​सधैं झगडा, मन्त्रीभन्दा तगडा

जब मन्त्री नै सचिवका अगाडि निरिहपन देखाउँछन् भने यसलाई के भन्ने ? यस्तै रमिता छ वन तथा वातावरण मन्त्रालयमा । मन्त्री शक्ति बस्नेत । सचिव विश्वनाथ ओली, ओली वंशावली समाजका महासचिव पनि । मन्त्री आफूले गर्न खोजेका हरेक काममा प्रधानमन्त्रीको यस्तो निर्देशन छ भन्दै सचिवले भाँजो हाल्ने गरेको दुखेसो पोख्दै हिँड्न थालेका छन् । 

यता,सहसचिव तहको कर्मचारीले सचिवदेखि मन्त्रीसम्मलाई कसरी प्रभावमा पार्दा रहेछन् ? र, जागिर अवधिभर मालदार अड्डामै मात्र टिक्दा रहेछन् भन्ने कुराको ज्वलन्त नमूना हुन् चन्द्रमान श्रेष्ठ । चार महिनाअघि नै सरुवा महिला आयोगमा भएको । तर, डेगै चलेनन् । अहिले ६ सहसचिवमध्ये सबैभन्दा मालदार फाँट प्रशासन महाशाखा प्रमुख भएर बसेका छन् । सरुवा भएको ४ महिनासम्म नगएपछि त्यहाँ अस्ति मात्र युवराज सुवेदीलाई पठाइएको छ । 

गोर्खाली श्रेष्ठ जागिरे अवधिमा सदैव मालदार ठाउँमा रहे । ०६२ देखि ६४ सालसम्म कलंकी र डिल्लीबजार मालपोत कार्यालयको प्रमुख थिए । माओवादी शान्तिप्रक्रियामा आउँदा जग्गाको अचाक्ली कारोबारको समय थियो त्यो । त्यहाँ रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन सामान्य प्रशासनमन्त्री पम्फा भुसालले दुर्गम जिल्लामा सरुवा गर्न खोजिन् । तर, चन्द्रमान यति चतुर कि पम्फाले सरुवाको लिस्ट निकाल्नुअघि नै नारायणकाजी श्रेष्ठमार्फत सञ्चारमा सरुवा मिलाए । त्यहाँ रहँदा सहसचिवमा बढुवा भए र अर्थ मन्त्रालय पुगे । त्यहाँबाट अर्काे मालदार अड्डा वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न पुगे ।

बीचमा सार्वजनिक खरिद अनुगमन कार्यालय गए । र, दुई कार्यकालसम्म यातायात व्यवस्था विभागको महानिर्देशक पड्काए । त्यहाँ रहँदा पूर्वभौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिको दबाबमा सार्वजनिक सवारीमा इम्बोइस्ड नम्बरप्लेट जोड्ने खेल चल्यो । सात अर्बको यो प्रोजेक्ट सफल भएको भए झण्डै तीन अर्ब बिचौलियाको हात लाग्ने थियो । तर, बीचमै भरत बस्नेतहरूले यो तयारीविरुद्ध सर्वाेच्चमा मुद्दा हाले र अर्बांै हात पार्ने यो खेलमा ब्रेक लाग्यो । यो प्रक्रियाउपर अख्तियारले समेत चासो राखेपछि उनी विमलेन्द्रकै जोडबलमा गृह मन्त्रालय तानिए । र, उदयपुर पुगे प्रमुख जिल्ला अधिकारी बनेर । तर, तीन महिना नबित्दै शान्ति सुरक्षा कायम गर्न नसकेको कारण देखाएर पुनः मन्त्रालयमा तानिएका उनी वनमा खटेका थिए । चार महिनाअघि उनको सरुवा महिला आयोगमा भएको थियो । यद्यपि, सदैव मालदार अड्डामा बसेर तर मार्न पल्किएका चन्द्रमानले सामान्य प्रशासनको निर्णयलाई धज्जी उडाएर वनमै बसे । बजेट कम भएको महिला आयोगमा उनको आँखै गएन । 

तर, यस्ता विवादास्पद कर्मचारीलाई अहिले शक्ति बस्नेतको रोजाइमा पुरस्कृत  गरी प्रशासन महाशाखा प्रमुख बनाइएको छ भने ओशो तपोवनले कब्जा गरेको ३७ रोपनी जग्गा फिर्ता गर्न पहल गरेबापत शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरलाई त्यहाँबाट मन्त्रालयमा तानिएको छ ।

टिप्पणीहरू