ छ ।

केही दिनअघि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नेता राजेन्द्र लिङदेनमाथि थापाले कटाक्ष पनि गरे । लिङदेनले युवा पुस्ता र पुरानो पुस्ता भनेर पार्टीमा विभाजन ल्याउन खोजेको थापाको आरोप छ ।

उनले चुनौति दिएका छन्, ‘युवा पुस्ताको कुरा गर्ने हो भने टुँडिखेलमा दौडेर देखाए भइहाल्यो नि । तर त्यसरी दौडँदा पनि मलाई जित्न सकेको अवस्थामा मात्र अध्यक्ष छाडिन्छ ।’

उनले भने, ‘नयाँ पुस्ताका साथीहरूलाई पुस्ताका नाममा विभाजनको रेखा नल्याउनुस् । नयाँ पुस्ताकै कुरा गर्ने हो भने टुँडिखेलमा दौडेर मलाई जित्नुस्,’ उनले भने, ‘टुँडिखेलमा गएर दौडिऔँ । यदि टुँडिखेलमा दौडँदा मलाई जित्नुभयो भने, म अध्यक्षको पदमा उठ्दिनँ ।’

थापाले आगामी निर्वाचनमा राप्रपा देशको प्रमुख राजनीतिक शक्तिक रुपमा उदाउने दाबी समेत गरेका छन् । राप्रपाले पर्सि बुधबारदेखि काठमाडौँमा महाधिवेशन गर्दैछ । अध्यक्षका लागि अहिलेसम्म थापा र लिङ्देनले उम्मेद्वारी घोषणा गरेका छन् भने हालका अध्यक्ष पशुपति समशेर राणाले उम्मेद्वारी नदिने बताएका छन् ।

टिप्पणीहरू