दिल्लीमा नेपालका मन्त्रीमाथि दुर्व्यवहार « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

दिल्लीमा नेपालका मन्त्रीमाथि दुर्व्यवहार

प्रकाशित मिति :  १३ मंसिर २०७८, सोमबार २१:००


औपचारिक कार्यक्रमको निम्ति दिल्ली गएका नेपालका एकजना मन्त्रीमाथि दुव्र्यवहार भएको छ । दिल्लीको सरकारी अशोका होटलमा हस्पिटालिटी अवार्ड सिष्टमबारे आयोजित एक सेमिनारमा भाग लिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आफ्नै कर्मचारीबाट अपमानित भएका हुन् ।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र बिदाई गर्न त्यहाँको दूतावासकी इकोनोमिक काउन्सिलर नीता पोखरेल त पुगिन् । तर, आफ्नो देशको मन्त्रीलाई झण्डावाल गाडी लिएर स्वागत गर्न जानुपर्छ भन्ने कुरा जान्दाजान्दै पनि त्यसतर्फ ध्यान दिइएन ।

मन्त्री जुन कार्यक्रमका लागि त्यहाँ पुगेका थिए, उक्त कार्यक्रममा कार्यवाहक राजदूत रामप्रसाद सुवेदी पुगेनन् । मन्त्रीका सरकारी भेटघाट दूतावासले मिलाउनुपर्ने हो । त्यसमाथि भारतसँग हवाई रुटदेखि नेपालका अनेकन पर्यटकीय र साँस्कृतिक मामिला छन् । त्यसबारे कुरा गर्नुपर्ने विषयलाई मध्यनजर गर्नुपर्ने कार्यवाहक राजदूत उक्त कामबाट पन्छिएमात्र हैन, मन्त्री आफैँले मिलाएको समय पनि भाँड्नलाई अनेक प्रयत्न गरेको मन्त्रालयको गुनासो छ ।

भारतमा सिभिल एभिएसन (नागरिक उड्डयन) मन्त्री छन्, ज्योतिरादित्य माधवराव सिन्धिया । राप्रपा अध्यक्ष पशुपतिसमशेरको ससुराली खलकका । मन्त्री आले पहिला मुम्बई बस्थे । त्यसबेलै सिन्धिया परिवारलाई चिनेका । यसचोटि दिल्ली जाँदा दूतावासका कर्मचारीबाट धोका भएपछि लण्डनमा बस्ने एकजना साथी, जो मुम्बई बस्दा चिनजानका थिए, तीमार्फत आलेले मन्त्रीकी आमा माधवीराजेसँग सम्पर्क गरेर भेट्ने समय मिलाए । मन्त्रीले यति दुःख गरी गरी समय मिलाएर गाडीमा गान्धी भवन जाँदा कार्यवाहक राजदूतले ‘भेट हुँदैन बरु बेइज्जत हुन्छ हजुर’ भन्दै निरुत्साहित पारिरहेका थिए ।

समय मिलाउन पहल गरिरहेको जस्तो गर्न गाडीबाटै आफ्नी पिएलाई सोधेजस्तो गर्दै पनि थिए । उनलाई भनिएकै थियो– मन्त्रीले आफ्नै च्यानलबाट समय लिइसकेको कुरा ! एक त आफूले टाइम मिलाएनन्, त्यसमाथि मन्त्री आफैँले मिलाएर भेट्न खोज्दा पनि भाँजो हाल्न खोजे । तर, त्यहाँ गएपछि २५ मीनेटसम्म कुराकानी भयो, डिसिएम सुवेदी हेरेको हे¥यै भए । भोलिपल्टको बिदाईमा पनि झण्डावाल गाडी गएन । थोत्रो गाडी देखेपछि मन्त्रीले आफैं अर्काे गाडीको व्यवस्था गरेर विमानस्थलतिर लागे ।

उक्त भेटमा मन्त्रीले नेपालबाट भारतमा साताको ५६ वटा उडान भर्ने प्रस्ताव राखे । कोभिड संक्रमणका कारण उडान संख्यामा कटौती भएको थियो । एयर बबल सम्झौताअनुसार त्यसअघि हुँदै आएको उडानलाई नियमित गर्ने विषयमा कुरा भयो । भारत पक्षका विमानबाट २८ र नेपालतर्फबाट २८ गरी साताको ५६ वटा उडानको प्रसंगमा त्यहाँका मन्त्री ज्योतिरादित्य सकारात्मक थिए ।

त्यही कुराकानीको फलस्वरुप नेपाल र भारतबीच लगाइएको एयर बबल सीमा तत्काल हट्यो । सोही सल्लाहको परिणामस्वरुप नेपाल वायुसेवा निगमले अब भारतका नयाँ रुट मुम्बई, कोलकाता, गोवा र चेन्नईमा छिट्टै उडान भर्ने भएको छ ।मन्त्रीले नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरूसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट ‘लिमा– ६२६’ लाई दुईतर्फी बनाउन आग्रह गरे । तर, यो विषयमा त्यहाँका मन्त्रीमात्रै सकारात्मक भएर हुँदैन, उच्चस्तरीय सहमति नै हुनुपर्ने अवस्था छ ।

भारतमा पर्यटन, नागरिक उड्डयन र संस्कृति गरी तीन अलग अलग मन्त्रालय छन् । नेपालमा भने एउटै मन्त्रीले ती सबै काम हेर्छन् ।
एकताका चीनको राजधानी बेइजिङ बसेर दिल्ली सरुवा भएका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी आफू हिरो बन्न खोज्ने, तर देशलाई जिरो बनाउन उद्यत भएको भन्दै मन्त्रीले प्रधानमन्त्री र विभागीय (परराष्ट्र) लाई आफूले भोगेको पीडा सुनाइसकेका छन् ।

त्यसैबीच, मन्त्रीको उक्त भ्रमणपूर्व बेलायतबाट फर्किने क्रममा विमानस्थलमा कर्मचारीलाई मुक्का हान्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले भाका नधाएर मन्त्रालयमा स्पष्टिकरण बुझाएका छन्, तर झुठो कुरा लेखेर ।

उनले मन्त्री र मदिरा सुँघ्न पनि नसक्ने सात्विक भोजनवाला सचिवका निम्ति पनि आफूले रक्सी बोकेको भन्दै भन्सारका कर्मचारीहरूले ६ बोतल लैजान नदिएपछि त्यहाँ खटिएका नासु सुमन थापालाई झोलाले हिर्काएका थिए । धनञ्जयले उक्त दृश्य रहेको सिसिटिभी फुटेज कर्मचारीको मिलेमतोमा गायव त पारे, तर मन्त्रालयमा उनले फुटेज गायव पार्नुअघि नै त्यसको रेकर्ड पुगिसकेको छ ।

स्पष्टिकरणमा उनले आफू पर्यटकहरूमाथि हुने व्यवहार हेर्न भिआइपी लाउञ्जबाट नगई सामान्य यात्रुले प्रयोग गर्ने ठाउँबाट गएको स्पष्टिकरणमा लेखेका छन् । कर्मचारीहरूको व्यवहार राम्रो नभएको र आफूमाथि पनि राम्रो व्यवहार नहुँदा धकेलाधकेल भएको भनेका छन् । त्यसबाट भएको गल्तीको निम्ति माफ मागेका छन् । अब उनको स्पष्टिकरणबारे पर्यटन बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव यादव कोइरालाको अध्यक्षतामा बस्ने बैठकमा छलफल हुने भएको छ । पीडित कर्मचारीले दुव्र्यवहारको मुद्दा दायर गरेमा उनलाई कैद र जरिवानासम्म हुने कानुनी व्यवस्था छ ।

अर्कातर्फ, अब त्रिभुवन विमानस्थलमा विहान ६ बजेदेखि राति ११ बजेसम्म चारवटा सटल बस चल्ने भएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा अवतरण हुने यात्रुहरूसँग ट्याक्सीले चर्को भाडा असुलेपछि सरकारले यस्तो तयारी गरेको हो । अब सामान्य भाडा तिरेर बासस्थान जान्छु भन्ने यात्रुका लागि सटल बसले सेवा दिने छ ।

त्यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्झौताअनुसार यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) का लागि थाइल्याण्डको एरो थाई कम्पनीलाई जिम्मा दिइएपछि भारतीय पक्ष रुष्ट छ । नेपालको तर्फबाट थाई कम्पनीको विकल्पस्वरुप परीक्षण उडानका लागि कात्तिक पहिलो साता ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’ सँग सम्झौताको तयारी गरिएको थियो ।

तर, त्यस्तो सम्झौता हुन पाएन । थाई कम्पनीले यसअघि विमानस्थलमा विभिन्न उपकरण जडानका लागि आफ्ना प्राविधिक जनशक्ति र परीक्षण उडान गर्न विशेष विमान पठाएको थिएन । कारण थियो, कोभिड संक्रमण । पछिल्लो समय उसले अस्ति सोमबार (नोभेम्बर) २२ मै विमानसहित काठमाडौं अवतरण गर्ने शर्त राखेको हो । तर, नआएपछि अब के गर्ने भन्नेबारे पर्यटन मन्त्रालयमा छलफल भइरहेको छ ।

मन्त्रालयले काठमाडौं एअरपोर्टमा जहाज पार्किङ गर्ने ट्याक्सी वे विस्तारका लागि एसियाली विकास बैंक (एडिबी) लाई चिठी लेखेको छ । नेपालमा जहाज छिर्ने एकमात्र नाका सिमरा हो । भारतसँग लखनउ–भैरहवा रुट मागेको धेरै भयो तर यसमा ऊ मानिरहेको छैन । दुई वर्षदेखि कूटनीतिक तवरले कुरा चलिरहेको छ ।

तर मोदीले नै हस्तक्षेप गरे पाइन्छ, नत्र पाइँदैन । त्यहाँको कर्मचारी संयन्त्र सकारात्मक छैन । नेपालमा एयरपोर्ट व्यस्त हुँदा जहाज होल्ड गर्नलाई डेढ किलोमीटर वायुक्षेत्र मात्रै माग्दासमेत भारतले नमानेपछि होल्डिङ सेन्टर दाङ र चितवनलाई बनाइएको छ ।

यसैबीच, नेपाल वायुसेवा निगमको जहाजले बैंकक उडान शुरु गरेको छ । तर, त्यताबाट आउनुपर्ने थाइ एअर भने आउन थालेको छैन । त्यहाँका जहाजहरू सबै ग्राउन्डेड छन् । घाटामा गएका कारण निजी कम्पनीलाई बेच्ने तयारी छ । यसअघि भारतले राष्ट्रिय ध्वजाबाहक एयर इण्डिया टाटा कम्पनीलाई बेचिसकेको छ । चीनले डेल्टा भेरिएन्टका कारण न नेपालतर्फ आफ्नो उडान शुरु गरेको छ, न हामीलाई त्यहाँ अवतरण हुनै दिएको छ ।


प्रतिक्रिया दिनुहोस !