उदयपुर काँग्रेस : पौडेल–कोइराला बढारिए, मन्त्री कार्की सभापति

उदयपुर काँग्रेस : पौडेल–कोइराला बढारिए, मन्त्री कार्की सभापति

नेपाली काँग्रेस उदयपुरको जिल्ला कार्यसमितिको निर्वाचनमा देउवा (संस्थापन पक्ष) ले संस्थापन इतर (पौडेल–कोइराला) पक्षलाई ‘क्लिनस्वीप’ गरेको छ ।

देउवापक्षबाट प्रतिनिधित्व गर्दै प्रदेश नम्बर १ सरकारका योजना तथा भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की सभापति पदमा ७ सय ६७.मत ल्याएर विजयी भएका छन् । उनी विरुद्ध संस्थापन इतरपक्षका विदुर बस्नेतले ५ सय ८९ मत पाएका छन् ।

विजेता कार्कीले खसेको मतको ५५ प्रतिशत मत ल्याएका छन । अघिल्लो निर्वाचनमा सभापति पदमा बस्नेतसँग कार्कीले नै पराजय व्यहोरोका थिए । यो पटक भने कार्कीले हिसाबकिताब साफ गरेको बताइन्छ ।

हिजो सम्पन्न निर्वाचनमा काँग्रेसका एक हजार ३ सय ७७ जनाले मतदान गरेका थिए । त्यसैगरी जिल्ला कार्यसमितिको उपसभापति पदमा भीमचन्द्र राईले ७ सय ४७ र बलबहादुर तामाङले ६ सय ५८ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा मुरारी खड्काले ६ सय ९५ र राजेशचन्द्र श्रेष्ठले ६ सय ८९, सह–सचिवमा टीकाराम बुढाथोकीले ७ सय ४५ र चन्द्रदीप पौडेल ७ सय १७ मत ल्याएर विजयी भएका छन् । संस्थापन पक्षका उम्मेदवारहरुले पदाधिकारी र सदस्य पदमा इतरपक्षका उम्मेदवारहरुलाई एक सयभन्दा बढीको मतान्तरले पराजित गरेका छन् ।

सदस्यहरुमा धनबहादुर दनुवार, नविन राई, भुवन श्रेष्ठ, तेन्जु राई, सर्मिला राई, सुनिता तामाङ, दीपक कोइराला, नरबहादुर थापा, दुर्गाकुमारी तिवारी र सीता अधिकारी विष्ट, बलदेव विक, कल्पना मोते र सुजिता चौधरीहरु खुल्ला, आदिवासी जनजाति, खस आर्य, थारु र दलित कोटाबाट विजयी भएका हुन् ।

यसअघि संस्थापन पक्षले नै उदयपुरको दुई वटा संघीय निर्वाचन क्षेत्रमा चौदन्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई र नेपाली काँग्रेस जिल्ला समितिका पूर्वसचिव रामकुमार राईको प्यानल विजयी भएपछि इतरपक्षलाई गतिलो टक्कर दिने संकेत दिइसकेको थियो । तर मैदान खाली गर्नुभन्दा मतदाताको सुरक्षा र लोकतान्त्रिक पद्धतिको अनुशरण गर्न उचित भएकाले इतरपक्षले हार्ने निश्चित हुँदाहुँदै निर्वाचनमा भाग लिएको बताइएको छ ।

उदयपुरमा संस्थापनपक्षको हस्तीको रुपमा परराष्ट्रमन्त्री डा. नारायण खडका र प्रदेश नम्बर १ का योजना तथा भौतिक पूर्वाधारमन्त्री कार्की, चौदन्डीगढीका प्रमुख तथा निर्वाचन क्षेत्र नम्बर १ का विजयी सभापति खगेन्द्र राईले नेतृत्व गरिरहेका छन् । यसअघि दुबैपक्ष हाराहारीमा देखिएका थिए ।

तर संस्थापनपक्ष पाँच दलको नेतृत्व गर्दै सरकारमा गएपछि पार्टीको आन्तरिक शक्ति सन्तुलनमा प्रभाव परेको बताइन्छ । सत्ताकै कारण उदयपुरको वडा, गाउँ तथा नगरपालिकाका अधिकांश स्थानमा संस्थापनपक्ष हावी भएको इतरपक्षको आरोप छ ।

टिप्पणीहरू