अशिक्षित र शिक्षित महिलाको यो अन्तर

अशिक्षित र शिक्षित महिलाको यो अन्तर

विश्वमा विवाह नगरी बच्चा जन्माउनेमा अशिक्षितको तुलनामा शिक्षित महिला बढी देखिएका छन् । अमेरिकामा गरिएको एक अनुसन्धानले उच्च शिक्षित महिलाले विवाह नगरी बच्चा जन्माएको र जन्माउने इच्छा राखेको देखाएको छ ।

विश्वका अति कम विकसित मुलुक तथा पिछडिएको समाजमा भने अध्ययनलाई छाडेर पहिले बच्चा जन्माउने होडबाजी चलेको पाइन्छ । धेरैजसो अविकसित र पछौटे समाजमा बाल विवाह र बाल अभिभावकको समस्या विकराल बन्दै गएको छ । उनीहरूले र त्यस्तो समाजका अभिभावकले समेत अध्ययनलाई भन्दा रमाइलोलाई नै पहिलो प्राथमिकता दिएकाले उच्च शिक्षित र अल्प शिक्षित तथा अशिक्षितबीचको भिन्नता विवाह र बच्चा जन्माउने विषयमा समेत जोडिएको हो ।

‘प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज’ मा प्रकाशित नयाँ अनुसन्धान प्रतिवेदनले उच्च शिक्षित महिलामध्ये झण्डै एक चौथाइले विवाह नगरी पहिलो सन्तान जन्माएको देखाएको छ । ‘एक पुस्ताअघिसम्म उच्चशिक्षित महिलाले विवाह नगरी बच्चा जन्माउने प्रतिशत नगन्य थियो ।

अब यो दुर्लभ घटना बन्न छाडेको छ,’ जोन्स हप्किन्स विश्वविद्यालय, बाल्टिमोरका समाजशास्त्री प्रोफेसर एन्ड्रयु चेरलिनले भने । चेर्लिन युवाहरूको विभिन्न पाटोको सर्वेक्षण, किशोरदेखि वयस्कहरूसम्मका स्वास्थ्यको राष्ट्रिय दीर्घकालीन अध्ययन र परिवार वृद्धिको राष्ट्रिय सर्वेक्षणबाट प्राप्त तथ्यांक प्रयोग गर्दै उक्त निश्कर्षमा पुगेका हुन् ।

अनुसन्धानले उनकै कलेजमा अध्ययन गरेका महिलामध्ये ३० वर्षको उमेरमा पहिलो बच्चा जन्माउने १८ प्रतिशत देखाएको छ । २७ प्रतिशत महिला बच्चा जन्मने समयमा अविवाहित रहेको पाइएको हो । ‘हामीले बच्चा जन्माउने र वैवाहिक सम्बन्धको प्रवृत्ति अधिक मात्रामा युरोपेली ढाँचामा देख्न थालेका छौं ।

जसमा युवाले विवाह गर्नुअघि नै बच्चा जन्माउँछन्, अर्थात् बच्चा जन्माउन विवाहलाई आवश्यक ठानिँदैन ।’ अमेरिकामा आफूलाई इच्छा लागेको समय वा उमेरमा बच्चा जन्माएका जोडीले पछि विवाह गर्ने गरेको पाइन्छ । ‘कतिले त्यो पनि गर्न आवश्यक ठान्दैनन्,’ उनले भने ।

यस्तै, अमेरिकामा विवाह नगरी पहिलो बच्चा जन्माउने महिलामध्ये कम्तीमा स्नातक तह उत्तीर्ण महिलाको दोस्रो बच्चा जन्मेको समयताका विवाह हुने गरेको पाइन्छ । यो प्रवृत्ति स्नातक अनुत्तीर्ण महिलाको तुलनामा बढी हुने गरेको तथ्यसमेत पत्ता लागेको छ । त्यसैगरी, विश्वविद्यालयमा अध्ययनरत महिलाको आफ्ना दुवै छोराछोरीका बाबु एउटै हुने सम्भावना पनि बढी देखिएको बताइन्छ ।

अनुसन्धानबाट महिला जति कम शिक्षित छिन् त्यत्ति नै विवाह नगरी पहिलो बच्चा जन्माउने सम्भावना पनि त्यति नै कम हुने गरेको पत्ता लागेको हो । जसमा माध्यमिक तहको शिक्षा लिएका महिलाभन्दा स्नातक उत्तीर्णहरूमा अविवाहित बढी देखिए । उनीहरूमध्ये ३२ देखि ३८ वर्ष उमेरका महिलामा १० जनामध्ये ६ जना पहिलो बच्चाको समयमा अविवाहित नै पाइएको छ ।

टिप्पणीहरू