नेपाली कमरेडहरूको कमजोर कम्युनिष्ट कूटनीति

नेपाली कमरेडहरूको कमजोर कम्युनिष्ट कूटनीति

– विराट अनुपम

यही वर्ष मेमा दक्षिण भारतीय राज्य केरलामा कम्युनिष्ट गठबन्धनले चुनाव जित्यो । त्यहाँका कम्युनिष्टले लगातार दुई कार्यकाल मुख्यमन्त्रीको नेतृत्व सम्हाल्ने मौका पाए । सन् २०१६ मा पहिलोपटक मुख्यमन्त्री भएका भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का नेता पिनारायी भिजायान मुख्यमन्त्रीमा दोहोरिए । भाकपा (माक्र्सवादी)का पोलिटब्युरो सदस्य हुन् उनी । केरलाको राजनीतिमा लगातार दुई कार्यकाल जित भएको ४० वर्षमा त्यही नै पहिलोपटक थियो ।

भाकपा (माक्र्सवादी) बारे यो जितको विश्वभर चर्चा भयो । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनमा राम्रो भूमिका खेलेकोमा समेत केरला सरकारले विश्व हेडलाइन बनाइरहेकामा चुनावमा पुनः निर्वाचित भएर सत्तामा आएपछि यसले स्वाभाविक अतिरिक्त चर्चा पायो । भाकपा (माक्र्सवादी) को जितमा जर्मनी, आयरल्याण्ड, बेलायत, भियतनाम हुँदै श्रीलंकाका वामपन्थी पार्टीहरूले औपचारिक पत्रबाट बधाई र शुभकामना दिए । भारतसँग झैझगडा परिरहने चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोदेखि भारतीय संस्थापनले कट्टर दुश्मन मान्ने पाकिस्तानको कम्युनिष्ट पार्टीले समेत औपचारिक बधाई दियो ।

यस्ता बधाईको सूची भाकपा (माक्र्सवादी) को मुखपत्रले सविस्तार छापेको थियो । ‘पिपुल्स डेमोक्रेसी’ नामक मुखपत्रले मे २३ मा प्रकाशन गरेको बधाई दिने पार्टीहरूको सूचीमा नेपालका कुनै पनि कम्युनिष्ट पार्टी छैनन् । न नेकपा (एमाले) छ, न त माओवादी छ न अरु कुनै वामपन्थी दल । पाकिस्तानदेखि आयरल्याण्डसम्मबाट बधाईको ओइरो आउँदा आफूलाई सबैभन्दा लोकतान्त्रिक र विश्वले चिनेको कम्युनिष्ट दाबी गर्ने नेपाली कम्युनिष्टको नाम नआउनु रोचक छ । यसले नेपाली कम्युनिष्ट पार्टीहरूको कमजोर कूटनीतिको एक चित्र देखाउँछ ।

विश्वभर चर्चित प्रसंगमा खासै ध्यान नदिने नेपाली कम्युनिष्टले उतिसारो चर्चामा नआएका कम्युनिष्ट पार्टीजन्य कूटनीतिमा कस्तो स्तर राख्लान् ! आफै अनुमान गर्न सकिन्छ । बाबुराम भट्टराईलाई कम्युनिष्ट नगन्दा पनि नेपालमा माधव नेपाल, झलनाथ खनाल, प्रचण्डदेखि केपी शर्मा ओली गरेर चार जना जीवित पूर्वप्रधानमन्त्री कम्युनिष्ट नेताहरू छन् । उपप्रधानमन्त्री र मन्त्रीहरूको त कुरै नगरौँ । यत्तिका संख्या भएर पनि सामान्य कम्युनिष्ट कूटनीतिमै कमरेडहरूको बिजोग लाजमर्दो कुरा हो ।

केरला दक्षिण एसियाली लोकतन्त्रवादी कम्युनिष्टको एक ऐतिहासिक उदाहरण हो । सबैभन्दा पहिला त्यहाँ सन् १९५७ मै चुनावबाट जितेर कम्युनिष्ट पार्टीको मुख्यमन्त्री बनेको थियो । ६४ वर्षअगाडि विश्वकै पहिलो जननिर्वाचित मुख्यमन्त्री बनेका थिए– इएमएस नम्बुदरिपाद । उनी विश्वका प्रथम जननिर्वाचित कम्युनिष्ट मुख्यमन्त्री मात्रै नभएर केरलाकै पनि प्रथम मुख्यमन्त्री थिए । यस्तो रोचक तथा लोकतान्त्रिक कम्युनिष्ट पृष्ठभूमि जोडिएको केरलासँगको कम्युनिष्ट कूटनीतिमै नेपालका कम्युनिष्टहरू कमजोर दरिएको उदाहरण मेको चुनावपछिको दृश्यले देखाइहाल्यो ।

केरलाजस्तो भिजा नलगाई पुग्न सकिने क्षेत्रको पार्टीका कुरामा खासै वास्ता नगर्ने नेपाली कम्युनिस्ट धेरै टाढाका आकाशे छिमेकी कम्युनिष्टबारे भने बडो चासो, चिन्ता र सरोकार राख्छन् । ०७५ माघ ११ गते तत्कालीन सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक अध्यक्षको हैसियतमा प्रचण्डले बोल्सेभिक गणतन्त्र भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका साझेदारहरूले हस्तक्षेप गरेको भन्दै कडा भाषामा विरोध गरे । अमेरिकी दूतावासको चासोसँगै त्यो त्यत्तिकै सेलाएर गयो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली व्यक्तिगत टिप्पणी भनेर पन्छिए पनि नेपाली कमजोर कम्युनिष्ट कूटनीति त्यसमा देखिएको थियो ।

एक आपसमा दूतावासदेखि सहयोगका मामिलामा सिधा सम्पर्क नभएको भेनेजुएलाको सरोकारमा अनावश्यक चासो देखाएर समर्थन गर्नु कुनै तार्किक कुरा थिएन । नेपालीहरू धेरै बसोबास गर्नेदेखि नेपालको विकास साझेदारीमा सहयोग गर्दै आएको विश्वशक्ति अमेरिकालाई चिढ्याउने समर्थन अपरिपक्व नै थियो । नेपाललाई भारतले २०७२ मा लाएको नाकाबन्दीको विरोध गरेको भए वा विश्व मञ्चमा आवाज उठाएको भए एउटा कुरा । नेपालमा भएको विदेशी हस्तक्षेत्रबारे कुनै सरोकार नराख्ने भेनेजुएलामा नेपाली कमरेडले भने बडो चासो राख्नु कमजोर कम्युनिष्ट कूटनीति नै हो । समर्थन दोहोरो हुनुपर्छ । अझ राजनीतिक र भूराजनीतिक कुरा एकतर्फी हुँदैन । गिभ एण्ड टेक हुनुपर्छ । यो मामिलामा भेनेजुएला प्रकरण एक असफल प्रयोग हो ।

पेरुको गोञ्जालो प्रकरणमा पनि नेपाली कमरेडहरूको कम्युनिस्ट कूटनीति कमजोर देखिएको छ । सन् १९९२ को सेप्टेम्बर १२ मा पक्राउ भएको भोलिपल्टदेखि गोञ्जालोलाई रिहाइ गर्न काठमाडाँैमा भित्तेलेखन शुरु भयो । सन् २०२१ सेप्टेम्बर ११ मा अर्थात् गत भदौ २६ मा गोञ्जालोको जेलमै मृत्यु हुनु एक दिनअगाडि उनको रिहाइको माग देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल अध्यक्ष सिपी गजुरेलको अगुवाइमा एक छलफलसमेत भएको थियो । के नेपालमा प्रकाण्डदेखि माओवादी पार्टीका नेताहरू पक्राउ पर्दा पेरुको गोन्जालोकै पार्टी साइनिङ पाथ समर्थकले राजधानी लिमामा भित्ते लेखन गरे त ? या पेरुमा त्यसबारे बहस भएको छ त ? यस्ता नेपाली कमरेडहरूका अभियान पनि एकतर्फी मात्रै छन् । यस्ता गतिविधि हुँदै हुनुहुन्न भन्ने अर्थ हैन । लोकतान्त्रिक देशमा र ग्लोबल भिलेज भनिएको यो दुनियाँमा जहाँको पनि सरोकारका मुद्दामा बोल्न पाइन्छ । तर, त्यसरी बोल्दा केही ओजनदार वा दुईतर्फी बोलाइले मात्रै अर्थ राख्छ । यस कुरामा पनि नेपाली कमरेडहरू आफ्नो प्रभावशाली कम्युनिष्ट कूटनीतिमा चुकेकै छन् ।

केरला, भेनेजुएलादेखि गोञ्जालो प्रसंगमा मात्रै हैन अन्य कम्युनिष्ट गतिविधिमा पनि नेपाली कमरेडहरू कि एकपक्षीय भावुक छन् कि ताजा अपडेटबारे जानकार छैनन् । एकपक्षीय भावुकता कम्युनिष्ट नेताहरूको प्रोफाइलको प्रसंगमा पनि छ । नेपाली कम्युनिष्टलाई माक्र्स, लेनिन, स्टालिनदेखि माओसम्म अनि होचिमिन्ह, चेदेखि क्यास्ट्रोसम्मको सूचना छ। नेपालमा आफूलाई विश्वकै सबैभन्दा पहिलो जननिर्वाचित प्रधानमन्त्री भएको देखि बन्दुकबाट ब्यालेटसम्म पुगेको विश्व इतिहास बनाएको दाबी गर्ने नेपाली कमरेडहरूको पार्टी तथा नेतृत्वको विश्व ब्राण्ड भने किन बनेन ? कि कमरेडहरूलाई विश्व कमरेड जमातले पत्याएकै छैन? यसो भन्नुको अर्थ माक्र्स, लेनिन, स्टालिन, माओ, होचिमिन्ह, चेदेखि क्यास्ट्रोबारे अध्ययन र चर्चा हुनै हुन्न भन्ने तर्क गर्न खोजेको हैन । नेपाली कमरेडहरू पनि अन्य देशका कम्युनिष्ट चर्चामा किन प्रमुखतासाथ पर्न सकेनन् भन्न मात्रै खोजिएको हो ।

सूचनाकै सवालमा पनि नेपाली आम कमरेडहरूमा समस्या छ । चीनको साँस्कृतिक क्रान्ति त्यसको एक उदाहरण हो । अध्यक्ष माओले सन् १९६६ देखि एक दशक चलाएको साँस्कृतिक क्रान्तिताका धेरै पुस्तक तथा विमर्शहरू नेपाली भाषामा समेत अनुवाद भएर आए । पहिलो तथा दोस्रो पुस्ताका नेपाली कमरेडहरूले त्यो राम्रोसँग पढे । अहिले त्यो पढ्नेहरूको एक जमात छ जो धर्म, धार्मिक धरोहरका कुरा आउनासाथ साँस्कृतिक क्रान्ति हुनुपर्ने तर्क गर्छ ।

तेङ स्याओपिङ नेतृत्वताका चिनियाँ कम्युनिष्ट पार्टीको सन् १९८१ को ऐतिहासिक संकल्पले साँस्कृतिक क्रान्तिमा कमजोरी भएको औपचारिक रूपमा स्विकारेको छ । गत जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीले शताब्दी पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा कसैले साँस्कृतिक क्रान्तिको उच्चारण र तारिफ गरेनन् । नेपालमा अहिले पनि तारिफ गर्ने र साँस्कृतिक क्रान्ति हुनुपर्ने पुराना पुस्तक पढ्नेहरूको बिजोग छ । साँस्कृतिक क्रान्तिले धेरै गुम्बा र धार्मिक धरोहर भत्कायो । अहिले त्यसको ठीकविपरीत चीनले सभ्यताको प्रचार गर्न थालेको छ । कन्फ्युसियन सेन्टरहरू विश्वभर खोल्न थालेको छ । तिब्बती बौद्ध धर्मको प्रचारमा सक्रिय छ । चिनियाँ सांस्कृतिक धरोहरलाई चिनियाँ कम्युनिष्ट पार्टीले साथ दिन थालेको छ ।

चीनलाई अपवाद मानेर वामपन्थी सत्ता भएका देशसँगको कम्युनिष्ट कूटनीतिमा समेत नेपाली कमरेडहरू कमजोर छन् । सार्क राष्ट्र पाकिस्तानले क्युवाको विश्वको उत्कृष्ट र सस्तो स्वास्थ्य सेवाको ठूलो संख्याको छात्रवृत्ति पाइरहँदा नेपालमा कम्युनिष्ट पार्टी सत्तामा हुँदा पनि त्यसमा कुनै पहल भएको देखिएन । न त भियतनाम कम्युनिष्ट पार्टी शासित नेतृत्वले जस्तो डोनाल्ड ट्रम्प र किम जोङ उनको भेट गर्ने जस्तो विश्वको चर्चित संवाद स्थल नै नेपाली कम्युनिष्ट सत्ता हुँदा नेपाल बन्न सक्यो ।

नेपालको कमजोर कम्युनिष्ट कूटनीति हुनुको मुख्य तीन कारण मान्न सकिन्छ । एक, विश्वभरका कम्युनिष्ट वा कम्युनिष्ट पार्टी सत्ता भएका देशहरूको सूक्ष्म अध्ययन गर्ने पार्टी डेस्क छैनन् । बन्नका लागि बनेका विदेश विभागले यी सबै काम गर्ने र सूचना राख्ने स्तर देखाउँदैनन् ।

दुई, नेपाली कम्युनिष्ट पार्टीहरूको भाषामा पकड बलियो छैन । नेपाली, अंग्रेजी र हिन्दीमा सामान्य पोख्त भए पनि महत्वपूर्ण विश्व भाषा खासगरी संयुक्त राष्ट्रसंघका औपचारिक भाषा रुसी, फ्रेञ्चदेखि स्पेनिस तथा अरेबिक भाषाका जानकारहरूले अध्ययन गरेर सूचना राख्ने परिपाटी छैन । त्यही भाषा जान्ने र त्यही देशमा बसोबास गर्नेहरूका प्रवास संघसंगठन भए पनि पर्याप्त सूचना राख्ने संस्थागत संस्कृति र स्मृति नभएर पार्टीहरू ताजा सूचनाभन्दा पर छन् । बासी सूचनामा भर परिरहेका छन् ।

तेस्रो, नेपाली कम्युनिष्ट नेताहरूको विश्व ब्राण्ड बनेन । हो, विश्वका ठूला मञ्चमा गएर भाषण दिए । ठूला मिडियामा हेडलाइन बने । संयुक्त राष्ट्रसंघमा मन्तव्य दिए । यत्ति भएर पनि विश्वले खुलेर तारिफ गर्ने स्तरको नेपाली कम्युनिष्ट नेतृत्व भएन । विश्वको प्रभावशाली व्यक्तित्व नबनेर एकतर्फ ठूलो भएको भावुकताले गर्दा नेपाली कम्युनिष्ट कूटनीति प्रभावशाली बन्न सकेको छैन । यसमा नेपाली कमरेडहरू तथा कम्युनिष्ट पार्टीहरूले सुधार गर्नुपर्ने क्षेत्र विशाल छ । सूचना प्रविधिले साँघुरो र सजिलो बनाएको आजको विश्वमा गर्न चाहेमा भने सकिन्छ । गर्ने वा नगर्ने त्यो जिम्मा कमरेडहरूकै काँधमा छ ।

टिप्पणीहरू